• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

स्वास्थ्यमा जोखिम बढेपछि विद्युतीय चुरोटमा प्रतिबन्द लगाउँदै

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

सिन्धुली साैगात संवाददाता

एजेन्सी : संयुक्त राज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट)को सेवनबाट स्वास्थ्यमा जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएको छ ।

सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सूर्तिजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्दछन । पछिल्ला केही अध्ययनले सुगन्धित ई–चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको देखाएको छ ।

ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै आफू र प्रथम महिला मेलानिया ट्रम्प ई–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
‘हामी दुवैले ती किशोरको व्यथा पढेका छौं,’ उनले थपे , ‘हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन, र यसको सेवनबाट मानिसहरुको ज्यान गइरहेको छ।’

ई–चुरोटको नियमन गर्ने एफडीए अमेरिकाको शक्तिशाली सरकारी निकाय हो । ह्वाइट हाउसमा ट्रम्पको साथमा अमेरिकी खाद्य तथा औषधि विभाग (एफडीए)का कार्यवाहक प्रमुख नेड सार्पलेस र अमेरिकी स्वास्थ्यमन्त्री अलेक्स अजर पनि सहभागी भएका थिए ।

यहि अवसरमा स्वास्थ्यमन्त्री अजरले आगामी साता ई–चुरोटका बारेमा नयाँ नियमहरु आउने बताए । ‘सूर्तीको स्वाद भएका बाहेक अरु सबै किसिमका सुगन्धित ई–चुरोट बजारमा अब बेच्न पाइने छैन,’ उनले भने। उनले यसका लागि व्यवसायीलाई ३० दिनको समयावधि दिइने जानकारी समेत गराए ।

तत्कालका लागि सूर्तीको स्वाद भएका ई–चुरोटमा प्रतिबन्धहरु नलगाए पनि २०२० को मेदेखि उत्पादकहरुले एफडीएबाट स्वीकृति लिनु पर्नेछ ।

ग्रान्ड भ्यू रिसर्चका अनुसार सन् २०१८ मा विश्वभर १० अर्ब २० करोड मूल्य बराबरको ई–चुरोट उत्पादन भएको थिया ।

एफडीएको सर्वेक्षणमा समेटिएका ई–चुरोट सेवनकर्तामध्ये ४५० जनाभन्दा बढीले आफूहरु बिरामी परेको बताएका थिए । उनीहरुले आफूहरुलाई श्वास फेर्न कठिन भएको र छाती दुखेको जनाएका थिए । कतिपयलाई अस्पतालमा भर्ना गर्नु परेको थियो भने केहीलाई भेन्टिलेटरमा राख्नु परेको थियो ।

सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एक तिहाई विद्यार्थीले सुगन्धित ई–चुरोट सेवन गर्ने गरेको देखिएको छ ।

अधिकांश सेवनकर्ताले फलफूल, मेन्थोल वा मिन्ट (पुदिना)को स्वाद भएका ई–चुरोट रुचाएका थिए ।

एकजना बिरामीको बेहोस भएका कारण अस्पतालमा भर्ना गरिएको र होस खुलेपछि उनको फोक्सो प्रत्यारोपण गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरुले बताएका छन ।

अमेरिकी रोग नियन्त्रण केन्द्रले ई–चुरोटको सेवन तत्काल बन्द गर्न मानिसहरुलाई आग्रह गरेको छ। केन्द्रले यस चुरोटका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

संयुक्तराज्य अमेरिकामा सन् २००६ देखि नै ई–चुरोट बजारमा देखिएको हो । परम्परागत सूर्तीसेवनको तुलनामा यसलाई निकै सुरक्षित मानिएको थियो। तर विज्ञहरुले ई–चुरोट पनि स्वास्थ्यका लागि हानिकारक रहेको चेतावनी दिइरहेका थिए।