नेकपामा स्कुल विभागले ‘तनाब’

सिन्धुली साैगात संवाददाता २०७६ साउन ९ गते बिहीवार काठमाडौं

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि स्थगित भएको छ । विभागहरुको नेतृत्वको विषयमा गृहकार्य पूरा नभएको र नरबहादुर कर्मचार्यको स्मृति दिवस कार्यक्रम पनि भएकाले बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

नेकपामा विभागहरुको नेतृत्वको विषयमा कुरा मिल्न सकेको छैन । अन्य विभागहरुको विषयमा खासै असमझदारी बाहिर नआए पनि स्कुल विभागको विषयमा भने प्रष्ट दुई धार देखिएका छन् । पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेलले यो विभागको नेतृत्वको लागि दाबी गरिरहेका छन् ।

 

पोखरेललाई पूर्व माओवादी केन्द्रले रुचाएका छैनन् । विकल्पमा उनीहरुले प्रवक्ता श्रेष्ठको नाम अघि सारिरहेका छन् । पूर्वएमालेबाट पछिल्लो समय घनश्याम भुसाल र वेदुराम भुसालले पनि स्कुल विभागमा दाबी गरिरहेका छन् ।

 

यस्तै, नेता झलनाथ खनालको नाम पनि स्कुल विभागको चर्चामा आएको छ । असार ३१ मै शीर्ष नेताबीच विभागहरुको भागबण्डा मिलेको बताइए पनि नेतृत्वको विषयमा कुरा नमिल्दा नेकपामा पछिल्लो सकस देखिएको हो ।

 

साउन ५ गते बसेको सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोकेको थियो । सोही बैठकले विभागहरुको नेतृत्व पनि टुंग्याउने बताइए पनि ७ गतेका लागि बैठक स्थगित गरिएको थियो । तर, ७ गतेको बैठक पनि बस्न सकेन ।

 

नेकपाका ३२ केन्द्रीय विभाग छन् । जसमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ विभागको नेतृत्व गर्ने समझदारी भएको छ । पूर्वएमालेले विदेश विभागमा माधवकुमार नेपाल र संगठन विभागमा वामदेव गौतमको नेतृत्व हुने टुंग्याइसकेको छ ।

 

स्कुल विभागमा विवाद बढ्दै गएपछि अध्यक्षले नै राख्ने कि भन्ने विषयमा पनि छलफल सुरु भएको बताइएको छ । यसअघि अध्यक्षद्वय र महासचिवले कुनै पनि विभागको नेतृत्व नलिने सहमति भएको थियो ।

 

तत्कालीन एमालेमा अध्यक्ष ओलीले स्कुल विभाग आफै राखेका थिए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top