लोकतान्त्रिक चोकको स्तम्भमा राखिएका ३ गेडे दानाको नालीबेली…

दिपेश थापा २०७६ साउन ४ गते शनिवार काठमाडौं

sindhuli-junar-dipes-thapa
 

लोकतान्त्रिक चोकमा देखिने ती ३ दाना जुनार बोटमा फल्ने जस्तो दाना भने होइनन । कथा सिन्धुलीमाडीको जुनार दानाको । (“अरुले गरेको देखे दुई दिन ग्वाङखोला पनि सफा गरे । अध्ययन भ्रमणमा जाँदा करुवा देखे । लसुन देखे । तोङबाको भाँडो देखे । काउली देखे । एभोकाडो देखे । सिन्धुलीमा जुनार राख्दा राम्रोहोला भन्ने बुद्धिले ठाउँ खायो । त्यही गरे । नक्कल गर्न माहिर अक्कल नभएकाले गर्ने नै त्यहि हो ।”)
पत्रकार दीपक बिहिनका शब्दलाई घोत्लिएर नियाल्दा हाम्रा जनप्रतिनिधि नक्कल मात्रै गर्न जान्ने तर के आफ्नो र अरुको राम्रो कुरा उपयोग गर्न सक्दै सक्दैनन भन्ने गम्भीर प्रश्न उठनु अस्वभाविक होइन । कमलामाइ नगरपालिकाले सिन्धुलीको लोकतान्त्रिक चोकमा गुल्मोरको बोट हटाएर जुनारको स्तम्भ बनाएपछि कतिपयले गुल्मोर हटाएर जुनार बनाउनु नै गलत भएको भन्ने तर्क पनि सुनियो । यस्तो बिरोध गर्नेमा समृद्ध सिन्धुलीको सपना देख्ने धेरैजसो युवाहरु पर्छन । उता जिल्ला भित्र र बाहिर बसेर पत्रकारीता गर्ने कतिपय पत्रकारले नगरले जुनारको प्रतिमा बनाउने गरेको निर्णयमा खुलेरै बिरोध पनि गरिएको देखियो ।
सामान्यतया पत्रकारले नयाँ बाहाना मात्रै पाउनुपर्छ, त्यो लेख्नु उसको धर्म भित्र पर्छ । किनभने पत्रकार सामान्यतया सत्ताको बिरोधि नै हुन्छन् । त्यसमाथी पाठक, दर्शक र श्र्रोताले प्रिय भन्दा अप्रीय, प्रत्यासित भन्दा अप्रत्याशित खबरहरु धेरै रुचाउँछन भनेर उसलाई तालीम लिदा राम्ररी बुझाइएको हुन्छ । कमजोर प्रतिपक्ष भएको बर्तमान अबस्थामा त पत्रकार झन् शसक्त प्रतीपक्ष जसरी कलम चलाउन आबश्यक छ । पत्रकार सूचनाको सम्बाहक मात्रै होइनन्, पहरेदार र खबरदारी गर्ने अपेक्षामा पत्रकारलाई राज्यको चौथो अंग भन्ने उपमा त्यहीँ कारणले दिइएको हो ।

 

यता, पत्रकार बुद्धिजीवीले छदाखादाको रुख मासेर पिल्लर हाल्ने कुरालाई बिरोध त गर्ने नै भए, उता सर्बदलिय बैठकमा गुल्मोरको बोट हटाएर सिन्धुलीको पहिचान झल्कने जुनारको प्रतिमा बनाउन स्वीकृति दिनेमा पर्ने स्थानीय राजनीतिज्ञहरु पनि जेसिबी लगाएर गुल्मोरको बोट लोकतान्त्रिक चोक बाट फ्यालिएको खबर पत्रकारले लेखेपछि त्यसको बिरोधमा सबैभन्दा अघि उत्रिएको देखिन्थ्यो । भलई, उनीहरु आन्दोलन गर्ने भन्दै फिल्डमा त आएनन तरपनि मिडियामा गुल्मोरको बोट फ्याकिएको खबर सार्बजनिक भएपछि सर्बदलिय वार्तामा हस्ताक्षर गर्ने ब्यक्तिहरु पनि रुख हटाएर नगरले अन्याय गरेको भन्दै सामाजिक संजालमा बिरोधमा उत्रिएको देखिन्थ्यो ।

 

