बाख्रा पाले, बिदेश जाने सोच मनबाट सधैको लागि फाले : बम्जन

सरला सुनुवार २०७६ साउन ११ गते शनिवार सिन्धुली

 

 

प्रेम बम्जन मिलनसार सबैसंग हाँसेर मिठो बोल्ने युवा तन्नेरी । कमलामाई नगरपालिका २ खोल्माडाँडाँ उनको घर । सिन्धुली सदरमुकाम बाट नजिकै रहे पनि भौगोलिक बनावटको कारण खोल्माडाँडाँ अतिनै दुर्गम मानिन्छ । प्रेमको रुचि र रहरको बिषय समाज सेवा,आफु जस्तै युवा साथिहरुको संग मिलेर गाउँको विकास र समुदाय परिबर्तनको लागि जे गर्न पनि तयार । समाज सेवामा उनले आफ्नो उर्जनशील युवा समयको एक भाग खर्चिएका छन् ।

 

एक समय गाउँमा बिदेश जानेहरुको लहर चल्यो । आफुसंगका साथिहरु सबै बिदेशिए, म पनि अलग रहन सकिन । बिदेशमा पैसा कुम्ल्याने सोचेर कुबेत तिर लागेको सुनाए । २०६५ सालमा कुबेत गएका प्रेमले बिदेशमा सोचे जस्तो कमाई गर्न सकेनन् । गाडी चलाउने काम भनेर कुबेत पुगेका प्रेमले थोरै पारिश्रमिकमा धेरै मेहनत गर्नु पर्‍यो । कुबेतमा स्कुल बस चलाउने काम गरेका प्रेमले जम्मा नेपालको ३० हजार कमाउथे । त्यहि पैसा पनि पुरै पाएनन् । १२ घन्टा भन्दा माथि जति समय , २४ घन्टा काम भन्दा पनि फरक नपर्ने, बिदेशको काम गर्ने तौल तरिका र खटाईले अन्तत प्रेमलाई २ बर्ष पछि नेपाल आउन बाध्य बनायो ।

 

२ बर्ष पछि नेपाल आएका प्रेमले बिदेशलाई सधैको लागि उतै छोडेर आए । प्रेम अहिले कुबेतको बसाईलाई सम्झन पनि चाहादैनन् । नेपाल आए पछि प्रेमले उहि पुरानो दैनिकी सुरु गरे । आफु जस्तै युवा साथिहरुसंग गाउँमा भेटघाट गर्ने,समाज सेवालाई फेरी निरन्तरता दिए । तर बिदेशी बसाईले प्रेमलाई यो पटक भने आफ्नै गाउँमै केहि गर्ने आट, जोस जाँगर र हौसाला थपिदिएको थियो ।

 

बिदेशबाट आएपछि प्रेमले गाउँमै बसेर बाख्रा पालन गर्ने सोचे । युवा साथिहरु संग छलफल गरेर प्रेमले सामुहिक रुपमा पैसा जम्मा गरेर २०७१ साल जेष्ठमा १८ लाखको लगानीमा खोल्माडाँडाँमा बाख्रा पालन फर्म नामाकरण गरि दर्ता नै गराएर बाख्रा पालन सुरु गरे । प्रेमले गाउँमै बाख्रा पालन गर्न लागेको कुरा एकान दोकान हुदै सबै तिर हल्ला भयो । प्रेमले आफ्नो युवा साथि, चिनेजानेका आफन्त सबै संग सल्लाह पनि लिए । ब्यबसायीक रुपमा बाख्रा पालन गर्न एकातिर प्रेमलाई चुनौति थियो भने ,अर्को तिर बिदेशिबसाईको पीडालाई मलम लगाउनु थियो । बाख्रा पालन गर्ने प्रेरणा त प्रेमलाई बिदेशि बसाईले नै दिएको थियो । त्यो संगै अन्य सबै साथि आफन्त चिनेजानेकाहरुले पनि सर्मथन गरे । सिन्धुली उद्योग बाणिज्य संघले बाख्रा पालन सम्बन्धी १८ दिनको तालिममा प्रेमको नाम सिफारिस गरे पछि बाख्रा पालन सम्बन्धी तालिम लिने अबसर मिल्यो प्रेमलाई । तालिम पश्चात सिटिभिटी बाट आधिकारीक रुपमा बाख्रा पालन सम्बन्धी प्रमाण पत्र पनि पाए । यी नै प्रेरणा प्रेमको लागि बाख्रापालन ब्यबसाय गर्ने हौसल्ला र प्रेरणाको स्रोत बन्यो ।

 

३५ ओटा बाख्राबाट बाख्रापालन ब्यबसाय सुरु गरेका प्रेमले सय देखि २ सय सम्म बाख्रा बनाए । गाउँमै पाँच सात जना युवाहरुले रोजगारी पनि पाए । २०७२ सालको भूकम्पमा परेर पाँच सात ओटा बाख्रा पनि मरे । बिनाशकारी भूकम्पले बाख्राको खोर पनि भत्किन पुग्यो, तर हार मानिन मैले भन्छन् प्रेम । उन्नत जातको राम्रो बोकाको उत्पादन गर्दा किलोको हजार देखि १२ सय सम्म बिक्रि वितरण हुन थाल्यो राम्रै आम्दानी हुदै गएपछि झनै आफुलाई हौसल्ला मिलेको सुनाए ।

 

उनले भने बार्षिक रुपमा ३ लाख भन्दा माथि नै आम्दानी गर्दै आएको छु । यो बर्ष प्रेमले प्रदेश सरकार बाट बाख्रा पालनको लागि ३० लाख बजेट पाएका छन् । त्यस बाट प्राप्त भएको बजेटले बाख्रा पालन ब्यबसायलाई अझ फराकिलो बनाउन सुरु गरेका छन् । अन्य युवाहरुलाई थप रोजगारी पनि मिल्नेछ । भुगोलको हिसाबले जंगल नजिक छ । चरिचरण र घाँसको लागि गाउँमा समस्या छैन । सामान्य रोगलाग्दा त्यसको उपचारको लागि पशुडाक्टरको सल्लाह लिन्छन् । प्रेमलाई अहिले सन्तुष्टि संगै खुसि पनि मिलेको छ । घर परिवार गाउँकै युवा साथिहरु संग मिलेर गाउँमै बसेर बाख्रा पालन ब्यबसाय गर्दा आनन्द लागेको सुनाए ।

 

प्रेम भन्छन् गर्नेहरुको लागि नेपालमा के छैन ? अबसर रोजगारी र सम्भाबना सबै छ । स्बदेशमा नै बसेर राम्रो रोजगारी गर्न सकिन्छ भन्ने उदाहरणको पात्र म र अन्य युवाहरु पनि छन् । जसलाई बिदेशि बसाईको हन्डरले स्बदेशमा बसेर कमाई गर्न प्रेरणा प्रदान गरेको छ । उनि भन्छन्, सकिन्छ आफ्नै ठाउँमा बसेर अबसर र सम्भाबनाको खोजी गरौँ ।।
 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top