नेपालको कुवेतमाथि सानदार जित

सिन्धुली साैगात संवाददाता २०७६ साउन ११ गते शनिवार काठमाडौं

 

नेपालले विश्व ट्वान्टी–२० एसिया छनोटमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यससँगैं नेपालको ग्लोबल छनोटमा पुग्ने आशा पनि यथावत नै रहेको छ । कप्तान पारस खड्काले चोटलाई पन्छाउदैं पुनरागमन गरी सानदार इनिङ्स खेल्दै नेपाललाई विजय दिलाएका हुन् ।

 

सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । नेपालको ३ खेलमा ४ अंक छ । सिंगापुर ३ खेलमा ५ अंक बोकी शीर्ष स्थानमा छ । नेपालले आइतबार सिंगापुरसँगैं खेल्ने छ । यो खेलमा जित्ने टोली ग्लोबल क्वालिफायरमा पुग्ने छ ।

 

पाँच राष्ट्र सहभागि प्रतियोगिताको विजेता राष्ट्र अक्टोबर–नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा पुग्ने प्रावधान छ । कमजोर मानिएको कतारसँग पहिलो खेलमा ४ विकेटले पराजित भएपछि सिंगापुरमा भइरहेको विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपालको स्थिति अप्ठयारो बनेको थियो ।

 

पारसले ४२ बलमा ६८ रन बनाएपछि नेपालले १५.५ ओभरमै लक्ष्य पुरा गर्यो । उनले कुल ११ चौका र १ छक्का प्रहार गरे । पारसले ३२ बलमै अर्धशतक पुरा गरे । नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले स्तब्ध हुदा पारसले ब्याटिङ गरेपछि ढाडको समस्याका कारण मैदानमा आउन सकेका थिएनन र उनले मलेसियासँगको खेल पनि गुमाएका थिए ।

 

ओपनर ज्ञानेन्द्र मल्ल १३ बलमा २ चौका र १ छक्का प्रहार गरी १९ रनमा कासिफको बलमा आउट भए । कासिफले दीपेन्द्रसिंह ऐरीको पनि विकेट लिए । दीपेन्द्रले १ रनमात्र बनाउन सके । शरद भेषावकर ३० बलमा ४ चौका र १ छक्का प्रहार गरी ३८ र रोहित पौडेल ६ रन बनाई अविजित रहे ।

 

इन्डियन एसोसिएसन मैदानमा यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४१ रन बनायो । मध्यक्रममा ब्याटिङ गरेका कप्तान मोहम्मद कासिफ ४९ रन बनाई अविजित रहे । उनले ३६ बल खेली २ चौका र ४ छक्का प्रहार गरे । उनले इनिङ्सको दोस्रो अन्तिम ओभरमा करण केसीलाई २ र अन्तिम ओभरमा अविनाश बोहरालाई एक छक्का प्रहार गरेका थिए ।

 

त्यस्तै एडनान इद्रिजले २५, एमएनएम अस्लामले २३ र आर सान्दारुवानले १५ रन बनाए । नेपालबाट स्पिनरद्धय वसन्त रेग्मी र सन्दीप लामिछानेले ३,३ विकेट लिए । वसन्तले ४ ओभरमा २० र सन्दीपले ४ ओभरमा २३ रन खर्चे । करणले ४ ओभरमा ४० रन खर्चेर २ र अविनाशले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top