सिन्धुलीको यो परिघटना यहाँ मात्रै सिमित भएन । काठमाडौं हुँदै बिदेश सम्मै फैलिएको पाइयो । संचारले मारेको फडको वा सूचना क्रान्ति जे भनेपनि अहिले बिश्व एउटा सानो गाउँमा रुपान्तरण हुँदै गरेको तथ्य गुल्मोरको कथामा पनि जोडिएको देखिन्छ । बिदेशमा रहेका सिन्धुलीका कतिपयले गुल्मोरको रुख हटाएर जुनारको प्रतिमा जहाँ राखियो त्यो ठाउँ ठीक भएन पनि भनेको पाइयो । यस्तैमा बिदेशबाट एकजनाले यस्तो लेखेका थिए,“ जुनारको स्तम्भ राख्नै हुन्न भन्ने नै होइन । राख्दा हुन्छ । तर त्यो ठाँउ छनौट अलि ठिक भएन कि !” बिदेश बाट नै अर्का युवाले यसरी लेखेका थिए, “जुनारको जुन प्रतिस्वरुप बनाइयो त्यो जुनारै नदेखेको कलाकारले बनाएको पो होकी ?” उनले व्यंग्य गर्दै लेखेका थिए, “हलुवावेद वा गोलभेडा जस्तो पो देखिन्छ रातिको तस्वीरमा त !”।

 

जुनारको प्रतिमा बनेपछि बिरोध गर्ने सिलसिला राष्ट्रिय –अन्तर्राष्ट्रिय रूपमा चर्चा परिचर्चा हुदै फेरि सिन्धुलीकै स्थानीय माझ गसिप बन्न पुग्यो । कम्युनिस्ट पार्टीका कार्यकर्ता माझ पनि त्यो भाइरल बन्न पुग्यो । कतिपयले आफ्ना जनप्रतिनिधिको समर्थनमा स्टाटस लेखे भने धेरैले चाहिँ न त बिरोध जनाए न त समर्थन नै गरेको अबस्था थियो । केहिले गुल्मोरका पुराना फोटोहरु हालेर सम्झनामा गुल्मोर भन्ने शिर्षक दिदै जोगिएर गुप्त बिरोध गरेको पनि देख्न पाइयो । कुनै पनि पार्टीमा लिनु न दिनुको अबस्थामा रहेका नागरिकले चाहिँ जुनारको प्रतिमा बरु खनियाखर्कमा राख्न सकेको भए उत्तम हुन्थ्यो भन्ने प्रगतिशील तर्क राखेको पनि देखिन्थ्यो । खनियाखर्क जुनार पकेट क्षेत्रको प्रवेशद्वार पनि भएकाले त्यो तर्कमा दम थियो । शहरको विकासमा अरुको नक्कल नगरौ बरु सिन्धुलीमाढीको सांस्कृतिक, सामाजिक र भौगोलिक विशेषता अनुसार काम गरौँ भन्ने उनीहरुको तर्कको भाब सहजै बुझ्न सकिन्थ्यो ।

 

समग्रमा सबैतिरको प्रतिक्रिया हेर्दा हाम्रो जनप्रतिनिधिहरु सँग शहर प्लानिङ्गको कुनै सोच र चिन्तन नै नभएको जस्तो खल्लो प्रतीक हुन्छ । सिन्धुलीलाई चिनारी दिलाउने जंगल र जुनार भन्दा स्वर्गीय गायक कृष्ण बिक्रम थापा कुनै जमनामा कम थिएनन । अहिले पनि धेरैले “सिन्धुली गढि घुमेर हेर्दा सुन्तली माई मा¥यो नि मायाले मा¥यो भन्ने ” गीत गुनगुनाए बाट उनले सिन्धुली जिल्ला चिनाउन गरेको योगदानलाइ कम आक्न मिल्दैन । तर बिडम्बना नै मान्नुपर्ला अहिले सिन्धुलीमाढीमा लोकगायक कृष्णविक्रम थापाको शालिक राख्न नसक्नेहरु गढीमा पृथ्वीनारायणको शालीक राख्न खोज्दैछन भन्ने सुनिन्छ । यसले हाम्रा जनप्रतिनिधिहरुको निर्णय क्षमतामा प्रश्न उठाउनेहरुलाई थप मलजल गरेको देखिन्छ ।

 

