माओवाद, जनयुद्ध र नयाँ जनवादको हाउगुजी

बिनोद दाहाल २०७५ कात्तिक ४ गते आइतवार काठमाडौं

 

प्रतिक्रियावादी जगतमा माओवाद, जनयुद्ध र नयाँ जनवाद हाउगुजी बनेको छ । हुँदाहुँदै अहिले त अवशरवादी जगतको लागि पनि त्यही भएको छ । प्रतिक्रियावादी लाई त्यस्तो लाग्नु स्वभाविक हो तर १० वर्षसम्म जनयुद्धको आँधिबेहेरि सृजना गर्ने माओवादीको लागि किन हाउगुजी बन्न पुग्यो ? यो सोचनीय बिषय बनेको छ । यो सित शान्ति प्रक्रिया अर्थात माओवादीलाई निसस्त्रीकरण गर्ने प्रक्रियामा “माओवादी हिंसा” र “सशस्त्र संघर्ष नाम किन जोडिएर आए भन्ने पनि स्पष्ट हुँदै गएको छ ।

 

माओवाद के हो ? यो बारेमा चर्चा गर्ने बिषय फराकिलो छ । समाजमा सर्वहारा वर्गको उत्पति र त्यसले माग गरेको दर्शनले संसारभरको सम्पूर्ण सत्ता हत्याएको वर्गको हितको समाजलाई बिथोलिदियो । र, आफ्नो हितको समाज निर्माण गर्ने क्रममा माक्र्सवाद—लेनिनवाद हुँदै माओवादको स्तरमा आफूलाई विकसित गर्न पुग्यो । अहिले संसार भरको प्रतिक्रियावादी संसारलाई बिथोलेर आफ्नो वर्गको नेतृत्वको सत्तामार्फत समाजलाई व्यवस्थित गर्ने युग हो । अर्थात अहिले माओवादी युग हो । संसारको जुनसुकै समाजमा पनि अहिले माओवादले सर्वहारा गतिबिधिलाई सशस्त्र बनाउने उद्घोष गरेको छ । त्यही उद्घोषलाई नेकपा (माओवादी)ले नेपालमा व्यवहारमा उतार्दा प्रतिक्रियावादी राज्य पूर्णतः बिथोलिन पुग्यो । वर्गमाथि भएको यस्तो बज्रपातलाई प्रतिक्रियावादीले नामै लिन चाहदैन र माओवादलाई उनीहरु उच्चारण गर्न रुची राख्दैनन् र जनयुद्धले उनीहरुलाई सताएको हुनाले संझिनै चाहदैनन् ।

 

नवप्रतिक्रियावादीहरुले पनि यसमा सहमती गर्नुमा उनीहरुमा पनि त्यही समस्या आएर नै हो । नवप्रतिक्रियावादी भनेको कम्युनिस्ट आन्दोलनको अवशरवादी कित्ता हो । उनीहरुले प्रतिक्रियावादी वर्गको इच्छा अनुसार माओवाद र जनयुद्धलाई लिपिबद्ध नगरिकनै कम्युनिस्ट पार्टीलाई निशस्त्र बनाउन सफल भएकोले अव उनीहरुले पनि समान स्वार्थका आधारमा भन्दा एकै भएकाले अहिले उनीहरुको लागि पनि माओवाद र जनयुद्ध हाउगुजी बनेको हो ।

 

माओको सत्रू र मित्र चिन्न र आफ्नो र अर्काको बुझ्न एउटा चल्तीको उद्गार छ । प्रतिक्रियावादी वर्गले जव प्रशंशा गर्न थाल्छन् तव सर्वहारा वर्गले होस् गर्नुपर्छ कतै त्यसैमा गडबढी छ भनेर । त्यसैगरि सर्वहारा वर्गको जे कुरासित उनीहरु आत्तिन थाल्छन् त्यही नै सहि छ भन्ने बुझ्नुपर्छ । हाम्रो माओवादी आन्दोलनमा पनि त्यही नीति नै लागु हुन्छ कि सर्वहारा वर्गको मुल कुरा माओवादी दर्शन र जनयुद्धको बाटो अनि नयाँ जनवादी क्रान्तिको बिषय नै सबैभन्दा सहि छ किनकि यसैले प्रतिक्रियावादी वर्गको सात्तो लिने तागत राख्दछ ।

