नौँ वर्षको नौलो यात्रा,सवैलाई धन्यवाद

प्रकाशकिय २०७६ साउन १ गते बुधवार सिन्धुली

 

 

पत्रकारिताको यात्रा पक्कै पनि सजिलो छैन । भनिन्छ, पत्रकारिता अपजसिलो पेसा हो । तर पनि यात्रा गर्नुनै थियो । सिन्धुलीवासीसँग दैनिक जोडिएर सूचना प्रवाह गर्नुनै थियो । अन्ततः २०६८ साल श्रावण १ को बिहानी सगुन सौगात मिडिया प्रा.लि.ले सिन्धुली सौगात राष्ट्रिय दैनिक पत्रिका संचालनमा ल्यायो । एकपिच्छे अर्को अवरोध खडा भए । तर पनि निरन्तर ८ वर्षसम्म यस्ता कयौँ समस्याहरुलाई उछिन्दै हामी नवौँ वर्षमा टेकेका छौँ । हाम्रा पाठकवर्ग, विज्ञापनदाता र शुभचिन्तकको सहकार्यबिना यो यात्राले पक्कै पनि निरन्तरता पाउने थिएन । तपाईहरुको माया र विश्वासले नै गर्दा आज सिन्धुली सौगात सिन्धुलीको लोकप्रिय एवं उत्कृष्ट दैनिक पत्रिका बन्न पुगेको छ । पत्रिकाले आठौँ वसन्त पार गरिरहदा हामी जिल्ला भित्र र बाहिर रहनुभएका सम्पुर्ण पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक र जिल्लावासीलाई धन्यवाद दिन चाहान्छौँ ।

 

८ बर्ष अघि ठिक आजको दिन सिन्धुली सौगातले आफ्नो यात्रा प्रारम्भ गरेको थियो । थोरै पत्रकार, सिमित श्रोत साधन अनि सत्य र निडरताको आँडमा शुरु ग्रिएको सिन्धुली सौगात पाठकहरुको माझ थोरै समयमै लोकप्रिय बन्न पुग्यो । त्यो कागज हाम्रो थियो तर प्रतिबिम्ब सिन्धुलीको, मसि हाम्रो तर वास्तविक, निर्भिक अनि सटिक प्रतिक्रिया, विचार एवं अभिव्यक्ति समाजको थियो । त्यो छापा मात्र थिएन कडा परिश्रम र सूचनाको अधिकारमा सिन्धुलीवासीको पहुँचको सपना थियो । सत्यको साथ र जनताको विश्वासले हामी अघि बढ्यौँ । हामी पाठकवर्गको हातमा दैनिक पुग्न सफल भयौँ । आवाजबिहिनको आवाज बनेर हामी उभियौँ ।

 

 

जिल्लामा रहेका बेथितिलाई उजागर गर्दै राम्रो कामलाई प्रोत्साहन गर्न हाम्रा कलमहरु सधैँ चलिरहेको छ । सुशासन र खबरदारी हाम्रो मुख्य प्राथमिकता बनेको छ । सिन्धुली जस्तो सानो ठाउँ जहाँ विज्ञापनको सधैँ खडेरी हुने गर्दछ तर पनि पाठकवर्गले दिनुभएको माया, प्रेरणा हौसाला नै हाम्रो उर्जा बनेको छ । अन्याय, अत्याचार, भ्रष्ट्राचार, ठगी घुसखोरी आदि विसंगतिमा हाम्रा आवाज सधैँ बुलन्द छ । हामीले कहिलेपनि कसैको दबाब र प्रभावमा परेर समाचार संपे्रषण गरेनौँ । पत्रिकाबाट आफूले केहि पाउने भन्दा पनि समाजलाई केहि दिने उद्धेश्यका साथ हामीले सिन्धुली सौगातको संचालन गरेका थियौँ । तर, हाम्रो यात्रामा धेरैँ अवरोध सिर्जना भए । कुनै एक राजनीतिक दलको बिल्ला भिडाएर हाम्रो अनर्गल प्रचार भयो । पत्रिकानै बन्द गराउने सम्मको दुष्प्रयास भए । हाम्रा कलमलाई सदाका लागि भाँच्न सुनियोजित तरिकाले केहि तत्व हावि भए । हामी सिन्धुलीमा सूचनाको संवाहक थियौँ । बेथिति हामीहरुका लागि कहिलेपनि स्विकार्य भएन । यो अवधिमा आग्रह पुर्वाग्रह राखेर सिन्धुली सौगातमाथि थुप्रै प्रहारहरु भए । तर, फल फलैकै रुखमा ढुंगा प्रहार हुन्छ भन्नेमा हामी सचेत थियौँ । हाम्रा कदमहरु कहिल्यैँ ढगमगाएनन् । बरु थप सशक्त भएर हामी अघि बढ्यौँ र सिन्धुलीवासीको साथ र सहयोग पायौँ ।

 

नवौँ वर्षमा टेकिरहदा हामी यसो भएन र उसो भएन भनेर सधैँ गुनासो गर्नेलाई यसरी गरौँ र यसरी गर्नसकिन्छ भन्ने हैसियत राख्नुपर्छ भन्ने मान्यता राख्छौँ । हामी अन्याय, अत्याचार र विसंगितको विरुद्धमा सधैँ आवाज उठाउनेछौँ र सशक्त भएर अघि बढ्ने सिन्धुलीवासीलाई प्रतिबद्ध गर्न चाहान्छौँ । यसैबिच, हाम्रो यात्रामा हामीलाई साथ दिने सम्पुर्णलाई धन्यवाद दिन चाहन्छौँ । हाम्रा पाठकवर्ग, विज्ञापनदाता र शुभचिन्तकलाई हामी अझ बढि प्रतिबद्ध, जिम्मेवार र जिल्लाबासीका आवाजलाई अझै बुलन्द पार्नेमा निर्धक्क हुन अनुरोध गर्दछौँ । अन्त्यमा फेरिपनि यो आठ वर्षको यात्रामा साथ र सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदैँ थप सशक्त भएर अघि बढ्ने वाचा गर्दछौँ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top