• मङ्लबार, अशोज ७, २०७६
  • Tuesday 24th September 2019

सिन्धुली अस्पताललाई १ करोड २५ लाख

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

सिन्धुली साैगात संवाददाता

सिन्धुली- प्रदेश ३ सरकारले जिल्ला अस्पतालको सुदृढीकरणकालागि सिन्धुली अस्पताललाई १ करोड २५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने ८ वटा जिल्ला अस्पतालको सुदृढीकरण अन्तर्गत चालु आर्थिक वर्षमा जिल्ला अस्पताललाई पनि बजेट विनियोजन गरिएको छ । प्रदेश ३ सरकारको सामाजिक विकास मन्त्रालयले अस्पतालको सेवा विस्तार गर्न एवं सुदृढ गराई अस्पताललाई सुविधा सम्पन्न बनाउने लक्ष्यसहित ८ वटा अस्पताललाई ९ करोड ५० लाख बजेट विनियोजन गरेको हो ।

जिल्ला अस्पताल रेफर सेन्टरको रूपमा रहँदै आएको भन्दै यसको सुधार आवश्यक रहेकोले प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
जिल्ला अस्पतालबाट अधिकतम गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने उद्देश्यले गत आर्थिक वर्षबाटै यो कार्यक्रम सुरु गरिएको थियो । आर्थिक वर्ष २०७६/०७७ का लागि सिन्धुली अस्पताल सहित भक्तपुर अस्पताललाई १ करोड ५० लाख, हेटौँडा अस्पताललाई १ करोड ५० लाख, त्रिशूली अस्पताल नुवाकोटलाई १ करोड २५ लाख, चिौतारा अस्पताल सिन्धुपाल्चोकलाई १ करोड, धादिङ अस्पताललाई १ करोड २५ लाख, रामेछाप अस्पताललाई १ करोड र रसुवा अस्पताललाई ७५ लाख बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

अस्पतालमा न्यूनतम सेवा मापदण्डअनुसारको निर्देशिका मन्त्रालयबाट पठाएपछि अस्पताले सेवा थप गर्न योजना बनाएर सुदृढीकरणको काम अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । गत वर्षबाट नै जिल्ला अस्पताल सुधार्ने प्रयास गरेता पनि सोचेअनुरूप काम गर्न नसकेको भन्दै यो वर्ष प्रभावकारी रुपमा काम गर्न रकम वितरणमा मापदण्ड तोकेको मन्त्रालयका नीति तथा जनस्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टले जानकारी दिएको थाहा खबरले उल्लेख गरेको छ ।

‘अस्पताल सुदृढीकरणका लागि गत वर्षबाटै हामीले काम सुरु गरेता पनि गत वर्ष सुरुवाती समय भएर होला सोचे जति सफलता प्राप्त सकेनौं, यो वर्ष भने यो योजनाले पूर्णता पाउने मन्त्रालयले अपेक्षा गरेको छ” उनले भने।

सामाजिक विकास मन्त्रालयले अगाडी सारेको योजना प्रदेश ३ सरकारको नीति तथा योजनामै भएकोले प्रदेश सरकारले यस कार्यलाई विशेष महत्वका साथ हेरेको मन्त्रालयले जनाएको छ ।

विनियोजित रकमको सदुपयोगको विषयमा मन्त्रालयले अनुगमन समेत गर्ने विष्टले बताए। मन्त्रालयले काम सुरु सँगै अनुगमन र मूल्यांकन गरिरहने मन्त्रालयका नीति तथा जनस्वास्थ्य महाशाखा प्रमुख विष्टले बताए।

जिल्ला अस्पतालहरुलाई अस्पताल सुदृढीकरणका कार्यक्रमको नाममा दिइएको रकमले जिल्ला अस्पतालहरुले आवश्यक औजार–उपकरण खरिद तथा अन्य पूर्वाधार निर्माण, फोहोरमैला व्यावस्थापन तथा संक्रमण रोकथाम कार्यक्रम, भौतिक संरचना उपकरण औजार मर्मत लगायतका कार्य गर्न सक्ने मापदण्ड रहेको छ ।

यसैबीच प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले ४ भन्दा धेरै जिल्ला अस्पतालमा छड्के अनुगमन गरिसकेको मन्त्रालयले जनाएको छ। अनुगमनको क्रममा उनले आवश्यक निर्देशन दिएको र अस्पताल असुधारे कारबाही गर्ने जानकारीसमेत गराएको मन्त्री दुलालको सचिवालयले जानकारी दिएको छ ।