 

व्यवहारबाट नै पुष्टि भएको छ कि अहिलेको समयमा पनि माओवादी नभैकन कम्युनिस्ट हुन सकिंदैन । जव नेपालमा कम्युनिस्ट पार्टीले माओवादलाई आत्मसात गरेर व्यवहार गर्न थाल्दछ तव क्रान्तिका ज्वारभाटाहरु चल्न थालेका थिए । विश्वमा पनि त्यस्तै भएका छन् । कुनैबेला भियतनाम तथा कम्बोडिया होस् वा पछिल्लो चरणमा पेरु, भारत र पछि नेपालमा होस् माओवादलाई अनुशरण गर्न थालेपछि क्रान्तिका ज्वारभाटाहरु उर्लिन थालेका थिए । नेपालको इतिहास हेर्दा पनि पुष्पलालले माओबाट सिकेर नै नयाँ जनवादी क्रान्तिको कार्यक्रम बनाउन पुगेका हुन् । झापाको बिद्रोह होस् वा चौमको निर्माण र कमरेड आजादको बिद्रोहमा पनि माओवादको सारपक्षले काम गरेको पाइन्छ । पञ्चायत भित्रको नेकपा (मशाल)को नीतिमा माओवाद गढेर बसेकैले नै २०५२ सालपछि १० वर्षसम्म प्रतिक्रियावादी जगतलाई नै हल्लाउने गरि क्रान्तिका ज्वारभाटाहरु उर्लिएका थिए । यसैबाट नै प्रष्ट हुन्छ कि नेपालमा क्रान्ति गर्ने नीति माओवादबाहेक अर्को हुनै सक्दैन ।

 

कथित शान्ति प्रक्रिया अर्थात सर्वहारा वर्गलाई निसस्त्र पार्ने प्रतिक्रियावादी योजना माओवाद बिरुद्ध लक्षित थियो । सर्वहारा वर्गको हातमा बन्दुक अर्थात जनयुद्धले प्रतिक्रियावादी जगत भयभित भएर होस्हवास् गुमेको उनीहरुले सजिलै बिर्सन सक्ने बिषय थिएन । त्यसैले उनीहरुले माओन्दोलनको नेतृत्व गरिरहेका व्यक्ति र पात्रहरुको मनोविज्ञान बुझेर माओवाद, जनयुद्ध र नयाँ जनवादी क्रान्ति भन्ने पदावलीलाई सचेततापुर्वक दस्ताबेजिकरण गर्न मानेनन् । अवशरवादी नेतृत्वको कारण हस्तक्षेप बढाउन सर्वहारा वर्ग चुक्यो । यसले वर्गलाई यत्ति कमजोर बनायो कि त्यसपछिको सबै स्थितिमा सर्वहारा श्रमजिवी वर्गले पहलकदमी उठाउने स्थिति बन्नै सकेन । त्यतिबेलाको माओवादी केन्द्रमा बस्ने सबैले यो स्थितिबाट उठने हैसियत नै गुमाउन पुगे । अहिले हामीले भोगेको यथार्थ नै यही हो ।

 