यता गुल्मोरको बोट हटाएर लोकतान्त्रिक चोकमा जुनारको स्तम्भ बनिसकेको छ । केहि समय सामाजिक संजालमा लोकतान्त्रिक चोकमा बनेको जुनारको प्रतिमाबारे बिरोध र समर्थनमा विभिन्न प्रतिक्रिया आएपनि त्यो साम्य हुँदै गएको जस्तो देखिन्थ्यो । तर एकाएक फेरि जुनारको स्तम्भ बनाउन यति खर्च लाग्यो उति खर्च लाग्यो भन्ने बहस शुरु भएको छ । कतिपयले लाखौँ पैसा स्वाहा भएको आसयले हल्लिखल्ली चलाए पछि कमलामाई नगरपालिकाका प्रबक्ता कर्ण घिसिङ सँग सम्पर्क गरेर सोही विषयमा पंक्तिकारले प्रतिक्रिया मागेको थिए । शुरुमा घिसिङलाई जुनारको प्रतिमा बनाउन १४÷१५ लाख खर्च भएको भन्ने बजारमा हल्ला चल्यो , सत्य कुरा के हो ? भनेर सोधियो । शुरुमै त्यसको खण्डन गर्दै नगर प्रबक्ता घिसिङले भन्नुभयो, “मोटामोटि १० लाख जति मात्रै खर्च भएको हो । वाइयात हल्ला गर्नेको पछि नलागौँ ।” प्रबक्ता घिसिङको कुरा सुनेपछि नगरपालिका भित्रै गएर पंक्तिकारले कमलामाइ नगरपालिकाका सूचना अधिकृत बिनोद बाबु खकुराललाई पनि सोही प्रश्न सोधे । नगरका सूचना अधिकृत खकुरालले प्रतिक्रिया दिदै भन्नुभयो,“त्यो भ्रामक कुरा हो । जुनारका दाना बाहेक पिल्लर र रेलिङ्ग आदि बनाउन भ्याट बाहेक हाम्रो जम्मा ४ लाख २२ हजार खर्च भएको हो ।” मेटलबाट बनेको जुनारको डिजाइन भने यता नभएर काठमाडौंमा तयार भएकाले त्यसको हिसाब नगरको लेखामा सोध्न खकुरालले अनुरोध गर्नुभयो ।

 

केहि समय अघि प्राकृतिक गुल्मोरको बोट फ्याकेर पित्तलको जुनार लोकतान्त्रिक चोकमा बनेपछि कमलामाइ नगरपलिका एकाएक विवादमा तानिएको थियो । आखिर त्यस्तो बिबाद किन भो ? के अहिले लोकतान्त्रिक चोकमा देखिने त्यो जुनारको बोट नै हैन ? कि प्रतिमा मात्रै हो ? नगरका सूचना अधिकृत खकुराल भन्छन, “जुनारको दाना देखिए पनि त्यो जुनारको बोट होइन , जुनारको स्तम्भ हो ।” सूचना अधिकृत खकुरालका अनुसार पहिला लोकतान्त्रिक चोकमा जुनारको बोट बनाउने भन्ने कुरा नै थिएन । उनले भने, “जुनारको स्तम्भ बनाउने भन्ने थियो । त्यही अनुसार तयारी गरिएको थियो ।” उनले थपे,“बोट बनाउने भनेको भए सायद अर्कै डिजाइन हुन्थ्यो ।” प्रतिमा बनाउने भनेकाले पिल्लर माथी दाना राखिएको हो, खकुराल भन्छन,“हिजोआज फेरि पिल्लरको रंग भएन भन्ने कुरा पनि आएको छ ।”

 

