आशंका र षड्यन्त्रको घेराभित्र विप्लवीसँग सरकारको बार्ता

बिनोद दाहाल २०७६ साउन ५ गते आइतवार बिचार

 

लेखक

 

यतिखेर विप्लव नेतृत्वको नेकपासँग सरकारको वार्ताको हल्ला चलेको छ । केही विप्लवका पार्टीका मान्छेहरुका कुरा बाहिर आए भने सरकारका तर्फबाट केही नेता र सञ्चारमन्त्री आफैं आधिकारिक धारणा पोख्दै आइरहेका छन् । सरकारबाहिर बसेर क्रान्ति कसरि सम्भव छ भन्दै बनेका केही अरु पार्टीहरु पनि छन् । उनीहरु सायद राज्यलाई समस्याको रुपमा रहेका छैनन् किनकि उनीहरुका गतिबिधिहरु राज्यलाई अहिलेसम्म बिझेका छैनन् । आहुती, गोपाल किरातीको नेतृत्वका छुट्टाछुट्टै पार्टीहरु र डा. ऋषिराज बरालको नेतृत्वको केन्द्रीय न्युक्लियस सत्ता बाहिर बसेर क्रान्तिको बहस गरिरहेका छन् । किरणको नेतृत्वको पार्टी अलिअलि बिझेको र चुनावमा देखिएकोले उनीहरुले सायद समस्याको रुपमा उपस्थित होला भनेर सोचेका छैनन् । केही अन्य राजनीतिक समुह र व्यक्तित्वहरु पनि नयाँ जनवादी क्रान्तिको बारेमा चिन्तनमनन् गरिरहेका छन, उपायहरुको खोजी गरिरहेका छन् । यस्तोबेला बेमौसममा एउटा पार्टीसँग बार्ताको के हल्ला आयो भन्दै जनसाधारण छक्क परेका छन् । अनौपचारिक छलफलमा दुबैपक्ष बार्ता भैरहेकोसमेत मिडियाले हल्ला मच्चाएका छन् । यस्तो आशंका र षड्यन्त्रको घेराभित्र विप्लवीसँग सरकारको बार्ता गर्नुको के अर्थ रहला र ?

 

यहाँ केही प्रश्नहरु उठेको छन् — विप्लवीसँग सरकारको बार्ता के सम्भव छ ? यसका चुनौतिहरु केके छन् ? सरकार र सत्ता भन्दा बाहिर रहेको पार्टीसँग सरकारले वार्ता गर्न खोजेको हो कि प्रतिबन्ध र दमन खेप्न नसकेर विप्लव नेकपा बार्ताको लागि तयार भएको हो ? यतिखेर बार्ताको आवश्यकता कस्लाई र किन छ ? जनयुद्ध शान्ति बार्तामार्फत अन्त्य गरिएको धोकाधडि र षड्यन्त्र हो भन्दै गरेको नेकपा (विप्लव) ले कुन सर्त र नैतिकताले गद्दार तथा धोकेबाजहरुसँग बार्तामा बस्ला ? र, पहिले वार्ता भन्दै आफ्ना नेता तथा कार्यकर्ताहरु छुटाइसकेपछि धोका दिंदै विप्लवीहरु बार्ताबाट भागेको बताउने सरकारले फेरि कसरि र कुन अवस्थामा बार्तामा बस्ला ? सबैलाई थाहा छ, वर्गसंघर्ष बार्ताबाट समाधान हुने बिषय हैन । तैपनि यहाँ परस्पर बिरोधी हौं भनेर बताउनेहरु कसरि र किन बार्ता खोखिरहेका छन् ? यो अहिलेको आम चासोको बिषय हो ।

 

सत्ता बाहिर हुनेहरु एउटा भयंकर भुलमा छन् र यो दलाल सरकार पनि क्रान्तिको शुरुवात भैहाल्ने हो कि वा कम्युनिस्ट हुन् के भर र भन्ने एउटा भयंकर भ्रममा छ । माओवादबाहेकका कुनै पनि अरु सिद्धान्तबाट जनक्रान्ति सम्भव छैन र कम्युनिस्ट नाम राख्दैमा क्रान्तिकारि हुने कुरा पनि हुँदैन । २०७४ सालदेखि नै बिनाकारण सरकारले विप्लव र किरण नेतृत्वका पार्टीहरुलाई अघोषित रुपमा प्रतिबन्ध लगायो र कतिपय राजनीतिक कार्यक्रमहरु हुन दिएन । २०७५ फागुनदेखि यो दलाल सरकारले विप्लव नेतृत्वको पार्टीलाई घोषित संगठन सुदृढीकरण र विस्तार अभियानमा रहेको बेला प्रतिबन्धको घोषण ग¥यो । जनताले असन्तुष्टि पोखेर अभिव्यक्ति दिनासाथ प्रतिबन्ध लगाइहाल्ने बेढंगको दुइतिहाइको नीयत र त्यसको समर्थन गर्ने दलाल तथा फासिष्ट प्रतिपक्षले लोकतन्त्र, गणतन्त्र र बदलिएको राजनीतिक व्यवस्थाको खिल्ली उडाएका छन् । यसले उनीहरु लोकतन्त्र, गणतन्त्र र बदलिएको राजनीतिक व्यवस्थाको उत्तराधिकारि हुन सक्दैनन् भन्ने पुष्टि गरेको छ । नीयत नै यस्तो भएकाहरुसँग बार्ताको के औचित्य रहन्छ र ?

