एनआरएनएको विश्व सम्मेलन उद्घाटन गर्दै राष्ट्रपतिले भनिन् –लगानी बढाउनुस’

अनलाइनपाना संवाददाता २०७४ असोज २८ गते शनिवार काठमाडौं

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलन शनिबार काठमाडौंमा शुरु भएको छ । ७० देशबाट आएका दुई हजार बढी प्रतिनिधिमाझ राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन उद्घाटनगरिन् । कार्यक्रममा भण्डारीले विदेशमा छरिएर रहेका नेपालीको मातृभुमी प्रति लगाव र आत्मीयता बढेको भन्दै प्रसंशा गरिन् ।

गैरआवासीय नेपाली विदेशमा सद्भावनादूत र राष्ट्रियताको पहरेदार भएको उनको टिप्पणी थियो। नेपालमा पर्यटन, सूचना, संचार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा एनआरएनएलाई लगानी गर्न झन् अनूकूल रहेको उनले बताइन् ।’

संघ अध्यक्ष शेष घलेले विदेशमा कमाएको सीप र पुँजी नेपालको समृद्धिमा लगानी गर्नु नै मुख्य अभियान रहेको बताए । ‘पर्यटन, शिक्षा, स्वास्थ्य, बैंकिङलगायतका क्षेत्रमा एनआएरएनको लगानी छ’ उनले भने, ‘यसबाट नेपालको लगानी बातावरण प्रोत्साहन हुन्छ ।

नेपाल भित्रकै समुदायलाई मसेत लगानी गर्न उत्प्रेरणा प्रदान गर्छ ।’ उनले एनआरएनएलाई ‘मिनी राष्ट्रसंघ’ को स्वरुपमा परिकल्पना गरेको उल्लेख गरे ।

कार्यक्रममा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गैरआवासीय नेपालीबाट देश विकासका लागि धेरै अपेक्षा रहेको बताए। भूकम्प पिडितलाई राहत बितरण र पुनर्निर्माण क्षेत्रमा खेलेको भूमिकाको उनले प्रशंसा गरे।

स्थानीय तहको निर्वाचन सम्पन्न भइ सकेको एवं प्रदेश तथा केन्द्रको निर्वाचन लगत्तै मुलुक आर्थिक विकासको दिशामा अघि बढ्ने उनले उल्लेख गरे ।

नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले एनआरएनले आर्थिक, सामाजिक क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको र आउँदो दिनमा युवालाई उत्पादनशील क्षेत्रमा लैजाने अभियानमा महासंघले सहकार्य गर्ने बताइन् ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले देश समृद्ध नभएसम्म व्यक्ती सम्पन्न हुन सक्दैन भन्ने उदेश्यका साथ एनआरएनए गठन भएको जानकारी दिए।

‘एनआएरएनको नेतृत्वमा कसलाई दिने भने होइन, देश कसरी सुन्दर, शान्त र समृद्ध बनाउन सकिन्छ भनेर गठन गरिएको हो’ उनले भने। उनले बैदेशिक रोजगारीमा युवाको आकर्षक र धान, चामल समेत ठूलो मात्रामा आयात हुन थाल्नु दुर्भाग्य भएको बताए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top