जुनारको स्तम्भबारे खकुरालले अगाडि यसरी सुनाए, “जुनारको दाना काठमाडौंमा जसले बनाउनुभयो, उहाँले शुरुआतमा २२ इन्चको पिलर राख्नु भन्नुभयो । हामीले गोलो पिलर २२ इन्च बनाउदा दाना त्यति ठुलो आउला जस्तो नलागेर ६ इन्ची घटाएर १६ इन्चीको बनाएका हौ । त्यो बनाउदा पिलर माथी ढलान गरिएको होइन । पिलर डेढ इन्ची छोडेर बनाइएको हो । ठुलो दाना आए धनकुटामा एभोकाडो प्लेटमा राखे जसरी राख्ने नत्र सानो दाना आयो भने जोडेर त्यसैलाई निरन्तरता दिने भन्ने हामी निर्णयमा पुगेका थियौ ।“ बाँकी राखेको डेढ फिट पछि ढलान गरिएको हो बताउदै खकुराल भन्छन,“ पहिला पिलरलाई प्लास्टर गरेर त्यतिकै निरन्तरता दिने भन्ने थियो । यस्तैमा त्यतिबेला नै सिन्धुली भनेको जङ्गल र जुनारको क्षेत्र भन्ने कुरा आयो । जुनारको दानाले जुनारको प्रतीक जनाउछ भने हाङ्गाले जङ्गल जनाउछ भनेर पिल्लर माथी हाङ्गा देखाउदै माथी दाना राखिएको हो ।” फेरि रुख जस्तो देखाउन हाङ्गा राख्नुपर्ने भन्ने कुरा आयो , खकुरालले भने,“अनि हामीले राख्यौं । जुनारको प्रतिमा बनाउने भन्ने कुरा पहिल्यै निर्णय भएको थियो ।”

 

जुनारको स्तम्भ बनाउने भनेर सर्बदलिय बैठकमा पहिल्यै निर्णय भएको उनले सुनाए । कार्यपालिकाले पनि त्यहीँ निर्णय गरेको थियो, खकुराल भन्छन,“नगर बोर्ड बैठकले पनि पछि त्यहीँ निर्णय ग¥यो ।”
गुल्मोरको बोट हटाउने निर्णय पहिल्यै भएको हो, उनले फेरि दोहोराउदै भने,“त्यहाँ जुनारको स्तम्भ बनाउन सबैजसो तयार थिए । पछि सल्लाह र सुझाव दिने भन्दा हल्ला गर्ने धेरै भए ।” खकुरालले भने,“अझै सुधार गर्नुपर्ने गर्न सक्ने भए हामी त्यसमा तयार नै छौं ।“

 

खकुरालका अनुसार कमलामाइ नगरले शुरुमा गुल्मोरको बोट हटाउने चाहना राखेको थिएन । ट्राफिक बाट दुर्घटना जोखिम भन्ने सुझाव आएपछि त्यो पछि हटाउने निर्णय भएको हो । खकुरालका अनुसार गुल्मोरको उक्त रुख हटाउने चाहना नगरको थिदै थिएन । बाटो छेकियो दुर्घटना जोखिम बढयो भन्ने कुराले मात्रै त्यो बोट त्यहा बाट हटाइएको हो ।

 

नगरले जुनारको स्तम्भ बनेपछि त्यसको व्यापक बिरोध भएका कारण उक्त स्तम्भ औपचारिक रूपमा उदघाटन गर्न केहि समय आलटार गरेको पनि देखियो । औपचारिक उदघाटनमा ढिलो भने भएको स्वीकार गर्दै खकुरालले त्यसको वचाउमा भने,“जुनारको दाना बस्ने भाग र पिलर बीच राखिएको डेढ इन्ची ज्ञापमा ढलान गर्न सिमेन्ट भर्दा दानाको रङ्गमा असर पर्छ भनेर केहि समय ढिलो भने भएको हो ।” पछि जुनारको पात पनि राख्ने तयारी गरिएकाले पनि ढिलो भएको उनको तर्क थियो । हुन त जुनारको स्तम्भ बनाउन शुरुआत गर्नु अगाडि बीचमा फेरि भत्काउन हुन्न भन्ने कुरा पनि नगरमा आएको खकुराल दाबी गर्दै भन्छन, “तर बसपार्क नजीक दुर्घटना जोखिम बढयो, एकातिरबाट आएको गाडी अर्को तर्फ देखिएन भन्ने ट्राफिक गुनासोले पछि त्यो भत्काइएको हो ।” नगरका सूचना अधिकृत खकुरेल थप्छन, “सर्बदलिय निर्णय र ट्राफिक गुनासो पछि मात्रै गुल्मोरको बोट हटाइएको हो ।” उनले बार्तालापको अन्त्यमा भने “बिगतमा हामीले सबैसङ्ग सुझाव लिन नसक्नु हाम्रो पनि कमजोरी रहयो । गल्तीबाट पाठ सिक्दै अब गरिने काममा सुधार गर्नुपर्छ ।”

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top