• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

अख्तियार आयुक्त बन्न राष्ट्रपतिका सम्धिको दौडधूप

प्रकाशित मिति : सोमवार, माघ २०, २०७६

सिन्धुली साैगात संवाददाता

काठमाडौँ,२० माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुन राष्ट्रपति विद्यादेवी भण्डारीका सम्धि मुन्नीलाल यादव दौडधूपमा लाग्नु भएको छ ।

आयोगमा रिक्त दुई आयुक्तमा पूर्व सचिवहरुको चर्चा भइरहेका बेला भण्डारीका सम्धिले कांँ्रेसको कोटाबाट आयुक्त हुन लबिङ गर्नु भएको हो । स्रोतका अनुसार केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेसका शीर्ष नेताहरुसँग शीलनिवासमा गरेको भेटमा सभापति शेरबहादुर देउवाले यादवको नाम लिनु भएको थियो ।

केही समय सरकारी सेवामा रहेका यादव लामो समयदेखि कन्सलटेन्सी चलाएर बस्नु भएको छ। मुन्नीलाल यादव पूर्व राष्ट्रपति रामवरण यादवका भतिजसमेत हो । २०७३ माघमा राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह मुन्नीलाका छोरा अभिषेक यादवसँग भएको थियो ।

अख्यितारको आयुक्त वा प्रमुख आयुक्त हुन स्नातक गरी लेखा, राजश्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा कम्तीमा बीस वर्ष काम गरी अनुभव र ख्याति प्राप्त गरेको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि नविन घिमिरे प्रमुख आयुक्त हुनु भएपछि आयुक्त राजनारायण पाठक भष्टाचार काण्डमा परेपछि आयोगमा दुई आयुक्त खाली छ ।

रिक्त दुई आयुक्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र गृहसचिवबाट राजीनामा दिएका प्रेम राईलाई लैजाने निश्चित जस्तै रहेको बालुवाटार स्रोतको भनाइ छ ।

यसअघि ओलीकै चाहनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट अवकास पाउने वित्तिकै दिनेश थपलियालाई प्रमुख निर्वाचन आयुक्त बनाइएको थियो । एमाले पृष्ठभूमि भएका राई प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिनु हुन्छ ।

प्रमुख आयुक्त घिमिरेले आउँदो भदौमा अवकास पाउने र त्यसपछि राईलाई नै प्रमुख आयुक्त बनाउने तयारीमा ओली हुनु हुन्छ । राई र यादवसँगै अख्तियारको आयुक्त बन्न पूर्व आइजिपी उपेन्द्रकान्त अर्यालले पनि लविङ गरिरहनु भएको छ।

सभामुखको अभावमा संवैधानिक परिषद्ले पूर्णता नपाउँदा रिक्त विभिन्न संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस हुन सकेको थिएन । सभामुखमा अग्नि सापकोटा नियुक्त भएसँगै परिषद्ले पदाधिकारी सिफारिस गर्ने तयारी भइरहेको छ ।