सुन बैंकमा धितो राखेर ऋण झिक्दा उल्टै ब्याज पाइने

सिन्धुली साैगात संवाददाता २०७६ साउन ९ गते बिहीवार काठमाडौं

 

धितो राखेर ऋण झिक्न मात्र पाइँदै आएको सुनबाट उल्टै ब्याज पाइने ब्यवस्था राष्ट्र बैंकले गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत गरेको घोषणालाई राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिमा समेट्दै सुन बैंकमा राख्दा उल्टै ब्याज पाउने ब्यवस्था गरेका छन् ।

 

यद्यपी यो घोषणा कार्यान्वयन भने राष्ट्र बैंकले कार्यविधि बनाएर गर्छ । चार बर्षअघि यस्तो स्किम भारत सरकारले सुरु गरेको थियो ।

 

भारतीय अध्ययन अनुसार, ब्याज आर्जन गर्ने गरी सुन राख्दा खेरी बैंकहरुको निक्षेप परिचालनमा सुधार भएको छ । ठ्याक्कै त्यही मोडेलमा अर्थमन्त्री खतिवडाले सुन बैंकमा जम्मा गरेर ब्याज आर्जन गर्न सकिने ब्यवस्था गरेका थिए ।

 

सुनलाई निक्षेपका रुपमा प्रयोग गर्दा बजारमा तरलता प्रवाह बढ्ने छ । सर्वसाधारणसँग घरमै रहेको सुनलाई बजारमा ‘सर्कुलेट’ गरेर त्यसको ‘भ्यालु’ लाई अनलक गरिने छ । यसो हुँदा सर्वसाधारणसँग के कति सुन छ भन्ने अनुमान गर्न पनि सहज हुने छ ।

 

सुनलाई निक्षेपका रुपमा परिचालन गरेर तरलता प्रवाह गर्नुका साथै घर तथा विभिन्न ब्यवसायिक संस्थासँग रहेको ‘होल्डिङ’ लाई प्रयोग गर्ने र आयातलाई निरुत्साहित गर्न पनि यो स्किमको उद्देश्य हो । सर्वसाधारणले मात्र होइन मन्दिर, ट्रस्ट, सुन पसललगायतले पनि यो स्किमको फाइदा लिन सक्ने गरी कार्यविधि तयार गरिने छ ।

 

ग्राहकले जुनसुकै रुपमा रहेको सुन पनि निक्षेपका रुपमा राख्न सक्छ । काँचो सुन वा गहना दुबै निक्षेप राख्न सकिने छ । ब्याज दर भने बैंकहरुले आँफैले तय गर्ने छन् । बचत वा मुद्दति कुन रुपमा सुनलाई निक्षेपमा राख्ने बारे भने मौद्रिक नीतिपछि निर्देशिका तयार पार्दा निर्णय लिइने छ ।

 

सुन जम्मा गर्नुअघि यसको शुद्धताको जाँच हुने छ । यसका लागि बैंककै सुन जाँचकी वा कुनै स्वतन्त्र निकाय बनाउने भन्ने बारे पनि त्यसबेलै छलफल हुने छ । स्रोतहरुका अनुसार चालु बर्षको अन्त्यसम्ममा यो स्किम कार्यान्वयनमा आउन सक्छ ।

 

सुन जम्मा गर्दा ग्राहकले ‘नो योर कस्टमर्स’ फारम अन्य निक्षेप खाताजस्तै गरी भर्नु पर्ने छ । साथै सुनको बास्तविक ‘भार’ पत्ता लगाउन त्यसलाई गलाउन पनि सकिन्छ । ग्राहकले सुन राखेपछि त्यो फिर्ता सुनकै रुपमा वा त्यस बराबरको नगदका रुपमा पनि लिन पाउने छन् । यस बारेमा निर्देशिकाले प्रष्टता दिने छ । न्युनतम कति सुन जम्मा गर्नु पर्ने भन्ने बारे पनि निदेशिकाले बोल्ने छ ।

 

मौद्रिक नीतिको नयाँ स्किमबाट बैंकरहरु उत्साहित भएका छन् । “यो नेपालका लागि नौलो प्रयोग हो । यसबाट बजारमा तरलता प्रवाह गर्न खोजिएको देखिन्छ” बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने, “कुन रुपमा कसरी आउने भन्ने बारेमा राष्ट्र बैंकले आवश्यक निर्णय गर्ला ।”

 

सुनलाई निक्षेपका रुपमा स्वीकार्दा बैंकहरुलाई ऋण लगानी गर्न पनि सहज हुन्छ । मानौं १ लाख रुपैयाँको सुन निक्षेपका रुपमा स्वीकार गर्दा बैंकहरुले त्यस बराबर ८० हजार रुपैयाँ ऋण लगानी गर्न पाउँछन् । “सुनलाई निक्षेपका रुपमा स्वीकारेपछि कर्जा–पूँजी–निक्षेप अनुपात, अनिवार्य तरलता अनुपातलगायत प्राविधिक बाटोमा छलफल गर्न आवश्यक छ” ती अधिकारीले भने, “हामी अन्तर्राष्ट्रिय अभ्यास, जोखिमलाई हेरेर आवश्यक निर्णय गर्नेछौ।”

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top