• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

प्रचण्डलाई महराकाे अभाव महसुस

प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६

पत्रपत्रिकाबाट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा चहलपहल ह्वात्तै बढेको छ । कार्यकारी अध्यक्ष हुनुअगाडिसम्म पूर्व माओवादी समूहका धेरै नेता-कार्यकर्ता पुग्ने दाहाल निवासमा अहिले पूर्व एमालेका नेता तथा कार्यकर्ताको पनि आवतजावत बाक्लिन थालेको छ ।

आफ्नो निवासमा भेटघाटका लागि धेरै नेता आए पनि दाहालले एउटा पात्रको अभाव महसुस गरिरहेका छन् । ती पात्र हुन्- पूर्वसभामुख कृष्णबहादुर महरा । जो, दाहालका विश्वासिला र भरपर्दा ‘दोस्त’ थिए ।आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

हुन त नेकपाको कार्यकारी अध्यक्षको अधिकार पाएका दाहाल अगाडिपछाडि नेताहरुको ठूलै लाइन छ । तर, उनीसँग अहिले महराजस्तो भरपर्दो, पत्यारिलो पात्र छैनन् । दाहाल सचिवालयकाअनुसार नेता महराको ठाँउ अहिलेसम्म कसैले लिएको छैनन् ।

दाहाल निकट एक केन्द्रीयसदस्य भन्छन्, ‘सत्ता र शक्ति प्राप्तिका लागि नजिक हुने नेताहरुको सूचि त लामै छ । तर, महराजस्ता विश्वास भएका नेता अहिले नै यिनै हुन् भन्ने अवस्था छैन । दाहालले बेलाबेला महरासरको अभाव महसुस गर्नु भएको छ । अहिले राजनीतिक लाभहानी हेरेर नजिक र टाढा हुने नेताहरु मात्रै छन् ।’

नेकपाका एक स्थायी कमिटी सदस्यअनुसार दाहाललाई राजनीतिक र वैचारिक रुपमा आवश्यक परामर्श दिनसक्ने धेरै नेता भए पनि प्राविधिक विषयमा समेत छलफल गर्न सक्ने महरा एकमात्र नेता थिए । महराले जोखिम मोलेर प्रचण्डका लागि काम गरिदिन्थे ।