सिन्धुलीमा बने झण्डै एकाउन्न प्रतिशत निजी आवास

बाबुराम देवकोटा २०७६ साउन २९ गते बुधवार  सिन्धुली

 

सिन्धुली जिल्लामा भुकम्पपछिको पुनःनिर्माणमा झण्डै ५१ प्रतिशत निजी आवास निर्माण भएका छन् ।

 

बिनासकारी भूकम्प गएको ५१ महिनाको अवधिमा लाभग्राहीको सूचिमा परेका मध्ये ५० दशमलब ६३ प्रतिशत अर्थात १९ हजार २३८ जना भूकम्प पीडितले निजी आवास बनाएका राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन कार्यालय सिन्धुलीले जनाएको छ ।

 

 

कार्यालयका अनुसार जिल्लामा पूनःनिर्माणतर्फ निजी आवास बनाउने लाभग्राहीको सङख्या ३८ हजार ५४ जना रहेका छन् । त्यस्तै प्रबलिकरण (घर मर्मत) तर्फका लाभग्राहीको सङख्या १४ हजार २०६ रहेको छ । पुनःनिर्माण तर्फका लाभग्राही मध्ये नीजी आवास निर्माण गर्न पहिलो किस्ताका लागि सम्झौता गर्ने ३६ हजार ९४८ जना (९७.०९ प्रतिशत), दोस्रो किस्ताका लागि २८ हजार ८८ जना (९४.३९ प्रतिशत) र तेस्रो किस्ताका लागि १९ हजार २३८ जना (५०.६३ प्रतिशतले सम्झौता गरेका छन् ।

 

 

त्यस्तै प्रबलिकरणका लाभग्राही मध्ये नौ हजार ४६ जना (८८.६२ प्रतिशत) ले मात्रै पहिलो किस्ताका लागि सम्झौता गरेका र दोस्रो किस्ताका लागि अहिलेसम्म कसैले पनि सम्झौता नगरेको उक्त कार्यालयका प्रमुख सुर्यप्रकास बिष्टले जानकारी दिए । पुनःनिर्माणतर्फका लाभग्राहीले निजी आवास बनाउनका लागि तीन किस्तामा तीन लाख रुपैया र प्रबलिकरणका लाभग्राहीले दुई किस्तामा एक लाख रुपैया अनुदान पाउने व्यवस्था रहेको पनि उनले बताए ।

 

“निजी आवास निर्माणका लागि २०७६ साल असार २१ गतेसम्म पहिलो किस्ताको सम्झौता गर्ने लाभग्राहीहरुलाई कात्तिक मसान्तसम्ममा दोस्रो किस्ता र माघ मसान्तसम्म अन्तिम तथा तेस्रो किस्ताका लागि सम्झौता गर्न समयसिमा तोकिएको छ,” कार्यालय प्रमुख बिष्टले भने, “माघ मसान्तसम्ममा ८० प्रतिशतसम्म निजी आवास बन्ने अनुमान गरिएको छ ।”

 

उक्त कार्यालयका अनुसार २०७६ जेठ अन्तिमसम्ममा लाभग्राहीको सूचिमा परेर पनि असार २१ गतेसम्म सम्झौता नगर्ने पुनःनिर्माण तर्फका एक हजार १०६ जना र प्रबलिकरणतर्फका चार हजार ८४२ जनालाई आलटाल गरेको भन्दै सम्झौता तथा पहिलो किस्ता निकासा तत्काललाइ  रोक्का गरिएको छ । त्यस्तै सम्झौता गरि २०७६ असार मसान्तसम्ममा पहिलो किस्ता नलिने पुनः निर्माण तर्फका एक हजार २९ जना र प्रबलिकरण तर्फका पाँच हजार १६० जना लाभग्राहीको पहिलो किस्ता रोक्का गरिएको छ ।

 

केन्द्रबाट अर्को आदेस नआएसम्म उनीहरुको सम्झौता तथा पहिलो किस्ता निकासा पुक्का नहुने कार्यालय प्रमुख बिष्टले जानकारी दिए । सम्झौता गरि पहिलो किस्ता रकम मासेर खाएका र निजी आवास निर्माण अनावश्यक ठानेका लाभग्राहीका कारण बाँकी २० प्रतिशत पुनः निर्माणको काम भने कठिन भएको उनको भनाई छ ।

 

 

भुकम्पीय आपतकालिन सहायता आयोजना अन्तर्गत २९ किमि लम्बाईको पिपलभञ्ज्याङ – हायुटार – नेत्रकाली सडक निर्माण भएको । यस अवधिमा १० जना लाभग्राहीले पहिलो किस्ता रकम फिर्ता गरेका छन् । नीजि आवास बनाउन आवश्यक नपरेको भन्दै उनीहरुले रकम फिर्ता गरेका अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ ।

 

 

सुनकोसी गाँउपालिका–६ सित्तलपाटीमा नेपाल रेडक्रस जिल्ला शाखाले भुकम्पपछिको पुननिर्माण अन्तर्गत ९०२ जना लाभग्राहीको निजी आवास बनाउने जिम्मा लिएकोमा ७९९ घर बनाएको छ । शितलपाटीका कुल ९०२ लाभग्राहीमध्ये ८९५ जनाले निजी आवासका लागि सम्झौता गरेका र बाँकी ९६ जनाको निजी आवास निर्माणको काम अन्तिम चरणमा रहेको रेडक्रसका जिल्ला शाखा सभापति असोक श्रेष्ठले जानकारी दिए ।

 

 

शित्तलपाटीमा निजी आवास निर्माणका अतिरिक्त ३५३ घरमा सौचालय निर्माण, स्वास्थ्य चौकी भवन निर्माण तथा मर्मत तथा अन्य जीविको पार्जनको कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top