सुनकोशी गाँउपालिकाले १७ घण्टा सेवा प्रवाह गर्दै

सिन्धुली साैगात संवाददाता २०७६ असार ३१ गते मंगलवार काठमाडौं

 

सिन्धुली – आर्थिक वर्ष सकिनै लाग्दा सिन्धुलीको सुनकोशी गाँउपालिकाले १७ घण्टासम्म सेवा प्रवाह गरिरहेको छ । विहान ६ बजेदेखि राती १० बजेसम्म कार्यालयबाट सेवा प्रवाह गरिरहेको गाँउपालिकाले जनाएको छ ।

 

सधै विहान १० बजेदेखि बेलुका ५ बजेसम्म काम गर्ने सरकारी कर्मचारीले यसरी १७ घण्टासम्म काम गर्न थालेको २ हप्ता भइसक्यो । सम्पन्न भइसकेका योजनाको भूक्तानीका लागि प्रमुख प्रशासकिय अधिकृतदेखि लेखा शाखा, योजना शाखाका कर्मचारीहरु र प्राविधिकहरु विहानदेखि नै काम खट्छन् । “हामीलाई अहिले गफ गर्नसमेत फुर्सद छैन”, प्रशासकिय अधिकृत विकास सुन्दासले भने, “विहान जुरुक्क उठ्यो अफिस आयो, निस्कने बेला रातको दश नै बज्छ ।” कर्मचारीहरुसँगै गाँउपालिका अध्यक्ष र उपाध्यक्ष पनि कार्यालयमा रातीसम्मै सँगै हुन्छन् ।

 

पहिले ५ बजे नै बन्द हुने गाँउपालिका कार्यालयमा अहिले रातीसम्म नै चहल पहल हुन्छ । भूक्तानीका लागि उपभोक्ता समितीका पदाधिकारी तथा टेन्डर पाएकाहरु कार्यालयमा अबेरसम्मै देखिन्छन् ।

 

गत विहिवार रातको साढे ७ बज्दा गाँउपालिकाको कार्यालयमा भुक्तानीका लागि १० जनाभन्दा बढी मानिसहरु बसिरहेका थिए । ठेक्कापट्टाको काम गर्दै आएका रवि तामाङले स्वास्थ्य चौकी भवन निर्माण गरे वापतको भुक्तानीका लागि कार्यालयमा आएको बताए । “कार्यालय समयमै आउनु पर्छ भन्ने बाध्यता छैन । धेरै खुसी लाग्यो पहिले–पहिले आज काम भएन भने भोली त्यही समयमा आउनु पथ्र्यो । तर अहिले सजिलो भएको छ ।” उनले भने, “अहिले त ५ बज्यो तपाईको काम हुन्न पनि भन्नुहुन्न यी यसरी राती–राती काम गरिरहनु भएको छ ।” यसरी गाँउपालिकाले सेवा दिएकोमा उनि खुसी छन् ।

 

प्रशासकिय अधिकृत सुन्दासका अनुसार सुनकोशी गाँउपालिकाका अधिकांश योजना सम्पन्न भइसकेका छन् । हालसम्म शर्सत र संघिय बजेटका सबै योजना र समानिकरण तर्फका ९५ प्रतिशत योजना सम्पन्न भइसकेको जानकारी दिँदै समानिकरण र शर्सत अनुदानसहितका गरी कुल बजेटको ९८ प्रतिसत खर्च भईसकेको बताए । “अब लगभग सबै काम सक्किसक्यौँ ।” सुन्दासले भने, “शतप्रतिशत योजना सम्पन्न गर्ने हाम्रो योजना पुरा भएको छ । अबको दुई दिनसम्म हामी यसरी नै खट्ने छौँ ।”

 

यस गाँउपालिकाको चालु आर्थिक वर्षको कुल बजेट ३७ करोड ८३ लाख ८६ हजार रुपैयाँ रहेको गाँउपालिकाले जनाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top