जोखिमपूर्ण यात्रा हत्केलामा मुटु

भिम प्रसाद अधिकारी २०७६ साउन १२ गते आइतवार विचार

 

लेखक : भिम प्रसाद अधिकारी

 

सारांश : जीवन नितान्त एक्लो यात्रा हो । जीवनको यात्रा एक्लै पूरा गर्नुपर्छ । चाहेर पनि नचाहेर पनि जीवनको यात्रा गन्तव्यमा नपुगी रोकिँर्दैन । यात्रामा कैयन प्रतिकूलताहरुको सामना गर्नु पर्दछ । यात्रामा विश्राम हुन्छ, अवरोध हुन्छ । जीवनभर मानिस भागदौड गरिरहन्छ । जति कुदे पनि । जतिसुकै दगुरे पनि यात्रा कहिल्यै पूरा भएर टुङ्गिएको हुँदैन । वास्तवमा गतिशील जीवन भनेकै अनन्त यात्रा हो । जीवनको यात्रा निरन्तर चलिरहन्छ । निरन्तरता नै जीवन हो । कर्मको गतिशीलता नै जीवन हो । जीवनको यात्रामा चाहेर पनि कोही कसैको सहयात्री हुन सक्दैन । लक्ष्य फरक । गन्तव्य फरक । स्वार्थ फरक । विचार फरक । यही फरकपन र विविधता नै जीवन हो । समान लक्ष्य भएका मानिसहरु पनि कहिलेकाहीँ जीवनको बाटोबाट दायाँबायाँ किनारा लागेर यात्राबाट भागिदिन्छन् । जीवनको बाटोबाट पन्छिदिन्छन् । सानो मसिनो झिनो स्वार्थ मात्रले पनि सम्बन्धमा खटपट ल्याइदिन्छ । स्वार्थगत फरकपनले मानिस मानिसमा विभाजनको रेखा कोरिदिन्छ । सबै मान्छे एकै हो, फरक केही छैन । फरक हुने नैै स्वार्थ हो । स्वार्थगत सम्बन्धका कारणले नै मानिस मानिसका बीचमा असमानताको खाडल खनिन्छ । सम्बन्धहरुको अनमेल प्रभावबाट शत्रुताको भाव उत्पन्न हुन्छ । मित्रता काटिँदै जान्छ । शत्रुता झाँगिदै जान्छ । मान्छे सधैं सँगै मिलेर बस्न सक्दैन । मानिस मानिसका चाहनाहरु फरक फरक छन् । सोचइहरु फरक छन् । जीवन भोगाइका अनुभूतिहरु बिलकुल फरक छन् । जीवन के हो भन्ने बुझाइ नै फरक छ । जीवनका आकाँक्षा र अभिलाषाहरु समान छैनन् । यिनै कारणहरुबाट । यिनै असमान सम्बन्धहरुबाट मानिस मानिसबाट एक्लिन्छ र ऊ जीवनमा एक्लो यात्री भइदिन्छ । मानिस जीवनको लाचार एक्लो यात्री ।

 

सन्दर्भ :  दुई दिनअघिसम्म सडकमा धुलो उडिरहेको थियो, खेतको हिलो सुकिसकेको थियो । पानीका मूलहरु सुकिसकेका थिए । मुहानमा कलकल बग्ने पानी सुकिसकेको थियो । मानिसहरुले यहाँ खोला थियो, यहाँ खहरे थियो भन्ने चेतना गुमाइसकेका थिए । समयमा रोपाइँ गर्न पाइन्न कि भनेर किसानहरुमा वर्षाको व्यग्र प्रतिक्षा थियो । कर्मशील किसानहरुलाई वर्षाको आवश्यकता थियो ।

 

