• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

सिन्धुलीमा महिला तथा बालिका बलात्कारका घटना बढ्दो

प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६

राधिका बुढाथोकी /सिन्धुली

– बलात्कार प्रयास भएपछि प्रतिवाद गर्दा मरिण गाउँपालिकामा १३ वर्षीया एक बालिकाको हत्या भयो । यो घटना करिव २ महिना अगाडीको हो । हरिहरपुरगढी गाउपालिकामा १६ वर्षीया नेपाली भाषा बोल्न नजान्ने एक सुस्त मनस्थिति भएकी बालिका माथि बन्धक बनाई सामुहिक बलात्कार भयो । यो घटना २०७५ साल बैशाख महिनाको हो । कमलामाई नगरपालिकामा ९ वर्षीया एक बालिका बलात्कृत हुनुभयो । यो घटना २०७३ फागुन महिनाको हो ।

दुधौली नगरपालिकामा २६ बर्षिया एक महिला माथी ५५ बर्षका एक पुरुषले बाख्रा चराउन जंगल गएका बेला बलात्कारको प्रयास गरे । स्थानीयवासीका अनुसार पिडीत महिलामा घटना भए देखि मानसिक रुपमा समस्या देखिन थालेको छ । पिडीत महिलाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दिनुभएको छ । पिडक पुरुष फरार रहेको जनाईएको छ ।

यी त प्रतिनिधि घटना मात्रै हुन् । सिन्धुलीमा पछिल्लो समय बलात्कारको भयावह श्रृंखला देखिएको छ । महिला तथा बालिका माथि हुने गरेका जघन्य अपराधका घटना घट्नुको साटो झनै बढ्दै गइरहेको छ । आर्थिक बर्ष ०७५/०७६ मा सबै भन्दा बढी १९ वटा बलात्कारका मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उपरिक्षक चक्र बहादुर सिहंले जानकारी दिनुभयो । यस बर्ष ६ वटा मुद्धा जबरजस्तीकरणी उद्योगमा दर्ता भएको प्रहरीको तंथ्यांकले देखाएको छ ।

उहाँका अनुसार आर्थिक २०७४/०७५ मा जवरजस्तीकरणी १०, जवरजस्तीकरणी उद्योग ६,२०७३/०७४ मा जवरजस्तीकरणी ११ जवरजस्तीकरणी उद्योग ८ र चालु आर्थिक बर्षको अहिले सम्म जवरजस्तीकरणी ५ र जवरजस्तीकरणी उद्योग ४ वटा गरि ६४ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । ३ बर्षको तथ्याङकलाई तुलनात्मक रुपमा हेर्ने हो भने बालिकाहरु सबैभन्दा बढी हिंसा पीडित भएको प्रहरी उपरिक्षक सिंहको भनाई छ । जबरजस्तीकरणीको घटनाहरु सबैभन्दा बढी छिमेकी र चिनजानका व्यक्तीबाट हुने गरेको पाईएको उहाँले बताउनुभयो ।

बलात्कारका घटनाहरुको मुद्धा दर्ता संख्या बढ्दो क्रममा देखिएता पनि कानुनी उपचार खोज्नु पर्छ भन्ने सचेतना जागेको उहाँले बताउनुभयो । यस्ता घटना न्युनिकरणका महिला तथा बालिकाहरुमा शसक्तिकरण बढाउनु पर्ने लगाएत बलात्कार घटनाका अधिकांश पीडित नाबालिका भएकाले अभिभावक सचेत हुन जरुरी रहेको उहाँको भनाई छ ।

बलात्कारका घटना बढ्दै गएपछि यसको नियन्त्रणका लागि सिन्धुली प्रहरी सक्रिय भएको जनाएको छ । बलात्कार जस्तो जघन्य मुद्दामा कसैसँग सम्झौता गर्न नसकिने प्रहरी उपरिक्षक सिंहले बताउनुभयो । जघन्य अपराधका घटनामा भनसुन तथा कसैको दबाब स्वीकार हुँदैन,उहाँले भन्नुभयो,“कसैको दबाब,प्रभाव र भनसुनको प्रवाह नगरि पिडकलाई कानुन प्रक्रियामा लगिन्छ ।”

उहाँले प्रहरीसँगै समाजका हरेक पक्षले आआफ्नो स्तरबाट घटना न्यूनीकरणमा लाग्नु पर्ने बताउनुभयो । बलात्कारका घटना मिलापत्र गराउन प्रत्यक्ष अप्रत्यक्ष दबाब आउने गरेको भएता पनि स्विकार नहुने बताउनुभयो । राजनितीक रिसिभिका कारण बलात्कारका आरोप लगाईएका घटनाहरु प्रहरी कार्यालयमा आउन थालेका छन् । पिडीत र पिडक छुट्याउन चुनौती थपिएको छ । प्रहरी उपरिक्षक सिंहले भन्नुभयो ।

महिला तथा बालिका बलाकृत हुनु जस्ता दर्दनाक घटनाले राज्य, सरकार र सिंगो मानबअधिकारको नै खिल्ली उडाएको महिला अधिकारकर्मीकोे टिप्पणी रहेको छ ।