सिन्धुलीको बन्द जुनार प्रशोधन उद्योग सञ्चालनमा ल्याउने

राधिका बुढाथोकी २०७६ साउन ३१ गते शुक्रवार सिन्धुली

 

सिन्धुलीको कमलामाई नगरपालिका ४ दोभानटार स्थित २ बर्ष अघि बन्द रहेको जिल्लाकै पहिलो जुनार शितभण्डारण तथा प्रशोधन उद्योग पुनःसञ्चालनमा ल्याउनका लागी छलफल गरिएको छ । उचित व्यवस्थापन र कच्चा पदार्थको अभावमा बन्द भएको उद्योग पुनःसञ्चालनमा ल्याउने बारे सरोकारवाला बिच छलफल गरिएको हो ।

 

बन्द उद्योग सञ्चालनमा ल्याउनका लागी कमलामाई नगरपालिका का नगर प्रमुख खड्ग बहादुर खत्री, सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेश चन्द्र बैदार, कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरत बिडारी र प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन इकाई जुनार सुपरजोन सिन्धुलीका प्रमुख देबराज अधिकारी सहितको टोलीले बन्द उद्योगको केही समय अघि निरिक्षण गरेका थिए ।

 

नेपाल सरकारको २ करोड १८ लाख, निजि क्षेत्रको १ करोड २५ लाख र जुनार संघमा आबद्ध कृषकहरुको ४७ लाख गरि कुल ३ करोड ९० लाख रुँपैयाको लागतमा २०६४ सालमा स्थापित उद्योग २०७४ साल यता बन्द हुँदा त्यस भित्र रहेका लाँखौ मुल्यका उपकरणहरु सदुपयोग हुन सकिरहेका छैनन् ।

 

बन्द उद्योग सञ्चालनमा ल्याउनका लागी पुराना निजि क्षेत्रका लगानी कर्ताको लगानी फिर्ता गर्नुृपर्ने भएको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदारले बताए । निजि क्षेत्रबाट नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुरज बैधको १ करोड २५ लाख लगानी रहेको छ । हाल नयाँ लगानी जुटाउने प्रयास भईरहेको अध्यक्ष बैदारले बताए ।

 

बन्द उद्योग सञ्चालनका लागी कमलामाई नगरपालिका समेत लगानी गर्न तयार देखिएको छ । उद्योग सञ्चालनमा आउने सुनिश्चित भए नगरपालिका केही लगानी गर्न तयार रहेको नगर प्रमुख खड्ग बहादुर खत्रीले बताए । जिल्लाको पहिचान बोकेको जुनारको भण्डारण र प्रशोधन गर्ने जिल्लाकै पहिलो उद्योग नियमित सञ्चालनमा आउनुपर्छ । नगर प्रमुख खत्रीले भने, “सञ्चालकहरुबाट सामुहिक रुपमा सञ्चालनमा ल्याउन सकेनौ भनेर लिखित पत्र आए नगरपालिका आफै उद्योग सञ्चालनका लागी पहल गर्छ ।”

 

यता करोडौको लगानीमा स्थानिय स्तरमा स्थापित उद्योग चल्नु पर्ने जुनार सुपजोनका प्रमुख देबराज अधिकारीले बताए । उद्योग चल्ने सुनिश्चित भए जुनार सुपरजोन केही लगानी गर्न तयार छ । उद्योग सञ्चालनका लागी जिल्ला स्थित सरोकारवालाहरुको बृहत भेला राखेर उद्योग बन्द हुनका कारण पहिचान गरि स्थायी रुपमा उद्योग सञ्चालनमा ल्याउनका लागी आवश्यक निर्णय लिनु पर्छ,उनले भने,“उद्योग सञ्चालनमा ल्याउनका लागी स्थानिय सरोकारवालाहरुनै बढी जिम्मेवार हुनुपर्छ ।”

 

सिन्धुलीमा उत्पादन हुने जुनारले तिन महिना पनि उद्योगका लागी आवश्यक कच्चा पदार्थ नपुग्ने भएकाले जुनारको सिजनमा बाहेक अन्य समयमा भुईकटहर, आँप, मेवा लगायतका अन्य फलफुल जन्य पदार्थ प्रशोधन गर्न मिल्ने गरि उद्योग सञ्चालनमा ल्याउनु पर्ने कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरत बिडारीको धारणा छ ।

 

जुनार कृषकहरुले ठुलो मात्रामा खुद्रा रुपमा जुनार बिक्री गर्ने गरेको हुँदा उद्योगलाई नै जुनार बेच्न प्रोत्साहन गर्नु पर्ने उनले बताए । त्यसका लागी किसानलाई उत्पादित जुनार उद्योग सम्म पुरयाउँदा केही मात्रामा ढुवानीमा छुट दिन सकिने बताउँदै उनले केही अन्य उपकरण थप गर्न पर्ने पनि बताए ।

 

उद्योगको भण्डारण क्षमता ठुलो भएकाले जुनार बाहेकका अन्य फलफुल भण्डारण र प्रशोधनको सम्भावना रहेको र यसका अलवा उद्योगमा प्लाष्टिकको बोतल बनाउने उपकरण पनि रहेको हुँदा अन्य समयमा उद्योगबाट प्लाष्टिक बोतल उत्पादन गर्न सकिने सम्भावना पनि रहेको उनले बताए । बन्द उद्योग सञ्चालनमा ल्याउनका लागी आर्थिक लगानी गर्न केन्द्रसँग तत्काल स्विकृत कार्यज्ञmम भने नभएकोप्रमुख बिडारीको भनाई छ ।

 

२ बर्ष देखी बन्द उद्योगमा चिस्यान केन्द्र, प्रशोधन केन्द्र, संकलन केन्द्र, गोदाम लगायतका संरचना भित्र ग्रेडिङ, थ्रेसिङ, बोटलिङ लगायत आवश्यक उपकरणहरु रहेका छन् । २० टन स्टोर क्षमता रहेको उद्योगको दैनिक ८ हजार लिटर जुस उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।

 

सिन्धुलीमा जुनार खेति हुदैँ आएको १ हजार ३ सय ५० हेक्टर जमिन मध्ये ६ सय ५० हेक्टर जमिनमा जुनारको उत्पादन राम्रो छ । जिल्लाको रतनचुरा, चपौली, तिनकन्या, डुडभञ्जयाङ, वितिजोर, बासेश्वर लगायतका १ हजार हेक्टर क्षेत्रलाई समेटेर जुनार सुपरजोन परियोजना चालु अवस्थामा रहेको छ । सिन्धुलीमा बार्षिक ५० करोड मुल्य बराबरको ८ हजार मेट्रिक टन जुनार उत्पादन हुने गरेको छ ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top