• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

निर्मलाको अन्तिम प्रश्न

सिन्धुली सौगात

 

म खेल्दैथे कञ्चन लाग्ने कञ्चनपुरमा
खुल्ला संसार सम्झेर
तर मेरो सोच सानो रहेछ जस्तो मेरो उमेर थियो
म र म जस्ता निर्मलाको लागि कहाँ खुल्ला रहेछ र संसार
खुल्ला जस्तो लाग्ने मात्र रहेछ

 

म सपना देख्दैथे
मेरो पढाइ राम्रो छ भन्दै
मलाई ढाडस दिने यो समाज नै मेरो अभिभावक हो
तर मेरो सपना कहाँ सत्य रहेछ
जब अभिभावक नै अंजिगर जस्तै भएपछि

 

‘बा’ लाई देखेर
हुर्किएको पुरुष प्रतिको पवित्र सोच
जब बलत्कारीलाई देखे
त्यसपछी मैले वीर र बहादुरीको मतलब बुझे

 

म चिच्याए सँगै उ पनि चिच्यायो
आवाज उस्तै तर आवाजको आभास कहाँ उस्तै थियो र ?
उसको अवाजमा बहादुरीको अहंकार र संसारिक आनन्द थियो
मेरो अनुहारमा विवशता र आक्रोशको आगो

 

पानीपुरी बेच्ने मेरो ‘बा’
छोरी:-आज पानीपुरी बनाएर देउ है भन्दा
पुरीका बेला-बेला फुटने डल्लाहरु बाट तर्सिएको मेरो शरीर
उसले मलाई तर्साइ-तर्साइ लुटेको थियो
जसरी कहिलेकाही पानीपुरी पिलेट बाट झरेर फुटेको थियो

 

फुटेर झरेको पानीपुरीको अस्तित्व भुइँमा बिलाए जस्तै
मेरो अस्तित्व पनि बिलायो ‘कञ्चन’पुरमा

 

‘आमा’ले छोरी त ठुली भएर
नाम कमाउछेस भन्दा
म आफैलाइ विश्वास गर्दिन थे
तर आज म कति धेरै कहलिएको छु
त्यो पनि ठुली नै नभै
तेरो सफलता बाट मान्छे मरिहत्ते र आत्तिने धेरै हुन्छन भन्दा
म आफैलाइ विश्वास गर्दिन थे
तर आज मेरा लागि मरिहत्ते हैन मर्ने र आत्तिने मात्र हैन आन्दोलन नै गर्ने कति धेरै मान्छे
आमाको सपना त साकार भयो
अनि सपना सँग जोडिएको आकार बिनाको सोच

 

कहिले काठमाडौं नपुगेकी म
आज काठमाडौंका घर-घर र कोठा-कोठा पुगेकी छु
माइतीघरको अनुभव गर्न नपाएकी अभागी म
माइतीघरमा तिजका लागि कुर्दै बसेका माइतीहरु महसुस गरेकी छु

 

माइतीघर बाट स्वर नै नसुन्ने बानेश्वर तिर
‘निर्मला-निर्मला’ भन्दै अगाडी बढेको आर्तनादले
बानेश्वरको सुन्दर भवन भित्रका
सुरक्षित निर्मलाहरु लाई पनि पक्कै ब्युझाएको हुनुपर्छ

 

३३ प्रतिशको महिला अधिकार सहित
ठडिएको त्यो अधिकार सम्पन्न भवनलाई
पहरेदार गर्ने प्रहरी दाजुलाई मेरो अन्तिम प्रश्न
“बर्दीले तिम्रो इज्जत जोगाउला तर मेरो इज्जत र अस्तित्व खोइ ?बर्दीले बलात्कार त पक्कै गर्दैन तर बलत्कारीले बर्दीलाई किन बलात्कार गरिरहेछ ?”

प्रकाशित मिति : सोमवार, भदौ ११, २०७५