ठूलो परिमाणमा कपडा बरामद

रासस २०७६ असार ७ गते शनिवार काठमाडौं

 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । प्रभागको टोलीले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७८९२ नम्बर र ना ६ ख १२८९ नम्बरको बस चेकजाँचका क्रममा रु १० लाख ७१ हजार मूल्य बराबरको सामग्री आज बिहान बरामद गरेको हो ।

 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमारविक्रम थापाले दुईवटा बस जाँच गर्दा भन्सार छलेर ल्याएको पाँच बोरा सामान बरामद गरेको जानकारी दिए । “सामानको बिल र धनी नभएकाले हामीले सामानलाई बरामद गरेका हौँ,” उनले भने ।

 

प्रहरीले एक हजार ४१८ थान विभिन्न रङको कुर्ता तथा टप्स, पुरुषले लगाउने कमेज ७५ थान, पेटी २४ थान, पुरुषले लगाउने कट्टु ५९ थान, ४८ मुठ्ठा जाली कपडा बरामद गरेको हो । वृत्तको टोलीले आवश्यक कारबाहीका लागि सामानलाई राजश्व अनुसन्धान विभाग पठाएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top