• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

विपि राजमार्गमा मापदण्ड विपरित पशु ढुवानी भए कार्वाही हुने

प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६

सिन्धुली साैगात संवाददाता/सिन्धुली

सिन्धुली प्रहरीले पशु ढुवानी मापदण्ड अनुसार भए नभएको सुपरिवेक्षण तथा अनुगमन गर्ने भएको छ । विपि राजमार्ग हुँदै व्यापारीले ढुवानी मापदण्डको ठाडो उल्लंघन गर्दै गाडीमा कोचेर पशु ओसारपसार गरेको पाईए कार्वाही समेत गर्ने भएको हो । सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा भएको पशु ढुवानी मापदण्ड सम्बन्धि प्रशिक्षण कार्यक्रममा यस्तो जनाईएको थियो ।

उपभोक्तालाई गुणस्तरीय पशुजन्य पदार्थ उपलब्ध गराउनका लागि ढुुवानी सम्बन्धमा व्यवस्थित गर्न वाञ्छनीय भएकाले पशु स्वास्थ्य तथा पशु सेवा नियमावलीको नियम १७ ले दिएको अधिकार प्रयोग गरी सरकार, कृषि तथा सहकारी मन्त्रालय, पशु सेवा विभागले मापदण्ड बनाएको थियो । तर व्यापारीले त्यसको पालना गरेका छैन् । उनीहरूले एउटै ट्रकमा कोचेर पशु अधिकार हनन् हुने गरी ओसारपसार गर्दै आएका छन् ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द,सिन्धुलीका बरिष्ठ पशु चिकित्सक डा.गौरीमान श्रेष्ठले व्यापारीले मापदण्ड विपरीत ओसार–पसार गरेको छ÷छैन राजमार्गमा तैनाथ सुरक्षा निकायले अनुगमन गर्न सक्ने बताउनुभयो । “पशुलाई नियम विपरीत जथाभावी नाक, मुखमा बाँधेर लैजाने गरेका सुनेको छु,” उहाँले भन्नुभयो, ‘सम्बन्धित निकायले बेलाबेलामा अनुगमन गरी गलत गरेको छ भने कारर्बाही गर्नुपर्छ ।’

व्यवसायीले देशभित्र आन्तरिक ओसारपसार हुने पशुको हकमा गोठाला सँगै निर्दिष्ट ढाँचाको पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाण लिनुपर्छ । पशु ढुवानी गर्ने साधनमा आकस्मिक उपचारका लागि प्राथमिक उपचार सामग्री राख्नुपर्छ । शारीरिक बनोट फरक–फरक हुने विभिन्न जातका पशुलाई एउटै गाडीमा राखेर ढुवानी गर्नु हुँदैन । एउटै जातका पनि विभिन्न उमेर, लिंग, शारीरिक अवस्था तथा स्वभाव फरक भएका पशुलाई छुट्टाछुट्टै गाडीमा राखेर ढुवानी गर्नुपर्ने मापदण्ड बनाइएको बरिष्ठ पशु चिकित्सक डा. श्रेष्ठले जानकारी दिनुभयो  ।

ढुवानी गराउँदा पशुलाई बाँध्न हुँदैन । घाउचोट नलागोस् भनी सामान्य रूपमा यातना नहुने गरी बाँध्न सकिने व्यवस्था भए पनि ट्रकको पछाडि भागमा व्यापारीले पशुको नाक र पुच्छर बाँधेर यातना दिने गरेको पाईएको बताईएको छ ।

पशुपक्षीको ढुवानी गर्दा हलचल गर्न सकिने, घाउचोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाउने, एकआपसमा नठोक्किने गरि राख्न ुपर्ने उहाँको भनाई छ । त्यसैगरी पैदल ढुवानी गर्दा गाई भैंसीलाई एक दिनमा २५ किमि, भेडा बाख्रालाई ३० र सुंगुर बंगुरलाई १२ किमिभन्दा हिँडाउन नपाउने नियम रहेको पनि उहाँले बताउनुभयो । पशु ढुवानी मापदण्ड २०६४ लाई पूर्ण पालना गरेर मात्र चौपाया ओसारपसार तथा ढुवानी गर्न गराउन सुझाव समेत दिनुभयो ।