 

माओवादी आन्दोलनको पुनर्गठनगर्ने भन्दै २०६९मा प्रचण्डको नेतृत्व अस्वीकार गर्दै बनेको नेकपा– माओवादी र त्यसपछिको वर्षहरुमा सशस्त्र हुन नचाहेको किरणको नेतृत्वसँग अलग भएको विप्लव नेतृत्वको उक्त पार्टीमाथि २०७४ सालदेखि अघोषित र २०७५ फागुनदेखि घोषित रुपमा सरकारले प्रतिबन्द लगाएपछि स्थिति तनावपूर्ण बनेको छ । यसबीचमा हेर्दाहेर्दै कैयौं घटनाहरु घटिसकेका छन् र हताहति हुनेको संख्या पनि १० जनाजति पुगिसकेको छ । किरणको नेतृत्व माओवादी मात्रले नपुग्ने वा क्रान्तिकारि माओवादी चाहिं हुनु पर्ने कुरा गर्ने स्थितिमा छ भने विप्लवले नेतृत्व गरेको पार्टी त माओवादी आन्दोलन वा माओवादको आधारभुत प्रस्थापना भन्दा धेरै पर पुगेको छ । अहिले माओवादी नीति तथा सिद्धान्त मान्ने वा आत्मसात गरेको राजनीतिक पार्टी देशमा छैन । माओवादी आन्दोलनबाट सबैभन्दा पहिला बाबुराम पन्छिएका थिए, त्यसपछि प्रचण्ड पन्छिए । माओवादी पार्टीमा माओवादको प्रस्थापना अस्वीकार गर्ने प्रकाश भित्र्याइएका थिए । बाबुराम र प्रकाशले षड्यन्त्र गरेर प्रचण्डलाई बहुमतमा पारेर राखिराखे र माओवादी आन्दोलनलाई बिसर्जनतिर पु¥याउन सघाउ पु¥याए । प्रकाशको उपस्थिति र बाबुरामको पार्टी्भित्र बेइमानी चलखेल माओवादीलाई अल्पमतमा पारेर दमनमा राख्नुबाहेक अर्को काम रहेन । आखिर अहिले उनीहरु जे थिए त्यहिं पुगेका छन—कोही एमाले, कोही फोरममा पुगेर अस्ताएका छन् । अहिले उनीहरुसँग क्रान्तिकारि छायाँ पनि कतै देखिंदैन । र, उनीहरु नै अहिले विप्लव नेतृत्वको नेकपासँग बार्ताको नाटक गरिरहेका छन् ।

 

बार्ता जोसँग, जहाँसुकै र जस्तो परिस्थितिमा पनि हुन्छ । यो व्यवहारतः पुष्टि भएकै कुरा हो । अन्तरवर्गबीचको समस्या समाधान पनि वार्ताबाट नै हुन्छ, यो पनि त्यत्तिकै सहि हो । बिपरित वर्गबीचमा वार्ता भएपनि संझौता सम्भव हुँदैन । जे पनि सम्भावना हुन्छ भन्ने कुरा सहि हुँदैन । केही यदाहरण देख्न सकिन्छ जहाँ वर्गप्रति घात गर्नेहरुले वर्गसंघर्षलाई संझौतामा टुंग्याउने गरेका छन, त्यसैलाई आधार मानेर अहिले सरकार वार्तबाट समाधान खोजौं भन्दैछ । विप्लवीहरु पनि यो असम्भव कुरालाई नयाँ अभ्यासको रुपमा लिंदैछन् । त्यसैले पहिले झैं अहिले पनि वार्ताको प्रयास भएका छन् । दुबैपक्षले यसलाई दाउपेचको रुपमा लिएका छन् कि भनेर आशंका पनि गरिएका छन् । सरकार भित्रका दुई खेमा पुर्व माओवादी र पुर्व एमालेको बीचमा वार्ता कि युद्ध भन्ने बिषयले अन्तरबिरोध चर्काएकोले पनि अहिले वार्ताको प्रयास भएको छ भने आफ्ना निर्णय, नीति तथा कार्यक्रम लागु गर्ने सवालमा एकपछि अर्को गर्दै नेता पक्राउ पर्ने र आत्मसमर्पण गर्ने गरेकाले विप्लव नेतृत्वमा शंकट उत्पन्न भएको र केही समय पार्टीको व्यवस्थापनमा समय दिनु पर्ने भएकोले पनि वार्ता यो पक्षबाट पनि अघि बढाइएको हो कि भनेर आशंका गर्ने ठाउँ सरकारले भेटेको छ ।

