पहिरोले गोठ बगाउदा एकको ज्यान गयो

बाबुराम देवकोटा २०७६ असार २७ गते शुक्रवार सिन्धुली

flood-sindhuli
 

सिन्धुलीको फिक्कल गाँउपालिका–१ महादेवडाँडा निवासी ३५ बर्षिया हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको छ ।

 

बिहान गाईबस्तुलाई कुँडो पकाएर खुवाउदै गर्दा माथिबाट आएको पहिरोले गोठ बगाउदा उनको घट्नास्थलमा नै ज्यान गएको गाँउपालिका उपाध्यक्ष पार्बती राईले जानकारी दिइन । पहिरोले बगाएर एउटा गाई, बाच्छो, एउटा माउ बाख्रा र पाठोको मृत्यु भएको उनले बताइन ।

 

दुई दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुलीको जनजीवन प्रभावित भएको छ । बीपी राजमार्ग अन्तगर्त गोलान्जोर गाँउपालिका–५ खनियाखर्क र सुनकोसी गाँउपालिका–१ कमेरेफाँटमा विहान गएको पहिरो पन्छाउन नसक्दा यातायात सेवा अवरुद्ध भएको छ ।

 

दुवै ठाँउमा विहानदेखि नै दुई वटा डोजर लगाएर सडकमा थुप्रिएको पहिरो पन्छाउने कार्य भई रहेपनि पहिरो बगि रहेकोले अझै केही घण्टा लाग्ने सिन्धुलीका डिएस्पी लोकदर्शन थापाले जानकारी दिए ।

 

बिहानदेखि नै बीपी राजमार्ग पहिरोका कारण अबरुद्ध हुदा पूर्वी तराईका जिल्लासहित पहाडी क्षेत्रका रामेछाप, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुबाट राजधानी काठमाण्डौ हिडेका र राजधानीबाट फर्किएका यात्रु बीच सडकमा नै अलपत्र परेका स्थानीयले बताएका छन् । सदरमुकाम सिन्धुलीमाढीबाट जिल्लाका आधादर्जन ग्रामीण सडकमा सञ्चालन हुने यातायात सेवासमेत बिहानदेखि ठप्प छ ।

 

जिल्लाका ठूला नदीका रुपमा रहेका कमला नदी, मरिण खोला, बाहादुरा खोला, चँदाहा खोलामा समेत पानीको बहाब उच्च बढेकोले जोखिम बढ्दै गएको स्थानीय बासिन्दाले बताएका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top