गएको चैत्रमा ठूलो पानी प¥यो । चैत्रमा ठूलो पानी प¥यो भने के हुन्छ त्यसको अनुभव हामीसँग थिएन । नेपालमा जुन जुलाइ अगस्त यी तीन महिनामा मनससुनी वायुको प्रभावले वर्षा हुने गर्दछ । मनसुनी वायु वङ्गालको खाडीबाट उत्पति हुन्छ र भारत हुँदै नेपाल प्रवेश गर्दछ । यसैलाई आधार मानेर नेपालमा खेतीपातीको तयारी गरिन्छ । नेपालको खेतीपाती मनसुनी वर्षामा आधारित छ । वर्षा भएन भने धेरै क्षेत्रमा खेती हुँदैन । खास गरी धान खेतीका लागि प्रशस्त पानीको आवश्यकता पर्दछ । पानी परेन भने धान खेती हुँदैन । खाद्यान्नमा धानको बढी महत्व छ । दालभात नेपालीको लोप्रिय खान्की हो । धानको आवश्यकता बढी भएकाले किसानहरुले पाखो बारी सम्याएर सानासाना गरा सुर्कासुर्की बनाएर धान कै खेतीगर्ने गरेका छन् । किसानले विगतको मौसमी चक्रानुसार अनुमान गरेर खेतीपातीको तयारी गर्नुपर्दछ । जलवायु परिवर्तनले मौसमी चक्रलाई तलमाथि पार्छ । यसले बहिलेकाहीँ छिट्टै वर्षा गराइदिन्छ ,कहिलेकाहीँ ढिलो वर्षा गरादिन्छ र कहिलेकाहीँ खण्डवृष्टि, अतिवृष्ट खडेरी गराइदिन्छ । प्रकृतिले जे गराउँछ त्यो मानिसले स्वीकार गर्नैपर्छ । मानिसले प्रकृतिलाई बदल्न सक्दैन । प्रकृति अनुसार मानिस आफैं बदलिनु पर्छ ।

 

भोलि सिन्धुली, सदरमुकाम जानु छ आज बिहानैदेखि झिमझिम पानी पर्न थाल्यो । जतिसुकै पानी परे पनि सदरमुकाम नगइ भएको छैन । जसरी पनि जानु छ । पाखैपाखा हिँडेर भए पनि भोलि पुग्नु पर्नेछ । भोलि नपुग्नुको विकल्प छैन । गड्याङगुडुङ चड्याङचुडुङ केही पनि छैन । शान्तसँग एकनासको पानी परेको छ । सानो मसिनो तर निरन्तर वर्षा ।

 

तयारी : झोलामा अत्यावश्यक सामान मात्रै राखेँ । पानीबाट बचाउन सामानहरुलाई प्लास्टिकमा प्याक गरेँ । झोलालाई पनि बाहिरबाट प्लास्टिकले मोरेर पानी नपस्ने बनाएँ । खाना खाएर । शरीर र मन दुवैलाई बलियो बनाएर । मानसिक रुपमा यात्राको बीचमा आइपर्ने सबै खाले प्रतिकूलता र जटिलताहरुको सामना गर्ने हिम्मत गरेर पिठ्युँमा झोला भिरेर फोल्डिङ छाता ओढेर म घरबाट बाहिर निस्किएँ । आज सिन्धुलीसम्म नै पैदल हिँड्नुपर्छ । पैदल हिँड्नुको विकल्प छैन । विगतमा हिँडेकै बाटो हो । खोलामा पुलहरु बनेका छन् । खहरेमा लच्काहरु बनेका छन् । खोलामा पसेर जँगार छाम्नु पर्दैन । खोला छलेर पाखापाखा कुद्नु पर्दैन । हिँड्दा हुन्छ । हिँड्न मात्र सक्नु पर्छ ।

 

 

एक्लो यात्री : घरबाट एक्लै निस्किएँ । साथी कोही पनि थिएनन् । थिए तर डराएर घरबाट ननिस्कने भए । मलाई त्यो रोजाइको विकल्प थिएन । म एक्लो यात्री । एक्लै सिन्धुलीसम्म हिँड्नु प¥यो । यस्तो कहिल्यै भएको थिएन । संयोगले कोही न कोही भेटिन्थ्यो । आज भेटिएन । बाटो पुरै खाली थियो । खोलाहरु बढेका थिए । यति धेरै ठूला भएका थिए कि आज तिनीहरुको घमण्ड बढेको थियो । खोलाको धाक रवाफको कुरै नगरौं । आज यी खोलाहरु ठूला भएर कसैको कुरा नसुन्ने भएका छन् । रिसले चुर भएका छन् । नजिकै गए बटारेर मिल्काइदिन्छन् । आज खोलाको शक्ति बढेको दिन हो । खोलासँग डराउनुपर्छ । ठाउँठाउँमा पहिरो गएको छ । रुखहरु ढलेका छन् । बाटो हिँड्नै नसकिने चाहिँ छैन । ग्राबेल गरेको बाटो हुनाले पानीको चाप्लाङचुप्लुङ केही पनि छैन । पहिरोबाट जोगिनु पर्छ । होसियारीका साथ हिँड्नुपर्छ । रुख ढलेर मिच्न सक्छ । दायाँबायाँ तलमाथि सबैतिर हेरेर चनाखो भएर हिँड्नुपर्छ ।

