• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

टीकापुर घटना राजनीतिक विद्रोह :अध्यक्ष दाहाल

सिन्धुली साैगात संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटना राजनीतिक विद्रोह भएको बताए ।

टीकापुरमा २०७२ भदौ ७ गते थारुहरुले गरेको आन्दोलनमा एक नाबालकसहित सात प्रहरीको हत्या भएको थियो । सोही घटनामा २६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला अदालत, कैलालीले २०७५ फागुन २२ गते तीनजनालाई निर्दोष सावित गरेको थियो ।

थारु कल्याणकारिणी सभा एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका नवनिर्वाचित पदाधिकारीसँग खुमलटारमा आज भेटघाट गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले टीकापुर घटनाको समाधार राजनीतिक रुपमै हुने आश्वासन दिए।

अध्यक्ष प्रचण्डले थारुहरुको मागप्रति आफू सकारात्मक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी समाधानको लागि पहल गर्ने बताए ।

‘कैलालीको टीकापुरमा भएको घटना थारुहरुले राजनीतिक अधिकारका लागि गरेकाले त्यो राजनीतिक घटना नै हो’ प्रचण्डले भने, ‘सो घटनामा निर्दोष थारुमाथि मुद्दा लगाउँनु उचित होइन्, म कुरा गरेर समाधान गर्न पहल गर्छु ।’

प्रचण्डसँगको भेटमा थरुहटरथारुवान संयुक्त संघर्ष समितिले राजनीतिक सहमति गरेर थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम थारु लगायतका थारु नेता, कार्यकर्ता माथि लगाइएको मुद्दा फिर्ता लिन माग गरेको छ ।

‘नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातीहरुको अभुतपूर्व योगदान छ’ प्रचण्डले भने, ‘हरेक परिवर्तनका लागि महत्वपूर्ण योगदान गर्ने आदिबासी जनजाती समुदायको हित र अधिकार बिना प्राप्त उपलब्धीलाई संस्थागत गर्न सकिँदैन ।’

राष्ट्रिय जनता पार्टी ९राजपा नेपाल०का नेता तथा प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । अहिले चौधरी जेलमै रहेका छन् भने तीन वर्ष कैद सजाय सुनाइएका १५ जना रिहा भइसकेका छन् ।

लोक सेवा आयोगको विज्ञापन खारेजी, गिरिशचन्द्र लाल अयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत ६ बुँदे माग सहितको ज्ञापनपत्र समितिले अध्यक्ष प्रचण्डलाई बुझाएको छ ।
समितिले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन राजनैतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अबिलम्ब रिहाइको माग गरेका छन् । सभाले घटना राजनैतिक भएकाले समाधान राजनैतिक सहमतिकै आधारमा खोजिनुपर्ने माग गरेको छ ।

यसैगरी ज्ञापनपत्रमा राज्यका हरेक अंग, तह तप्कामा संवैधानिक व्यवस्था अनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन माग गरिएको छ ।

थारु कल्याणकारिणी सभा एवं थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले अध्यक्ष प्रचण्डलाई बुझाए ।

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६