पौडेल देउवा विरोधीलाई एकढिक्का बनाउँदै

सिन्धुली साैगात संवाददाता २०७६ साउन १७ गते शुक्रवार काठमाडौं

 

 

 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल पार्टीको आउँदो महाधिवेशनबाट सपभापति बन्नका लागि आन्तरिक तयारीमा सक्रिय भएका छन् । उनले त्यसका लागि टिम बनाइरहेका छन् ।

 

पौडेलले कोइराला परिवार र पूर्व महामन्त्री प्रकाशमान सिंहको साथ कायमै राखी अर्को पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग सहमति बनाउन खोजिरहेका छन् । महामन्त्री सशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापतिको दाबेदार भएकाले पौडेललाई चुनौती छ । सुजाता कोइराला परिवारभित्रबाट काँग्रेसको नेतृत्व आउनुपर्ने योजनामा लागिरहेकी छिन् । सबैलाई मिलाउन पौडेल सजिलो छैन ।

 

पौडेलले देउवाप्रतिको असन्तुष्टिलाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन् । देउवा सभापति र प्रधानमन्त्री हुँदा तीन तहको चुनावमा भएको पराजयलाई पौडेलले मुख्य अस्त्र बनाइरहेका छन् । पछिल्लो समय पार्टीको भूमिका कमजोर भएको र दुई तिहाइको सरकारले एकलौटी निर्णयहरु गर्दा पार्टी निरिह बनेको भन्दै पौडेल पक्ष देउवाप्रति असन्तुष्टि बढाइरहेको छ । यसै माहोललाई पक्षमा पारेर पौडेलले देउवाविरोधी गुटहरुलाई एकतावद्ध पार्न खोजेका छन् ।

 

देउवाको पक्षमा प्रभावशालीहरुमा विमलेन्द्र निधि र विजयकुमार गच्छेदार छन् । देउवाको विरोधमा पौडेल, पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलाका अलावा कोइराला परिवार छन् । सबै एक भएमा देउवालाई पुनः नेतृत्वमा पुग्न कठिन पर्ने देखिन्छ । पौडेल सबैलाई एक बनाउने योजनासहित लागिपरेका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top