मसिंर १४ गते शनिबार उपनिर्वाचनको सिफारिस

सिन्धुली साैगात संवाददाता २०७६ साउन १६ गते बिहीवार काठमाडौं

 

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा मसिंर १४ गते शनिबार निर्वाचन गराउन उपयुक्त हुने सिफारिस गरेको छ । राजनीतिक दलहरुसँगको परामर्शपछि आयोगले बिहीबार सरकारलाई आफ्नो परामर्श सहितको उक्त सिफारिस गरेको हो । मन्त्रिपरिषद्‌ले मिति घोषणा गर्न बाँकी छ ।

 

तीनवटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव छ । प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन् । तीनवतै तहको निर्वाचन २०७४ सालमा भएको थियो ।

 

स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तथा प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने कानुनी प्रावधान छ । सरकारले स्थानीय तहको मिति तोकेपछि सोही दिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने गरी मिति तोक्ने आयोगको तयारी छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top