विपी राजमार्गको दुर्गति

सम्पादकीय २०७६ साउन १५ गते बुधवार सिन्धुली

 

 

विपी राजमार्गको विभिन्न सडक खण्डमा पहिरोका कारण माटोको ढिस्कोले सडक बिग्रेको छ । राजमार्गमा थुप्रिएका माटोले गर्दा घाम लागेको बेला धुलाम्मे हुने र पानी पर्दा हिलोले यात्रा गर्न कठिन बनाएको छ । त्यसैगरि, ठाउँठाउँमा पहिरो खसेपछि विपी राजमार्गमा यात्रा गर्न डराउनु परेको अवस्था छ । वीपी राजमार्ग अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका र सनुकोशी गाउँपालिका क्षेत्रका सडकमा धेरै क्षति पुगेको छ भने अन्य सडक खण्डहरुमा पनि स–साना क्षतिहरु देखिएको छ । देशकै नमुना राजमार्गको अवस्था दयनिय छ ।

 

दिनहुँ हजारौँको संख्यामा विपी राजमार्गमा गाढी गुड्ने गरेको छ । केहि दिनअघि निरन्तर पानी पर्दा पहिरोका कारण सडकनै अवरुद्ध भएको थियो । समग्रमा, विपी राजमार्ग दिनानुदिन असुरक्षित हुदैँ गएको छ । पहिरोले राजमार्गका धेरै सडकखण्डमा क्षति पुर्‍याएको छ । आगामी दिनमा पनि पहिरोका कारण मानविय र भौतिक क्षति नहोला भन्न सकिन्न । तसर्थ, राजमार्ग छेउछाउमा वृक्षारोपण तथा अन्य प्रविधिको प्रयोग गरेर राजमार्ग सुरक्षित बनाउन सम्बन्धित निकायले आवश्यक कदम चाल्न जरुरी छ । पहिरो नियन्त्रणका लागि कम खर्चिलो भू–संरक्षणसम्बन्धी प्रविधि अपनाउन सके ठूलो क्षतिबाट राजमार्ग जोगिनेछ । ग्याविन जाली लगायत समुदायमा उपलब्ध स्थानीय श्रोतसाधन, सामाग्री, सिप र प्रविधिको प्रयोग गरेर राजमार्ग जोगाउन जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ । त्यसैगरि, राजमार्गमा थुप्रिएका माटोको ढिस्कोको व्यवस्थापन गर्न पनि सम्बन्धित निकायले चासो देखाउन जरुरी छ । अतः विपी राजमार्गलाई सुरक्षीत र सफा बनाउन स्थानिय तह लगायत जिम्मेवार सबै निकायले बेलैमा ध्यान दिनुपर्छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top