माओवादी आन्दोलनको रक्षात्मक स्थितिसँगै के पनि देखिन पुग्यो भने राष्ट्रियता सबैभन्दा कमजोर भएर दलाल तथा कठपुतली शासकहरु फासिवादी शासन लाद्न पुगेका छन् । अहिले दलाल तथा कठपुतलीहरुको सत्तामा सरकार र प्रतिपक्ष नै बनेको छ । विस्तारवादी नियत र कठपुतलीहरुको हैसियतको कोणबाट हेर्दा बिश्व मानचित्रबाट नै नेपाल हट्ने त हैन भन्ने प्रश्न खडा भएको छ । केन्द्रिय सत्ता कमजोर र नालायक बनाएर विस्तारवादीसँग गुहार भाग्न जाने स्थिति बनिरहेको छ । केन्द्रिय सत्ताको सबै जिम्मेवारि लिन प्रस्तावहरु आइराखेका र यहाँका दलाल तथा कठपुतलिहरु नजवाफ हुने गरेका तथ्यहरु बाहिर आइरहेका छन् । यो स्थितिबाट देशलाई जोगाउने माओवादीबाहेक अरुसँग नीतिको अभाव रहेको देखिएको छ । माओवादी आन्दोलन रक्षात्मक स्थितिसँगै देशको अस्तित्वको सवाल पनि अत्यन्तै कमजोर बनेको बस्तुगत अवस्था छ ।

 

इतिहासभरि हमेशा जनताले आन्दोलन र बिद्रोहहरु गरिरहेका छन् । जनादेशको सम्मान कहिल्यै हुने गरेका छैनन् । पटकपटक शोषण, दमन, उत्पीडन बिरुद्ध जनता उर्लिने गरेका छन् । हरेक आन्लोलनपछाडि त्यसको नेतृत्वको जिम्मा लिने नेतृत्वहरुले जनतालाई धोका दिने गरेका छन् । र, साम्राज्यवादी तथा विस्तारवादीको आदेशमा चल्ने गरेका छन् । जनताले सँधैनै धोका पाएको तीतो इतिहास हामीले भोगिरहेका छौं । यहाँको शासन व्यवस्थामा कहिल्यै सुधार आएको छैन । लोकतन्त्र र गणतन्त्रको नाममा यहाँ दलालतन्त्र आएकोले जनताको जीवनस्तरमा कुनै सुधार नआएको हामी भोगिरहेका छौं ।

 

गरिबीको प्रतिशतमा सुधार आएको छैन । जनतामा ऋणको भार थपिएको छ । लोकतन्त्र र गणतन्त्रको नाममा जताततै दलालतन्त्र भोगेका जनतामा अर्को बिद्रोहको ज्वाला सहजै देख्न सकिन्छ । राज्य हरेका क्षेत्रबाट जनतालाई सेवा तथा सुबिधा दिने कुराबाट पन्छिरहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता सेवा क्षेत्रसमेत दलाललाई बुझाएर जनताको ढाड सेक्ने सरकार र त्यो बिषयसँग कुनै सरोकार नराख्ने प्रतिपक्षसँग जनताले कुनै अपेक्षा गर्न छोडिसकेका छन् । जहाँ पनि जनयुद्धबिरुद्ध षड्यन्त्र भएकोमा जनता दुःख प्रकट गरिरहेको सुन्न पाइन्छ । हरेक क्षेत्र र स्थानबाट जनताले यही सत्य ओकलिरहेका छन् । के स्पष्ट बुझिन्छ भने जनयुद्ध नै जनताको एकमात्र सहारा बनेको थियो ।

 

स्पष्ट छ देश स्वाधिनता र जनताको मुक्तिको निम्ति माओवाद नै एकमात्र सच्चाई हो । सबैले बुझिसकेका छन् कि सर्वहारा वर्गको नेतृत्वको सत्ता र जनताको मुक्तिको लागि राम्रो व्यवस्था नयाँ जनवादी व्यवस्था नै हो । सबैले बुझिसकेका छन् कि सर्वहारा, शोषित पिडित जनताको एकमात्र सहारा जनयुद्ध नै हो । माओवाद, जनयुद्ध र नयाँजनवादी क्रान्तिले नै प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पार्ने हैसियत राख्दछ । यसबाट नै सबैभन्दा बढी प्रतिक्रियावादी तथा नवप्रतिक्रियावादी हतोत्साही हुने गरेका छन् । साम्राज्यवादी तथा विस्तारवादीहरुले यसैमा आफ्नो काल देख्ने गरेका छन् । र, सर्वहारा श्रमजिवी जनताले यसैमा आफ्नो जीवन पाउने गरेका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top