सत्तारुढ नेकपा विभाजित हुने ऐंठनमा छ ?

विनोद ढकाल २०७६ साउन ११ गते शनिवार टिप्पणी

 

(खासगरी गोयलले प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको विषयबारे सम्बन्धित सचिवालय वा पार्टी बोलेको छैन । देउवाको भेटका विषयमा पनि कांग्रेसले कुनै प्रतिक्रिया दिएको छैन, त्यसैले यो अर्थपूर्ण छ । स्मरण होस्, भारतविरोधी बनेका कारण नै ओलीको अघिल्लो कार्यकालमा अपदस्त हुनुको कारण अहिलेकै भारतीय संस्थापन थियो, जसले प्रचण्ड–देउवा समिकरणमा मद्दत गरेको चर्चा चल्यो )

 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कालको दुई बर्ष नजिकिँदै गर्दा सत्तारुढ पार्टीभित्रका विवाद, सरकारप्रतिको असन्तुष्टि र भारतीय कुटनीतिक चलखेलले नयाँ संशय पैदा गरेको छ ।

 

नेपालको संवैधानिक व्यवस्था, विगत केही महिनादेखि सत्तारुढ पार्टीभित्रको आन्तरिक वैमनश्यता, सत्ता आलोपालोको चर्चा, विप्लव नेकपाको आन्दोलन, भारतीय कुटनीतिक तथा सुरक्षा मामिला प्रमूखलगायतको ‘नेपाल चलखेल’ यसैका संकेत हुन सक्छन् ।

 

एकातिर एकीकरणको अन्तिम विन्दुमा पुगिरहेका बेला सत्तारुढ नेकपाका अध्यक्ष मध्येका एक जना पुष्पकमल दाहाल प्रचण्डको विगत ६ महिनायताका वक्तव्य र भाषणले पनि उक्त संकेतलाई बल पुर्याउँदै एउटा प्रश्न उब्जाएको छ– के सत्तारुढ पार्टी विभाजित हुने ऐंठनमा छ ?

 

प्रचण्डले बेलामौका ठाउँ–कुठाउँमा भन्ने गरेका छन्,‘नेकपाको एकता भाँड्नका लागि अनेक प्रकारका चालबाजी भइरहेका छन्, मलाई प्रधानमन्त्रीसम्मको प्रस्ताव आयो । देशी विदेशी चलखेल भइरहेको छ ।

 

तर उनका बयानबाजीमा स्पष्टता छैन भने उनको भूमिकालाई पनि शंकाको दृष्टिले हेर्न सकिने ‘ग्याप’ छाडेका छन् । नेपालको आन्तरिक राजनीतिमा तिव्र हस्तक्षेपकारी नीति अख्तियार गरेको भारतीय प्रशासन र त्यसका कुटनीतिज्ञसँगका भेटका विषयमा प्रचण्डलाई शंकाको घेरामा राखेर हेर्न सकिने आधार छ ।

 

पूर्वविदेशमन्त्री श्यामशरणसँग भेट भएको भनी दाबी गरिएको थियो, जसको प्रचण्ड सचिवालयले खण्डन गरे पनि नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्था रअका प्रमूख सामन्तकुमार गोयलसँगको भेटबारे केही प्रतिक्रिया दिइएको छैन ।

 

गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेको दाबी गरिएको थियो । तर, त्यसको सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले औपचारिक रुपमा नै खण्डन गरिदिए । र, उनले प्रचण्डतिर संकेत गर्दै प्रतिक्रिया दिएका थिए,‘जस–जसलाई भेट्ने बानी परेको छ, उसैले भेट्यो होला ।’

 

स्रोतका अनुसार भारतीय संस्थापनलगायत विदेशीले सरकार प्रमूखबाट ओलीलाई हटाउन तिव्र चलखेल गरिरहेको उनको सचिवालय स्रोतले जनाएको छ । सल्लाहकार मध्येका विदेश मामिला हेर्ने डा. राजन भट्टराईले ‘विदेशीसँग मिलेर डरलाग्दो गरी खेल खेलेको’ संकेतसहितको जानकारी सामाजिक सञ्जालमा राख्नु पनि अर्थपूर्ण थियो ।

 

यसबीच भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरसँग लामो भेट गर्नु, त्यसअघि नेपाल मामलामा बोलेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको पनि लामो कुराकानी नेपालमा चलिरहेको राजनीतिक विषयसँग जोडिन सक्छ । कतिपयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विषयलाई लिएर उक्त भेट भएको बताइए पनि यसको अर्थ नेपालको सत्तारुढ पार्टीको भविष्यसँग जोडेका छन् ।
विभाजनको ऐंठन !

