• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

सिन्धुलीको जुनार नेपालको पहिचान (हेर्नुस भिडियो)

सार्वजनीक जग्गा र सामुदायिक वनमा पनि जुनार खेती गनुपर्छ : मन्त्री नेपाल

प्रकाशित मिति : आइतवार, मंसिर ८, २०७६

राधिका बुढाथोकी /सिन्धुली

प्रदेश नम्बर–३,का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले सिन्धुलीको जुनार नेपालको पहिचान भएको बताउनु भएको छ । गोलन्जोर गाउँपालिका–५,खनियार्खमा जुनार सुपरजोन संचालक समितिले आयोजना गरेको जुनार महोत्सव–२०७६ को उद्घाटन समारोहमा उहाँले यस्तो बताउनु भएको हो ।

जुनार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री नेपालले सिन्धुलीको जुनार र सिन्धुलीगढीको देश देखि विदेशमा समेत चर्चा हुने गरेको बताउनुभयो । जुनार हाम्रो देशको पहिचान हो,विनम्रता पुर्वक मन्त्री नेपालले भन्नुभयो,‘सिन्धुलीको रसिलो जुनारमा कसैले पनि दाग लगाउने काम नगरौँ ।’

हेर्नुस भिडियो :

मन्त्री नेपालले सिन्धुलीमा जुनार खेतीको क्षेत्र बढाउनु पर्ने बताउनुभयो । जुनार खेती सार्वजनिक जग्गा र सामुदायिक वनमा समेत गर्न सकिने उहाँको भनाई छ । मन्त्री नेपालले व्यक्तिगत जमिनमा मात्रै जुनार खेती गर्दा कम भएकाले खाँली रहेका सार्वजनिक जग्गा र सामुदायिक वनमा समेत जुनार खेती गर्न सकिने बताउनुभयो ।

नेपाली जनतालाई समृद्ध चाहिएको छ । समृद्ध हुन धेरै उत्पादन गर्नुपर्छ,उहाँले जिल्लावासीलाई आग्रह गदँै भन्नुभयो,‘जुनार व्यक्तिगत जग्गा सँगै सार्वजनीक जग्गामा पनि लगाआँै ।’ उहाँले जुनारमा देखिएका रोग तथा किरा व्यवस्थापन गरि राम्रो जुनार उत्पादन गर्न विज्ञसँग छलफल,अध्यनअनुसन्धान गर्न आवश्यक रहेको समेत बताउनुभयो ।

यस्तै मन्त्री नेपालले सिन्धुली पर्यटकीय हिसावले पनि धेरै धनि रहेको बताउनुभयो । अंग्रेजलाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढी र हरिहरपुरगढीलाई पर्यटकीय गन्तव्यको स्थानमा पहिचान गराउँदै यसको संरक्षण गरिने बताउनुभयो । उहाँले प्रदेश सरकारले सिन्धुलीगढीमा हिल स्टेशन बनाउने योजना अगाडी बढाएको बताउनुभयो । हिल स्टेशनको वरिपरी स्थानीयवासीहरुले होटेल व्यवसाय गर्न सक्ने उहाँको भनाई छ ।

मन्त्री नेपालले सिद्धवावा मन्दिरलाई विकास गर्ने र जिल्लामा औधोगिक क्षेत्र निर्माण गर्ने योजना प्रदेश सरकारको रहेको बताउनुभयो । शिक्षा,स्वास्थ्य सेवा,रोजगार,चेतना लगाएका हिसावले सिन्धुली पछाडी परेको छ । उहाँले भन्नुभयो,‘अव सिन्धुलीको अनुहार फेर्नुपर्छ ।’ जिल्लामा औधोगीक क्षेत्र स्थापनका कार्य चालु आर्थिक बर्षबाटै सुरु हुने मन्त्री नेपालले बताउनुभयो । संघ,प्रदेश र स्थानीय सरकार मिलेर अगाडी बढे जनताले चाहे जस्तै समृद्ध देश निर्माण हुने उहाँको धारणा छ ।

हेर्नुस भिडियो :

जुनार सुपरजोन संचालक समितिका अध्यक्ष गोविन्द लुङगेलीले सिन्धुलीको जुनारमा केही वर्ष अघिदेखि देखा परेको चाइनिज सिट्रस फ्लाई (फल कुहाउने औंसा पार्ने झिँगा) को न्यूनीकरण हुँदै गएको बताउनुभयो । सिन्धुलीको जुनारमा किरा भेटिन्छ भनेर किनेर खान उपभोक्ता डराइरहेको अवस्था छ । अव जुनार किनेर खान डराउनु पर्दैन । सवै निकाय मिलेर किराको न्यूनीकरण भएको छ । उहाँले भन्नुभयो ।

मंसिर ७ गते शनिवार देखि सुरु भएको जुनार महोत्सव ९ गते सोमबार सम्म तिन दिन संचालन हुनेछ । महोत्सवमा राखिएको १० वटा स्टलहरूमा किसान आफैँले उत्पादन गरेका जुनार,सुन्तला लगाएत स्थानीय जातका फलफुलहरु राखेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई जुनार सुपरजोन कार्यालय खनियाँखर्क, कृषि ज्ञान केन्द्र सिन्धुली, जुनार उत्पादक सहकारी संघ सिन्धुलीको सहयोगमा जुनार सुपरजोन संचालक समितिले महोत्सवकोे आयोजना गरेको हो । जुनार महोत्सवमा शनिवार ‘राइड थु्र सिन्धुलीगढी २०१९’ साइकल यात्रामा रहेका विश्व साईकलयात्री पुष्कर शाह सहित २१० जना साईकलयात्रीहरुलाई स्वागत तथा सम्मान समेत गरिएको थियो । साईकलयात्रीहरु सिन्धुलीको रसिलो जुनार,सिन्धुलीवासीको स्वागत र सम्मानमा रमाइरहेका देखिन्थे।