 

बाटो हो । बाटामा मानिसहरुको आवतजावत छैन भने त्यो के हो के हो । अहँ आज बाटामा कोही मानिस पनि हिँडेको छैन । बाटो सून्य छ । आज चाहिँ विप्लवले बन्द गराइदिएको भए पनि बेसै हुनेथियो । बाटोमा कहीँकहीँ गाउँलेहरु भेटिन्थे र उनीहरु भन्थे यस्तो पानीमा पनि किन हिँडेको होला । कोही कोही भन्थे जरुरी काम परेरै होला नत्र यो पानीमा कसैले पनि घर छोडदैन । मेरो भावना बुझेर मानिसहरुले बोलिदिँदा पनि मभित्रको साहस र उर्जा बढ्दै जान्थ्यो । म एक्लै तर पनि निरन्तर अघि बढिरहेँ । मलाई केही चिजले रोकेन । कति चिनेका नचिनेका मानिसहरुले भन्थे आज यतै बास बसेर भोलि गए पनि हुने । म सोच्थेँ भोलि पनि त उही कुरा हो । यो बाटो मैंले नै हिँड्नुपर्छ । वर्षा अझ बढ्न सक्छ । भोल नै यातायात सुचारु हुन्छ भन्ने ग्यारेन्टी के छ । चलिहाले पनि फस्छ । समयमा पु¥याउँदैन । मेरो लागि समयको निकै ठूलो महत्व थियो ।

 

पैदल यात्रामा बाढीपैरो खोलानालाबाहेक अन्य कुराको जोखिम हुँदैन । पैदल सुरक्षित यात्रा हो । तर पनि मानिसहरु पैदल हिँड्न डराउँछन् । वर्षातको समयमा पैदल यात्रा खतरापूर्ण हुन्छ । त्यही न हो मानिसको मन । पहिराले पुर्छ कि । खोलाले बगाउँछ कि । डरको भाव । विश्वासको अभाव । चिन्ता र पिरलो । घरबाट छिनछिनमा फोन आइरहन्छ । कहाँ पुग्नु भयो । म फोनमा बोल्दै हिँड्दै छु । म सोच्छु कि खोलाले बगाउने खोलामा पसेपछि हो । बाटामा हिँडिरहेको मानिसलाई तानेर खोलाले लाँदैन । वर्षामा गरिने जुनसुकै यात्रा पनि खतरामुक्त हुँदैन । घरमैं बसिरहे पनि खतराबाट मानिस पूरा मुक्त हुँदैन । कहिलेकाहीँ आश्रय लिइरहेको घर पनि खतरा भइदिन्छ । खतरा जहाँ पनि छ । जतिसुकै सुरक्षित हुनखोजे पनि खतराबाट मानिस बाँच्न सक्दैन । जीवन नै खतराहरुबाट गुज्रिरहेको हुन्छ । जोखिम जीवनको परीक्षा हो । जोखिम र चुनौतीहरुको सामना नगरेको मानिस संकटको बेलामा आत्तिन्छ । समस्यालाई टारेको । दुःखको सामना गरेको । जोखिम पार गरेको मानिस समस्यादेखि डराउँदैन । जीवन संघर्ष । जीवनमा समय र परिस्थिति अनुसार आइलागेका समझाहरुको समना गर्दै जानुपर्छ । मलको मुला जस्तो होइन जीवन डाँडाको रुख जस्तो हुनुपर्छ ।

 

