सिन्धुलीमा बाढी पहिरोमा मृत्यु हुनेको संख्या बढ्यो

सिन्धुली साैगात संवाददाता २०७६ असार २८ गते शनिवार सिन्धुली,

 

तीन दिनदेखि परेको अबिरल बर्षापछि आएको बाढी पहिरोमा परि सिन्धुली जिल्लामा शनिबार चार जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता अवस्थामा रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार कमला नदीमा आएको बाढीले बगाएर दुधौली नगरपालिका–४ डकाहा बजार नजिक छाप्रो हालेर बस्दै आएका बन्जारा परिवारका ३ बर्षिय कार्बन कापरीको मृत्यु भएको छ । त्यस्तै सोही नगरपालिका–१२ जिनाखुमा पहिरोले पुरेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सिन्धुलीमा यो सहित बाढीपहिरोमा परि ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । शुक्रबार फिक्कल गाँउपालिका–१ महादेवडाँडा निवासी ३५ बर्षिया हेमकुमारी सुनुवारको पहिरोले बगाएर मृत्यु भएको थियो ।

 

जिनाखुको घट्नामा पहिरोले घर समेत बगाउदा आमा, छोरा र छोरी पुरिएको जानकारी आएको बताउदै प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले घट्नास्थल तर्फ प्रहरीको टोली परिचालन भई सकेको र राती पुग्ने हुदा बिस्तृत बिबरण आउन बाँकी रहेको जनाए ।

 

दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बिहानी पख सुतिरहेको अवस्थामा माथिबाट पहिरो आई घर बगाएको र आमा, छोरा, छोरी बाहेक बाबुलाई घाईते अबस्थामा उद्धार गरिएको बताए ।

 

उनले भने, “आमा, छोरा र छोरी पुरिएको भन्ने सुनिएको छ । भनेका बखत फोन सम्पर्क समेत नहुने हुनाले मैले वडा अध्यक्षलाई बुझेर जानकारी गराउन भनेको छु ।”

 

त्यस्तै कमला नदीमा आएको बाढीले बन्जारा परिवारका छ जनाको परिवारलाई राती सुति रहेको अवस्थामा बगाएकोमा बालक कार्बनलाई बैरास्थित कमला नदीकै बगरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

 

प्रहरी उपरिक्षक सिंहका अनुसार १८ बर्षिय मिथुन कापरी र उनकी भाउजु २३ बर्षिय रेणु कापरीलाई सकुसल उद्धार गरिएको र उनीहरुको आमा मेमेरियल अस्पताल डकाहामा उपचार भई रहेको छ । रेणुको १ बर्षिय छोरा सर्गन, ७ बर्षिय छोरा आँधी र मिथुनको फुपु ६० बर्षिया मरणी कापरी नदीले बगाएर बेपत्ता अवस्थामा रहेका र उनीहरुको खोजी कार्य भई रहेको छ । सोही ठाँउमा बसोबास गर्ने १६ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

 

त्यस्तै सुनकोसी गाँउपालिका–१ कमेरेफाँट नजिकै बीपी राजमार्गमा गुडिरहेको गाडीलाई माथिबाट पहिरोसँगै आएको ढुंगाले च्याप्दा उक्त गाडीमा सबार सिरहा गोलबजार नगरपालिका–३ निवासी ३० बर्षिय ईन्दल साह गम्भिर घाईते भएका छन् । बीपी राजमार्ग हुदै काठमाण्डौ जाँदै गरेको को १ च ८९५६ नम्बरको पिकअप गाडीलाई पहिरोले थिचेको हो । उक्त गाडीबाट अचेत अवस्थामा उद्धार गरिएका घाईते साहको खाल्टेस्थित भरोसा अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
गोलान्जोर गाँउपालिका–५ खनियाखर्क नजिक फेरी पहिरो जाँदा बीपी राजमार्ग पुनः अबरुद्ध बनेको छ । तीन दिनदेखि लगातार भई रहेको बर्षाले सिन्धुलीको जनजीवन अस्तव्यस्त नै बनाएको स्थानीय बासिन्दाले बताएका छन् ।

 

त्यसैगरि, सिन्धुली र रामेछाप जोड्ने खुर्कोट पुलमा पहिरो खसेको छ । पहिरो खसेपछि पुलबाट हुने आवतजावत रोकिएको छ । यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गको सिन्धुलीको खुर्कोट–घुर्मी खण्डको गोलन्जोर गाउपालिका–३ को बितिजोर खोलामा रहेको पुलको एकछेउ पहिरोका कारण भत्किएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top