सिन्धुलीको विद्युतको संरचनामा ७५ लाख बढिको क्षति (फोटो फिचर)

सिन्धुली साैगात संवाददाता २०७६ असार २९ गते आइतवार सिन्धुली

 

अविरल वर्षापछि सिन्धुलीको अधिकांश स्थानिय तहमा विद्युत सेवा अवरुद्ध भएको छ । चारदिनको अविरल वर्षाका कारण बाढी र पहिरोले बिद्युत पोल बगाएपछि विद्युत सेवा अवरुद्ध भएको हो । जिल्लाको विद्युतिय क्षेत्रमा भएको क्षतिपुर्तिको एकिन तथ्य नभएपनि ७५ लाख बढिको क्षति भएको विद्युत प्राधिकरण सिन्धुलीले जानकारी दिएको छ ।

 

 

जिल्लाका विभिन्न तहमा झण्डै २ सय बढि पोल पैह्रो र खोलाले बगाएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिन्धुलीका प्रमुख खिलनाथ आर्यालले जानकारी दिए । उनका अनुसार एकिन तथ्य नभएपनि २ सय बढि पोलहरु खोलाले बगाएको छ । उनले भने, “बाढि पहिरोका कारण अवरुद्ध भएको क्षेत्रमा पुग्न सकिएको छैन । मोटामोटि २ सय बढि पोलहरु खोलाले बगाएको जानकारी आएको छ ।”

 

 

जिल्लाको दुधौली नगरपालिका, गोलन्जोर र सुनकोशी गाउँपालिकामा दुई दिन देखि पुर्ण रुपमा विद्युत सेवा अवरुद्ध भएको छ । कमला नदिले एकै ठाउँबाट २० वटा पोल बगाएको अर्यालले जानकारी दिए । यद्यपि, कमला नदिले धेरै पोल बगाएको उनले बताए । कमलामाई नगरपालिकाका अधिकांश स्थानमा भने विद्युत सेवा सुचारु गरिएको छ । कमलामाई नगरपालिकास्थित चियाबारीदेखि गोलञ्जोर सुनकोसी क्षेत्रमा भने विद्युत पुर्ण रुपमो अवरुद्ध भएको छ ।

 

 

आर्यालले भने, “अविरल वर्षाका कारण विद्युत सेवा सुचारु गर्न कठिनाई भएको छ ।” उनले पानीपर्ने मौसममा विद्युतको पोलमा करेन्ट प्रवाह हुने संभावना बढि हुदाँ नछुन सर्वसाधरणलाई आग्रह गरे । उनले पानीपर्न कम भएकाले छिटो भन्दा छिटो सबै ठाउँमा विद्युत सुचारु हुने बताए ।

 

 

प्राधिकरणले बाटो अवरुद्ध भएका ठाउँहरुमा पनि बाटो खोलेरै भएपनि विद्युत सुचारु गर्न कसरत गरिरहेको प्राधिकरणका कर्मचारी सरोज खड्काले बताए । उनले भने, “बाटोमा भएका पहिरो पन्छाएरै पनि हामी विद्युत सुचारु गर्न लागिपरेका छौँ ।” सुनकोशि क्षेत्रमा झण्डै दुई सय पोल सुनकोशिले बगाएको उनले बताए ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top