 

वार्ताको चर्चा हुनुमा एउटा अर्को पनि कारण छ— विप्लव नेतृत्वको नेकपामा बिचारको विकासको श्रृंखला भेटिंदैन । जनयुद्धको समिक्षा गर्ने, माओवादी आन्दोलनलाई बुझ्ने, व्याख्या गर्ने र निश्कर्षमा पुग्ने सवालमा पार्टी नेतृत्वबीचमा एकरुपता छैन । मुख्य नेतृत्वमा वर्ग आधार, नेतृत्व अनुभव र जिम्मेवारिका हिसावले पनि फरकफरक बिचार निर्माण भएको देख्न सकिन्छ । उक्त पार्टीले लिएको भनिएको एकीकृत जनक्रान्तिको नीति र योजनाको मालेमावादको विकासको चरणसँग जोडिएका वा सम्बन्धित देखिंदैन । त्यसैले अहिले चल्दै गरेको वार्ताको परिणामले पनि कुन रुप लिन्छ भन्न सकिंदैन । उक्त पार्टीले व्यवहारमा गरेका गतिबिधिहरु वर्ग संघर्ष भन्दा पनि यही राज्यव्यवस्थामा देखिएको अराजकता, बेथिति, बिसंगति, अनियमितता, भ्रष्टाचार आदि बिरुद्ध लक्षित देखिएका छन् । उक्त पार्टीका नेतृत्वहरुमा अवशरवादका लक्षणहरु बग्रेल्ती देख्न सकिन्छ । केही बिद्वानहरुका भनाइमा बिचारमा अपरिपक्व र युवा जोस बढी भएको समुहबाहेक उक्त समुह अरु हैन भन्ने पनि छ । अहंकार र दम्भ बढी भएकोले वार्ताको माध्यमद्वारा शक्तिमा आउने सम्भावना धेरै छ भन्नेहरु पनि छन् । त्यसैले बाह्य शक्तिकेन्द्रहरुको सहयोग जुटाई सरकारले वार्ताको कुरासँगै उक्त राजनीतिक पार्टीको अनुसन्धान पनि गरिरहेको छ पनि भन्ने गरिएको छ । वैज्ञानिक समाजवादको लागि हतियार उठाउनु नपर्ने भन्ने जस्तो कुरा पनि उक्त पार्टीबाट यदाकदा कुराहरु बााहिर आउने गरेको पनि परिवेशमा हुँदै गरेको वार्ताका बिषयमा परिणाम के आउँछ अहिल्यै भन्न सकिंदैन ।

 

सरकारले पटकपटक हेपाहा पाराले एउटा जिम्मेबार राजनीतिक शक्तिलाई पटकपटक वार्तामा बोलाउने गरिरहेको छ । यसपालि पनि त्यसै तरिकाले वार्ता चर्चामा ल्याएको छ । प्रतिक्रियावादी सत्तामा पुगेका सत्तासिनहरु अन्धा हुन्छन् । बिद्रोह थेग्नसक्ने तागत यो सरकारमा रहेका पक्ष र प्रतिपक्षमा बस्नेहरुसँग छैन । विदेशी मालिक र देशभित्रकै सेना तथा कर्मचारि उनीहरुको अधिनस्त छैनन् भन्ने बिभिन्न घटनाहरुले देखाइरहेको छ । बिद्रोहको लागि विप्लवबाहेक अरु पनि छन् भन्ने यो सरकारले बुझ्न सकेको छैन । लोकेन्द्र बिष्टको सत्ता भन्दा बाहिरको स्थिति भन्नौं वा प्रचण्डसँग छुट्टिएका आहुती र गोपाल किराती त्यत्तिकै असन्तुष्टि पोखेर चुपचाप बस्छन् भन्ने सोचेको छ सायद । किरणको नेतृत्वको क्रान्तिकारी माओवादी पनि सत्ताभन्दा बाहिर छ, कुनैपनिे बेला बिद्रोहमा परिणत हुन्छ भन्ने यी अन्धाहरुले बुझ्नसकेका छैनन् । विप्लवका गतिबिधिहरु धेरै भएकै कारणले मात्रै पनि वार्ताको कुरा थाल्ने अल्पबुद्धि उनीहरुसँग पाउन सकिन्छ । नेपाली समाजको बिशेषता नै बिद्रोहलाई मनपराउने छ । त्यस्तै यहाँका मानिसमा एउटा अनुभव के छ भने सँधैभरि वर्गीय मुक्तिका लागि भएका जति पनि आन्दोलन छन् ती सबै संझौतामा पु¥याएर टुंग्याउने र न्ययप्रेमी जनताबिरुद्ध गएर घात गर्ने गरेका छन् । अन्ततः यस्को परिणाम निक्कै महँगो हुने कुरा उनीहरुले बुझ्न सकिरहेका छैनन् । अव हुने बिद्रोहमा सँधै धोका पाएका जनता कसरि उठ्लान् भनेर उनीहरु सोच्न पनि सकिरहेका छैनन् ।