विगतको याद : हामी पहाडमा जन्मिएका मानिस । हामीलाई हिँड्न अल्छि लाग्दैन । उकालो ओराला नै हाम्रो जीवन हो । हामीले जीवनमा धेरै उकाला ओरालाहरु पार गरेका छौं । पछिसम्म बुझ्ने भैसक्दा पनि मलाई के लाग्थ्यो भने यी मोटर गाडहिरु पहाडका लागि होइनन् । पहाडका मानिसले त हिँड्नु नै पर्छ मोटरमा चढ्ने भनेको त तराइमा मात्र हो । उकालो ओरालो मोटर हिँड्छ भन्ने विस्वास नै थिएन । हामी तिल्पुङ्गदेखि चिसापानी गोदार बन्दीपुर लालगढ वर्दीबाससम्म पैदल हिँडेका मानसि । हामी फिक्कल सिलुङ्गे हुँदै सोखु टोक्सेल मोलुङ खोखा खोदम्बा हुँदै ओखलढुङ्गासम्म पैदल हिँडेका छौं । सिन्धुली तिल्पुङ्ग त कति हिँडियो कति । पैदल बाटो हिँड्नुको पनि बेग्लै मजा थियो । सकिन्छ हिँड्नलाई । लगातार एकदुई महिना हिँडिरहे पनि सकिन्छ । नसकिने होइन ।

 

हिजोको हिँडाइ र आजको हिँडाइमा फरक छ । हिजो एक्लै नहिँड्ने साथी पर्खेर हिँड्ने गरिन्थ्यो । साथीले पनि पर्खिन्थ्यो । साथीलाई पनि पर्खिइन्थ्यो । ढिलो हुन्थ्यो तर सँगै हिँडिन्थ्यो । समूहमा हिँड्ने गरिन्थ्यो । आज कसैलाई कसैको मतलव नै छैन । जतिबेला मन लाग्छ त्यतिबेला मानिसहरु घरबाट निस्किन्छन् । यसरी नै चलेको छ ।

 

एक पटकको कुरा हो । हामी सिन्धुलीमा छौं । यस्तै ठूलो पानी प¥यो । लगातार पानी परिरहेको छ । सिन्धुली बस्ने काम सकाएको तीनचार दिन भइसकेको छ । म साथी खोज्न निस्किएँ । तीनजना गाउँले हुलाकी भेटियो यता आउने साथी । आम्बोटेका मलाई चिनेका शिक्षक र विद्यार्थी पनि हामी भीमसरसँगै जाने भनेर पछि लागे । हामी हिँडेको चाल पाएपछि एक जना सचिव र अर्का एक जना शिक्षक पनि हाम्रो पछि लागे । जम्मा १८ जनाको ग्रुप बन्यो । हामी खोला छल्दै धापचौकीको बाटो आउने भनेर सिन्धुलीबाट हिँडेका थियौं । हामीसँग सबै खालका मानिस थिए । स्वभाव अनुसार फरक फरक ग्रुप बन्यो । कोही केटी पछ्रयाउन थाले । कोही रक्सी खोज्न थाले । हामीलाई माओवादी भन्ठानेर बाटामा कसैले पनि रक्सी निकालेनछन् । मैंले हाफपेन्ट लगाएको थिएँ र दारी पालेको थिएँ । सँगै हिँडेर रक्सी खान नपाएपछि उनीहरु पछि सरेछन् र रक्सी प्यून थालेछन् । हामी पर्खँदै हिँड्दै गथ्र्यौँ । भीमस्थान आइपुगेपछि एउटा ठिटाले भन्यो धापचौकीको बाटो नजाउँ साखामाडीको जँगार फराकिलो छ त्यहीँबाट तरेर पाखैपाखा जानुपर्छ । धापचौकीको बाटो जानुपर्छ भन्ने हुलाकी पछि नै थिए । साखामाढीबाट खोला तर्न सकियो भने चकमके निस्कने डाँडाको बाटो मलाई थाहा थियो । त्यसैले हामी साखामाडी आयौं । एक जना स्थानीयलाई सोधेर खोला तर्न सकिने नसकिनेबारे जानकारी लियौं । उनले बताए अनुसार सजिलो जँगार पहिल्याएर हामी खोला त¥यौं । अब बाँचियो भन्ने भयो । भालुखोलामा पुल छ । त्यो पुल तरेपछि घर पुगिन्छ भन्ने ढुक्क भयो । डाँडामा सबै जना जम्मा भएर भोलि कोही पनि खोलाको बाटो नजाने । पुल तरेर जानु पर्छ भन्ने सल्लाह बाँधेर हामी सानोसानो ग्रुप बनाएर आ–आफ्नो सुबिधा अनुसार बास बस्ने योजना बनाउन थाल्यौं ।

