• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

असफलताको कथाः हापुरे वार्ता र महराको यात्रा !

प्रकाशित मिति : बिहिबार, कार्तिक २१, २०७६

सिन्धुली साैगात संवाददाता

भनिन्छ, असफलताले धेरैलाई फाइदा पुर्योउँदैन तर नेपालमा भएका दुई असफल घट्नाक्रमले भने देशलाई धेरै कुरा दिएको छ । वि.सं २०६० सालमा विद्रोहि समूह ‘माओवादी’ र सरकारबिच दाङमा भएको हापुरेको वार्ता र तीनै वार्ता समितिका कमाण्डर कृष्ण बहादुर महराको राजनैतिक यात्रा अहिले एउटै स्थितिमा पुगेको छ, अर्थात् असफलता ! दुवै घट्नाक्रमलाई इतिहासमा असफलताको उपनाम दिइरहदा तीनको योग्दान ओझेलमा पर्न सक्छ । सूचना तथा सञ्चार, गृह, अर्थ र परराष्ट्र मन्त्रालय हुदैँ सभामुख भएका महराको राजनैतिक यात्रालाई अहिले असफलताको कथासँग जोडिएको छ । उनका योग्दानहरु अन्धकारमा छन् भने नराम्रो कतुर्त छताछुल्ल भएको अवस्था छ । असफलताको अर्को कथा हो, हापुरे वार्ता । हापुरे वार्ताको जगमा बसेर शान्ति सम्झौता भएको कुरा सायद धेरैले बिर्सिसकेका छन् । र त, हापुरे वार्ता र वार्ता समितिका (विद्रोही समूह) कमाण्डर एवं पुर्व सभामुखको कथा एउटै बन्दै गइरहेको छ, असफलताको कथा ।

३२ साउनमा सरकार–माओवादीबीच चौथो अथवा अन्तिम चरणको वार्तामा बस्नुुअघि नेपालगञ्जको होटल स्नेहमा हात मिलाउँदै वार्ता टोलीका सदस्यहरू । त्यो वार्ता त्यसपछि हापुरे, दाङका शिवलाल खत्रीको घरमा दुई दिनसम्म चलेर एक साताभित्र अर्काे वार्ताको मिति तोक्ने सहमतिमा टुङ्गिएको थियो । तर, त्यो सात दिन कहिल्यै आएन, १० भदौ २०६० मा माओवादीले एकतर्फी रुपमा युद्धविराम भङ्ग गर्यो । १ भदौ २०६० मा कान्तिपुर दैनिक मा छापिएको नरेन्द्र श्रेष्ठ ले खिचेको तस्बिर ।

सत्तापक्ष र विद्रोहि पक्षबिच चौथो अथवा अन्तिम चरणको दुई दिने वार्ता नै हापुरे वार्ता हो । सरकारसँग दाङको हापुरेमा शिवलाल खत्रीको घरमा भएको शान्ति वार्ता चलिरहेका बेला दोरम्बा काण्ड भयो जहाँ सुरक्षा फौजको कारबाहीमा दोरम्बाको एउटा घरमा भेला भएका २१ जना तत्कालीन माओवादी नेता–कार्यकर्ता मारिए । त्यसपछि विद्रोही समूहले युद्धविराम भंग गर्यो । वार्ता असफल भएपनि त्यस्ले आज देशलाई ठूलो योग्दान दिएको छ । ती लगायत अरु शहिदकै कारण संविधानसभाबाट आज देशमा संविधान आएको छ । के बिर्सन हुन्न भने राजाको दमन हट्नुपर्ने र संविधानसभा न्युनतम सर्त ठान्ने माओवादीहरूको अडानकै कारण हापुरे वार्ता असफल भएको थियो । हापुरे वार्तामा सरकारले देखाएको दमन र त्यसपछि माओवादीको जनयुद्ध र सात दलको आन्दोलनलेनै आज देशमा गणतन्त्र आएको छ । एतिहासिक यो घट्नालाई आज सिर्फ असफलताको कथा बनाइएको छ । हापुरे वार्ता स्थल एतिहासिक भएपनि प्रचारप्रसार हुन सकेको छैन किनभने यो वार्ता असफलतासँग जोडिएको छ । त्यस्तै, यहि वार्ता समितका विद्रोही कमाण्डरको नैतिक आचरणलाई लिएर उनको कथालाई पनि असफलतासँग जोडिएको छ ।

सरकार र माओवादीको अन्तिम वार्ता स्थल हापुरे, दाङ । तस्बिरः महेश देवकोटा

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा महरालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । अनुसन्धानपछि महरा कसुरदार हो वा होइन भन्ने पक्कै आउनेछ । तर पनि उनी नैतिक रुपमा सबैको नजरमा गिरिसकेका छन् । उनको नैतिक आचरणलाई लिएर विरोधको हुरी चलिरहदा उनले देशलाई दिएको योग्दानको विषयमा लेख्दा पंक्तिकारलाई अरिंगालको उपनाम पक्कै पनि आउनेछ । इतिहासले उनको योग्दानलाई नजरअन्दाज गर्नै मिल्दैन र उनको असफल राजनैतिक यात्राका गुणहरु भुल्न सकिदैन । बलात्कारको आरोप लगाउने महिलाले कुन आधारमा महरालाई आरोपित बनाइन् वा उनीहरुको त्यसअघिको सम्बन्ध लगायत विविध पक्ष केलाउन जरुरी छ । तर, समयले उनलाई कसुरदार होइन भनेपनि उनको राजनैतिक यात्रा असफलता तर्फ धकेलि सकिएको छ । महराको राजनैतिक यात्रालाई नै असफल बनाएको यो घट्नाको कुरा गरिरहदा पात्रको योग्दानका बारेमा कसैले भुल्नु हुदैँन । महरा उनै हुन जस्ले हरेक जिम्मेवारीलाई कुशलतापूर्वक डटेर सामना गरे । उनले पार्टी र सरकारले दिएको जिम्मेवारीलाई सफलतापुर्वक निभाए र सर्वमान्य व्यक्तित्वको छवि बनाए । तर, बलात्कारको घट्नाले उनलाई आज असफलताको बिल्ला भिराइदिएको छ ।

शिवलाल खत्री जस्को घरमा हापुरे वार्ता भएको थियो । यहि कोठामा दुई दिनसम्म वार्ता सरकार र विद्रोहि पक्षबिच वार्ता भएको थियो । तस्बिरः महेश देवकोटा

राम्रो हुदाँहुदैँ पनि असफल भएको हापुरे वार्ता र महराको राजनैतिक यात्रा पक्कै पनि देशकालागि फलदायक बने । बलात्कार वा प्रेम, जेले भएपनि महराको राजनैतिक जिवनमा पूर्णविराम लागेको क्षणमा उनका योग्दानलाई कसैले भुल्नुहुदैँन । त्यस्तै, देशमा आएका परिवर्तनहरुमा हापुरको वार्ताको निर्णायक भुमिकालाई पनि कसैले नजरअन्दाज गर्नु मिल्दैन । यी दुई घट्ना एउटा असफलताको कथा हो तर तीनको योग्दान देशमा कति छ सबैले मनन् गर्नुपर्छ । तथास्तु !