प्रधानमन्त्री अस्वस्थ : आराम गर्न चिकित्सककाे सुझाब

पत्रपत्रिका बाट २०७६ साउन ३१ गते शुक्रवार काठमाडौं

 

 

 

सिंगापुरमा उपचार गरेर गत सोमबार मात्र फर्किएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । चिकित्सकले उनलाई आराम गर्न सुझाब दिएका छन् ।प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बिहीबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पनि स्थगित गरिएको छ । केन्द्रीय सदस्यहरूको कार्यविभाजन, एकीकरणको बाँकी कामलगायत विषयमा छलफल गर्न बालुवाटारमा सचिवालय बैठक बोलाइएको थियो । बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री अस्वस्थ भएपछि उनीहरू सामान्य अनौपचारिक छलफल गरेर फर्किएका थिए । आजको नयापत्रिकामा खवर छ ।

 

‘प्रधानमन्त्रीज्यूलाई ज्वरो आएकाले बैठक शुक्रबार बस्ने गरी स्थगित भएको हो,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेललगायत नेतासँग अनौपचारिक छलफल गरेका थिए ।

 

आराम गरिरहेका प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डले बेडरुममै गएर केहीबेर कुराकानी गरेको स्रोतले जनाएको छ । ‘केहीबेर ज्वरो आउने, केहीबेरमा निको भएजस्तो हुने, थकान महसुस गर्नुभएकाले प्रधानमन्त्रीसँगको परामर्शअनुसार शुक्रबार बैठक बसौँ,’ बैठकका लागि पुगेका नेताहरूलाई प्रचण्डले भनेका थिए ।

 

प्रधानमन्त्रीको सचिवालयले भने उनको स्वास्थ्य ठीक रहेको जनाएको छ । ‘प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ, उहाँ भोलि बिहानैबाट नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनुहुनेछ । उहाँको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नुहुने सबै शुभचिन्तकमा धन्यवाद छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बिहीबार राति ट्विट गरेका छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top