 

मसँग दुई जना साथी छन् ती भन्छन् खोला तर्न सकिन्छ बेल्टार गएर बसौं । भोलि पाखापाखा हिँडिरहनु पर्दैन । राती पानी परे पनि बेल्टारबाट वारिवारि नै घर जान सकिन्छ । हामी तिनै जनाका आफन्त मान्छे पनि बेल्टारमैं थिए । खोला तर्न सके ठीकै थियो । साथीहरु पाहुना भएर मेजमान खाने लोभमा खोला तर्न तम्सिए । मलाई डर लाग्यो । किन हो किन मेरो मन कमजोर भयो । मैंले भने तिमीहरु तर अनि मलाई तार । तिमीहरुसँगै म खोलामा पस्दिन । तिमीहरु पारि पुगेर फर्किएर आएर मलाई तार्नुपर्छ । यति भनेपछि उनीहरु पनि डराए । एउटा मानिस जाल खेल्दै रहेछ । उसलाई खोला तर्न सकिन्छ कि सकिँदैन भनेर सोध्न गए । सकिँदैन बगाउँछ बास खोजेर बस भनेर त्यो मान्छेले भनेछ । यसरी त्यो जाल खेल्ने मानिसले हाम्रो ज्यान बाचाईदियो । मानिस के चाहन्छ भने अलिकति घुमाउरो बाटो नहिँडौं । छिटै पुगिहालौं सिधै जाउँ । यस्तो सोच्छ ।

 

भोलिपल्ट भालुखोलाको पुल तरेर सबैको गन्ती गर्दा तिनै धापचौकीको बाटो जानुपर्छ भन्ने तीन जना हुलाकी छैनन् । सोधखोज गर्दा एउटाले भन्यो पछिपछि आउँदै थिए । किन आइपुगेनन् त भन्दा तिनका आफन्त मान्छे छन् त्यतैतिर खानपिन गर्न लागे होलान् भन्ने अडकल गरेर हामी तीन जना तिल्पुङ्गतिर एक जना लुबूतिर र ११ जना आम्बोटेतिर गरेर आ–आफ्नो बाटो लाग्यौं । बिहान नौ बजेको थियो होला हामीले चकमके बजारमा चिया पिउँदा । रातभरि भीषण वर्षा भएकाले धोबीखोला तर्न पनि हम्मेहम्मे थियो । पहिरो गएर बाटो हिँडिसाध्य थिएन । हामीले बिहानको खाना १२ बजेतिर बाटोमा पाहुना लागेर खायौं । बाटोमा पहिरो गएकोले हामी तल खोला झरेर घुमेर माथि आयौं । मेरो घर अलि तलै थियो । दुई जना माथि गए । म घर आइपुग्दा १ बजेको थियो । गाउँभरि हल्ला छ । मानिसहरु हुलाकीलाई खोलाले बगायो पो भन्छन् । सँगै आएका मान्छे । सँगै बास बसेका मान्छे । खोलामा बगे भन्दा मैंले कैयौंदिनसम्म पनि पत्याइँन तर हुलाकीहरु बगेको खबर सत्य नै थियो । आजभोलि जस्तो मोबाइल फोन हुँदो हो त ती हुलाकी छोडिने पनि थिएनन् खोलामा बग्ने पनि थिएनन् । भएछ के भने हामी अघि लागिहाल्यौं । तिनीहरु रक्सी प्यूँदै रहेछन् । बास बसेकै ठाउँमा छोडिएछन् । हामी डाँडातिर लाग्यौं । रक्सी पिएपछि तिनीहरुको हिम्मत बढेछ । भीम सर चकमके पुग्दा त हामी घर पुगिसक्छौं भनेर जोसिएर सिधै खोलामा पस्ने भएछन् । तिनीहरु तीन जना थिए । एउटा वारि नै बसेछ । दुई जना खोलामा पसेछन् । खोला निकै बलियो, ठूलो र गहिरो थियो । हुलाकीहरु बगिहाले । सायद तिनीहरु जँगार छाम्न खोलामा पसेका थिए । तीन जनामा एउटा सकुशल हुनाले हुलाकीलाई खोलाले बगाएको खबर छिट्टै फैलियो । यो घटना सम्झँदा मलाई सधैं पछुतो भइरहन्छ । हाम्रा कारणले ती हुलाकी खोलामा बगे होइन भने ती धापचौकी कै बाटो जाने थिए । खोला नै नभएपछि ती कसरी बग्थे । कहिले काहीँ निर्णय बदल्दा पनि दुर्घटना हुँदो रहे छ । वास्तवमा हामीले धापचौकीको बाटो जाने निर्णय बदल्नु नै उचित थिएन ।