 

बर्तामा बस्ने हो भने विप्लव फस्ने सम्भावना बढी छ । फसाउनका लागि जुनसुकै सर्त पनि यो सरकारको लागि काफि हुन्छ । नाम कम्युनिस्ट, लक्ष्य समाजवाद र संख्या दुइतिहाई नै जेसुकै मान्नको लागि काफि छँदैछ । गर्नु पर्ने केही छैन, गफ गर्नको लागि मञ्चहरु काफि मात्रामा खडा गरिएका छन् । कम्युनिस्ट र बामपन्थी नामका पार्टीहरुका सरकार क्रान्तिकारि थुन्ने पिंजडासिबाय केही हैन भन्ने विप्लव नेकपाले बुझ्नु जरुरी हुन्छ । यो सरकार आफैंमा स्वातन्त्र निर्णय गर्ने हैसियतमा छैन । साम्राज्यवादी तथा विस्तारवादीको हितबिपरित यो सरकार पनि जानै सक्दैन । बिदेशी दुस्मनले पार्टी्भित्र सुराक मात्र पालेर राखेका छैनन, सेना, पुलिस र कर्मचारिबाट नियन्त्रित गराइराखेको छ । यस्तो सरकारसित जस्तो निर्णय गरेर संझौता गर्नुको पनि कुनै औचित्य रहँदैन । बार्ता नै षड्यन्त्रकारिहरुको सबैभन्दा ठूलो हतियार हो, सरकारले यसलाई प्रयोग गर्न खोजिरहेको छ ।

 

बार्ता पहिला पनि भयो, औपचारिक रुप नलिंदै तुहियो । अहिले टंक ढकाल र खुमबहादुरका अबतारहरु कम्युनिस्ट व्यवस्था खोज्ने हो भने र सर्वहारा वर्गको अधिनायकत्व खोज्ने हो भने बार्ताको कुनै औचित्य नहुने वा असम्भव हुन्छ भनिरहेका छन् । गोन्जालो बनाइदिने धम्की पनि सँगै दिइरहेका छन् । विप्लव पक्षबाट पनि यतिखेर आफ्नो प्राथमिकता बार्ता होइन, संगठनहरुको सुदृढीकरण र बिस्तार हो भनिरहेका छन् । बार्ताको लागि औपचारिक पत्र आएमा एकचरण बार्तामा बसेर आफ्ना धारणाहरु राख्न पनि सकिन्छ भनिरहेका छन् । यत्तिकैमा बार्ता हुन्छ भन्ने दरो आधार भेटिंदैन । वर्गसंघर्ष सरमा संझौताहीन संघर्ष हो । यहाँ हुँदै गरेका जतिपनि राजनीतिक आन्दोलनहरु र वर्गसंघर्षहरु संझौतामा गएर सक्किएकाले जनताले सत्तासँग सँधै दुःखमनाऊ र शंका गर्ने गरेको छ । यहाँ पनि बार्ताको कुरा आउने बित्तिकै नेतृत्वसँग अविश्वास पैदा भएका अभिव्यक्तिहरु आउने गरेका छन् । बार्ताले पार्टी भित्रका एकखाले मानिसलाई अवशर सृजना गरिदिन्छ, पार्टी भित्र एकखाले मानिसमा बार्तामा बिचलन आउन थालिहाल्छ । इमानदारिपूर्वक भन्ने हो भने कम्युनिस्टले सँधै वर्गसंघर्षलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top