• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

नियम विपरित चल्ने सवारी साधन कार्वाहीमा, ट्राफिक प्रहरीसँग भनाभन(भिडियो सहित)

७१ हजार राजश्व संकलन,बढी भाडा लिईएका यात्रुहरुको भाडा फिर्ता

प्रकाशित मिति : सोमवार, अशोज २७, २०७६

राधिका बुढाथोकी / सिन्धुली

विपि राजमार्ग हुँदैँ काठमाडौँ जाने यात्रुलाई सवारी साधनले तोकिएको रकम भन्दा बढी भाडा असुल गरेको खुलेको छ । दसैँ मनाएर काठमाडौँ फर्किने यात्रुको चाप बढे पछि सवारी साधनले मनोमानी रकम असुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आईतबार विहान गरेको छटके अनुगमनबाट पुष्टि भएको हो ।

सिन्धुली लगाएत पूर्वका झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम लगायत तराई–मधेसका विभिन्न जिल्लाबाट दसैँ मनाएर काठमाडौँ हिडेका यात्रुसँग विपि राजमार्गमा संचालित साना तथा ठुला सवारीले मनपरी भाडा असुल्ने गरेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको नेतृत्वमा विपि राजमार्ग अन्र्तगत पर्ने कमलामाई नगरपालिका ४–हिरापानीमा भएको सडक अनुगमनमा अधिकांस सवारी नियम विपरीत संचालन भएको पाइएको हो ।

ट्राफिक नियम विपरित संचालित सवारी साधनले यात्रुसँग बढि भाडा असुल्ने, यात्रुलाई टिकट नदिने,वृद्धवृद्धालाई आरक्षण सिट र राज्यले भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था लागु नगर्ने,क्षमता भन्दा बढि यात्रु बोकेर यात्रा गरेका लगायत सवारी साधनलाई अनुगमनको क्रममा कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका ट्राफिक प्रहरी सहायक निरीक्षक पाण्डेले बताए ।

आईतबार विहान ७ बजे देखि विहान १० बजे सम्म गरि ३ घण्टा सवारी अनुगमन गर्दा ७१ सवारी साधन(बोलेरो,टाटा सुमो तथा सार्वजनिक यातायाताका साना ठुला सवारी साधनहरु) कार्वाही गरिएको उनले बताए । चाडपर्वको मौका छोपी बढी भाडा लिने ६ वटा गाडीलाई कार्वाही गरियो । १८ जना यात्रुहरुको १३ हजार ७ रुपैँया भाडा फिर्ता गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक पाण्डेको भनाई छ ।

उनले आईतबार विहान ३ घण्टा सवारी अनुगमन गर्दा ७१ हजार राजश्व संकलन भएको जानकारी दिए । सिन्धुली–काठमाडौ रुटमा चल्ने साना तथा ठुला सवारी साधनहरुले काउन्टरवाट यातायातका साधन नछुटाउने र चालक तथा सवारी धनीको मिलेमत्तोमा सिन्धुली बसपार्कमा समेत सवारी साधन नपुर्‍याई बाहिर बाहिरैबाट यात्रुसँग सम्पर्क गरेर गाडीको टिकट नदिई चर्को भाडा दरमा सवारी साधन संचालन हुने गरेको पाईएकाले अनुगमन गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक पाण्डेले बताए ।

प्रहरीले बाटोमा गाडीहरु रोकी अनुगमन गर्दा चर्को भाडा लिने यातायातका साधनहरुबाट यात्रुहरुलाई भाडा फिर्ता गराईएको छ । यात्रुहरूले आफुँलाई सवारी साधनले टिकट नदिने, टिकट दिएपनि लिएको भाडा रकम नलेखी दिने,बढि भाडा असुल्ने र बढि यात्रु बोकेका कारण कोचाकोचमा कष्टपुर्ण यात्रा गर्नु परेको गुनासो गरेका थिए । सिन्धुली सदरमुकामबाट काठमाडौँ हिडेका यात्रु सरिता कार्कीले सुमोमा सदा ६ सय भाडा तिरेर सिन्धुली–काठमाडौँ आवातजावत गर्ने गरेको भएता पनि आईतबार गाडी रिर्जवमा जानु पर्दा २ हजार तिरेर हिड्नु परेको बताईन् । सिन्धुलीमाढी सदरमुकामबाट काठमाडौँ जाने टिकट नपाएको र धेरै यात्रुहरु मिलेर सुमो रिर्जव गरेर हिड्न महंगो भाडा दर तिर्नु परेको उनको गुनासो थियो ।

यसरी सवारि साधनहरु रिर्जवमा संचालन हुँदा सिन्धुलीबाट काठमाडौँ जाने कतिपय यात्रुहरु गाडीको टिकट नपाएर विचल्ली भएका थिए । आईतबार विहानै देखि ट्राफिक प्रहरी,नेपाल प्रहरी र शसस्त्र प्रहरी सिन्धुलीले बाटोमै खटिएर अनुगमन गरि सवारी साधनलाई कडाई गरेको छ । विपि राजमार्गमा छड्के अनुगमन गरेर नियम विपरित संचालन भएका सवारी साधनहरुलाई कार्वाही गर्न थाले पछि सिन्धुलीका काउन्टरबाट बसको टिकट पाउन थालिएको यात्रुहरुले बताएका छन् । ट्राफिक प्रहरीले सवारी नियम विपरित चल्ने यातायातका साधनहरुलाई कार्वाही गर्दा यात्रुहरुले खुसि व्यक्त गरेका थिए । सवारी साधनले लिएको बढी भाडा फिर्ता पाएपछि यात्रुहरुले प्रहरीलाई धन्यवाद समेत व्यक्त गरेका थिए । तर नियम विपरित संचालन भइरहेका कतिपय सवारी साधनका चालक र सवारीधनिहरुले भने ट्राफिक प्रहरीसँग भनाभन गरेका थिए ।

भिडियो हेर्नुहोस :-

 

यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले शनिवार १० हजार ४ सय रुपैया भाडा यात्रुहरुलाई फिर्ता गराइएको ट्राफिक प्रहरी प्रमुख विष्णु बहादुर बस्नेतले जानकारी दिए । उनले यात्रुबाट बढी भाडा लिने २ वटा हायस र १ वटा उईङगर गाडीलाई ९ हजार जरिवाना गरिएको बताए ।