 

आयु र वायु काल र ज्यान : जबरजस्ती खोलामा पस्न खोज्ने युवकलाई जालखेन्ने मानिसले सतर्क गराइदियो र तिनीहरुको ज्यान जोगियो । तिनीहरुले बाँच्नु थियो त्यसैले तिनीहरु बाँचे । खोलाहरु छल्दै अनेक बास बस्दै होसियारीसाथ यात्रा गरिरहेका हुलाकीले त्यो दिन खोलालाई नै सानो देखे र तरिराखेको जँगार हो तरिन्छ भनेर मनले जितेर खोलामा पसे र बगेर मरे । तिनीहरुलाई कालले लानु नै थियो । त्यसरी नै लानु थियो । लग्यो । मानिसले बाँच्छु भनेर पनि बाँच्न पाउँदैन मर्छु भनेर पनि मर्न पाउँदैन । आयु छउञ्जेल वायुको केही लाग्दैन । आयु सकिएपछि काल आउँन वायु चाहिँदैन । काल सजिलैसँग आउँछ । जीवन नियमित आकस्मिकता हो । अनेक घटनाहरु घट्छन् । तिनको कुनै नियम हुँदैन । लापरवाही गरेर पनि मानिस जोगिन्छ । होसियारी अपनाएर पनि मानिस जोगिदैन । यो जीवनको नियमित आकस्मिकता हो । यो सबै संयोग हो । नियम होइन ।

 

वर्षाको यात्रा जोखमको तीव्रता : वर्षाको समय यात्राको लागि कहिल्यै अनुकूल हुँदैन । जरुरी नै नभई मानिस वर्षामा यात्रा गर्दैन । यात्रामा निस्कने । घुमफिर गर्ने । तीर्थ गर्ने । अनुकूल समयमा हो । वर्षा खेती गर्ने समय हो । खेती नहुनेले जेजे पेशा जेजे व्यवसाय छ त्यहीत्यही पेशा व्यवसाय गरेर बसे राम्रो । वर्षामा हिँडडुल गर्ने योजना कसैले कहिल्यै नबनाओस् पनि । जुनसुकै यातायातका साधनको प्रयोग गरे पनि वर्षाको यात्रा जोखिमयुक्त नै हुन्छ । प्लेनमा पनि । ट्रेनमा पनि । मोटरमा पनि । पैदलै पनि । सबैमा आ–आफ्नै प्रकारको जोखिम हुन्छ । जोखिम नउठाइकन एक पाएलो पनि अघि बढ्न सकिँदैन । जीवनमा पाइलैपिच्छे जोखिम नै जोखिम छ । जीवन नै जोखिमको यात्रा हो ।

 

जताततै पहरा नै पहिरो : सडकको छेउ तल खसेको छ । माथिबाट पनि छोपेको छ । चकमके तिल्पुङ्ग खण्डमा धेरै स्थानमा पहिरो गएको छ । यहाँ बाटो थियो कि थिएन भनेर सोच्नुपर्ने स्थिति छ । मोटर त के भैंसी हिँडाउन नमिल्ने गरी पहिरो गएको छ । सडकलाई धेरै जसो स्थानमा माथिबाट पहिरो आएर छोपेको छ । चकमके साखामाडी खण्ड त्यति बिग्रिएको छैन । अलिअलि पहिरो गएको छ । रुखहरु ढलेका छन् । सामान्य मर्मत सुधारबाट यातायात सुचारु गर्न सकिन्छ । साखामाडी भीमस्थान खण्ड घाम लाग्नासाथ यातायात सुचारु हुन्छ र वर्षा हुनासाथ यातायात रोकिन्छ । सडक ग्राबेल नगरेको हुनाले हिलामा गाडी फस्छ । हिलोको सामना गरेर चलाइदिए गाडी दुखले चल्छ । भीमस्थान तीनतले सहरे जरायोटार थरहरी रामपुर सबैतिर सामान्य बाटोमा क्षति पुगेको छ तर त्यो धेरै होइन । वर्षाको पहिरोले सडकलाई सबैतिर खराब बनाएको छ ।