 

सत्तारुढ पार्टी अथवा गठबन्धनबाट निर्वाचित प्रधानमन्त्रीलाई न्युनतम दुई बर्षसम्म हटाउन नसक्ने संवैधानिक प्रावधान छ । त्यसबेलासम्म कुनै पनि दल विभाजित हुन सक्दैन र विभाजनका लागि ४० प्रतिशतको भागवन्डा अनिवार्य रहने प्रावधान संविधानमा छ ।

 

विदेशी दबाब वा पार्टीभित्रका आफ्ना गुटको दबाबका आधारमा पनि उक्त प्रतिशत पुर्याउनुपर्ने ऐंठनमा नेकपाको दोस्रो पक्ष रहेको हुनसक्छ । त्यसैले उसले विभिन्न विषयमा पहिलो पक्षसँग विभिन्न पद र विभागमा अहिले बार्गेनिङ गरिरहेको ठानिएको छ ।

 

खासगरी विभागका विषयमा देखिएको अहिलेको किचलो पनि यसैको एउटा कारण हुन सक्ने बताइएको छ । जबकि, वितरण भइसकेको विभागमा किन दाबी विरोध हुन्थ्यो ? नेकपा उच्च स्रोतले भन्यो,‘अहिले फुटाउँछु भन्दा फुटाउन सक्ने अवस्था छैन । नफुटाउँ भन्दा विदेशी दबाब रहेको देखिन्छ । यहि ऐंठनमा नेकपाको नेतृत्व रहेको बुझिन्छ ।’

 

यसका पनि प्रारम्भिक संकेत अध्यक्षद्वय ओली र प्रचण्डका विभिन्न बेलाका विवादीत विषयबस्तुले दिएकै थियो । स्विट्जरल्यान्डको भ्रमण, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथका बेला यता प्रचण्डले जारी गरेको विज्ञप्ति र दिएको अभिव्यक्ति त्यसका प्रमाण हुन सक्छन् । उनले अमेरिकाविरुद्ध भेनेजुएला प्रकरणमा कडा विज्ञप्ति जारी गर्नु र ओलीसँग सत्ता आलोपालोको सहमति भएको भन्ने विषय बेमौसममा भनेको भन्दै ओली रुष्ट बनेका थिए, कडा प्रतिक्रिया दिएका थिए ।

 

अर्कोचाहिँ, नेकपाको सैद्धान्तिक लाइन के हुने भन्ने विषयको विवाद पनि नेकपाभित्र विभाजनका निम्ति ‘आगो’ बन्न सक्ने देखिएको कतिपयले बताएका छन् । यहि विषयमा ओली र प्रचण्डको प्रस्ट कित्ता छुट्टिएको छ । यीनै विषयमा नेकपाको विभाजन देख्नेहरूको सक्रियता बढेको बताउँदै उच्च स्रोतले भन्यो,‘ओली–प्रचण्डबीचको फाटो ल्याउन अब धेरै समय छैन ।’

 

अबको ६ महिनाभित्र राजनीतिक दलको जस्तोसुकै अवस्था पनि आउनसक्ने भएकाले नेकपा त्यसै ऐंठनबाट गुज्रिरहेको देखिने अन्य आधारचाहिँ पूर्वमन्त्री जेपी गुप्ताको एउटा ट्वीटले पनि प्रष्ट बनाएको थियो । उनले नेपालमा माधव नेपालको प्रधानमन्त्री नियुक्ति, प्रचण्डको पहिलो कार्यकालको सत्ता बहिर्गमन, झलनाथ खनालको सत्ता बहिर्गमन, बाबुराम भट्टराईको प्रधानमन्त्रीत्व, संविधानसभा विघटन, खिलराजको आगमन र मधेस राजनीतिको शक्ति तत्कालिन मधेसी जनाधिकार फोरमको विभाजनसम्म भारतीय गुप्तचर संस्था रअको हात रहेको संकेत गरेका छन् ।

 

उनको संकेत गोयलको गोप्य भेटपछि आउनु अर्थपूर्ण छ । खासगरी गोयलले प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको विषयबारे सम्बन्धित सचिवालय वा पार्टी बोलेको छैन । देउवाको भेटका विषयमा पनि कांग्रेसले कुनै प्रतिक्रिया दिएको छैन, त्यसैले यो अर्थपूर्ण छ । स्मरण होस्, भारतविरोधी बनेका कारण नै ओलीको अघिल्लो कार्यकालमा अपदस्त हुनुको कारण अहिलेकै भारतीय संस्थापन थियो, जसले प्रचण्ड–देउवा समिकरणमा मद्दत गरेको चर्चा चल्यो ।

 

अहिलेका राजनीतिक दाउपेच र विभिन्न चलखेलको अन्तिम विन्दु बलियो भएको नेकपा र दुईतिहाई बहुमतको सरकारलाई कमजोर बनाउने ऐंठनमा नै अल्झिएको अनुमान सर्वत्र छ ।दैनिक नेपाल वाट

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top