 

निष्कर्ष : पानी पर्‍यो । बाढी आयो । सडक भत्कियो । पहिरो आयो । बाटो पुरियो । रुख ढले । सडक अवरुद्ध भयो । वर्षाको समय हो । यो सबै भइ नै हाल्छ । हिजो यहाँ सडक नै थिएन । खोलामा पुल नै थिएन । बुटा समातेर पाखापाखा हिँड्नु पथ्र्यो । आज वर्षाले अलि कति बिगारेको छ । पुलहरु छँदै छन् । लच्काहरु छँदै छन् । गाउँमै सरकार छ । सिंहदरबारको अधिकार गाउँमा नै आएको छ । पैसा छ । स्रोतसाधन निर्णय गर्ने अधिकार सबै गाउँमा नै छ । वर्षा कम हुन थालेपछि बाटो मर्मत गर्न थालिहाल्नु पर्छ । यो कुनै नसकिने त्यति ठूलो काम होइन । सकिहालिन्छ नि यति काम गर्न त । सजिलैसँग सकिन्छ । सबै एकजुट हुनुपर्छ ।

 

पानी धेर भयो भन्नु पनि ठीक होइन । पानी आफ्नै बाटो हिँडेको छ । मानिसले प्रकृति के हो भन्ने नबुझ्दा । गर्नै नहुने काम गर्दा धेरथोर विपत्तिको सामना गर्नु परेको हो । कतै बुद्धि नपुगेर । कतै बुद्धि धेरै लगाएर । दुःख मानिसले यसरी पाएको हो । चुरे संरक्षण गर्ने नाममा चुरेबाट गिटी बवालुवा झिक्नै नदिएपछि खोला पुरिँदै जान्छ र वर्षामा पानीको सतह माथि आउँछ । तराई यसरी डुब्यो । पहाडमा जथाभावी मिसिन लगाएर जमिन सम्याउने भएर पहिरो गयो । जमिनको अवस्था विचारै नगरी घर बनाउने । भौतिक संरचनाहरुको निमार्ण गर्दा भू– संरचनाको अध्ययन नगर्ने । खोलाको छेउमा जाली लगाएर घर बनाउने । जोखिमको ख्याल नगर्ने । जोखिमको पूर्वानुमान नगर्ने । जे मन लाग्यो त्यही गर्ने । प्रकृति आफ्ना ठाउँमा ठीक छ । मानिसले प्राकृतिक सम्पदाको प्रयोग गर्दा आइपर्न सक्ने जोखिमको पूर्वानुमान गरेर मात्र विकासका योजना सञ्चालन गर्ने र प्रकृति प्रतिकूल नहुने गरी भौतिक संरचनाको निमार्ण गर्ने हो भने बाढीपैरो आइरहन्छ हाम्रो जीवन पूर्ववत सामान्य रुपमा चलिरहन्छ । प्रकृतिले दिएर नै मानिसले पाएको हो । प्रकृतिभन्दामाथि मानिस छैन । जीवन नै प्रकृति हो । एक पटक प्रकृतिर्पm फर्किएर हेर्ने बेला आइसकेको छ । प्रकृतितर्फ फर्केर हेरौं । खोलामा दङदङ बाढी आइरहेको छ । म खोलाको किनारै किनार यताउता हेर्दै हिँड्दैछु । मेरो गन्तब्य सिन्धुलीसम्मको हो । हत्केलामा मुटु बोकेर म जीवनकै जोखिमपूर्ण यात्रामा छु । म एक्लै छु र यो यात्रा मैंले एक्लै पूरा गर्नुपर्छ ।

 

सफल नेपाल साप्ताहिक साउन ९ गतेको अंकबाट

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top