के दलाल पुँजीवाद पनि पुँजीवाद हो ?

विनोद दाहाल २०७६ जेठ ३२ गते शनिवार बिचार

 

“पुँजीवाद आइसक्यो, अव परिवर्तनको लागि बलप्रयोगको जमाना छैन, वैधानिक बाटोबाट नैं सबैथोक गर्न सकिन्छ ।” उनलाई बिचरा भनें मैंले र प्रश्न सोधें, “तपाईं जनयुद्धको योद्धा, समाजमा हुनुहुन्थ्यो, अहिलेपनि अर्को तरिकाले समाजमैं हुनुहुन्छ । जेठी छोरिको नाम पार्टीमा सल्लाहा गर्दै राख्नु भएको थियो । अहिले कान्छी छोरिको नाम कसरि राख्नु भयो ?” जवाफ दिन उनी लजाए । पुरोहित बोलाएर परम्परागत ढङ्गले छोरिको नाम कुनै देवीको नाममा राखिएको छ । प्रचण्ड बाबुराम त ढले, बिचरा ऊ किन नढलोस् ! ढलेका मान्छे र उठिसकेको मान्छेबीचमा दृष्टिकोण नैं फरक हुन्छ । खासमा हामीबीच यही अवस्था छ । उनी पुँजीवाद आइसकेको देख्छन, म देख्दिन ।

 

उनको घरमा यसवर्षको आर्थिक कृयाकलाप हेर्दा सामन्तवादले कति लुटेको छ भनेर हिसाब ग¥यौं हामीले । १५—१६ हजार जति बिभिन्न बेलामा आएर पुरेतले लाँदो रहेछ । पण्डितले यसपाली दानको होडबाजी गराउँदै अरु ५ हजार लगेछ । फेरि लगाउने जोगिलाई सिदाभेटी गरि ९ सय दिएका रहेछन् । बुबाले गरेका भाकलमा भाले र दान दक्षिणमा २ वटा भाले र पाठपुजामा झण्डै ४ हजार खर्च गरेका रहेछन् । जोगी र भीखमंगाले पनि १ हजार जति लगेका छन् । दैनिक घरमा पाठपुजा र आरती छोडेका रहेनछन् । यी सबै कृयाकलापका लागि टपरि गाँस्ने, बत्ती कात्ने, प्रसाद खुवाउने, मानिस निम्त्याउने र निम्त्याएका ठाउँमा जाने जस्ता निस्काम कर्ममा उसले १० हजार भन्दा बढी गुमाएको रहेछ । वर्षमा ४० हजार भन्दा बढी निरन्तर बुझाईरहेको स्थिति छ, सामाजिक व्यवहारमा यो निरन्तर चलिनै रहेकोछ । श्रम एउटाले गर्छ, धर्म र परम्पराको नाममा अर्कोले निरन्तर लुटिरहन्छ, लुटिरेको छ । के यो हट्ने वैधानिक कुनै आधार देखाउन सकिन्छ ? उनी केवल आदर्शवादी तर्क मात्र गरिरहेको छन् जुन प्रतिक्रियावादीले गरिरहेकै थिए । स्पष्ट छ, यो अवस्थाको अन्त्य बलप्रयोगबाट हुन्छ ।

 

उनी भन्छन् सामन्तवाद गईसक्यो र पुँजीवाद आइसक्यो । यो निश्चित हो कि जिम्मल, मुखिया, डिट्ठा जस्ता ठालूहरुलाई बुझाउनुपर्ने खेताला, रकम, ठेकी–कोशेली, उर्दी जस्ता लुटाईबाट रैती मुक्त भएकाछन् । स्मरणयोग्य कुरा के छ भने सामन्तवादको उक्त स्थानमा यसैसँग सम्झौता गर्दै साम्राज्यवाद र उसको एजेन्ट दलाल पुँजीवाद आएको छ । जनताको लागि शोषण र बेक्कारका कुरामा लुटाई कमि भएको छैन । रुप बदलेर शोषक, सामन्त दलालहरुले श्रमजीवी जनता चुस्न, धुत्न र लुटन कमि गरेका छैनन् ।

 

पुँजीवाद के हो र दलाल पुँजीवाद के हो ? अहिले यो सबैले जान्न र बुझ्न जरुरी छ । समाजमा मानिसका सबै व्यवहारहरु पुँजीमा आधारित भएर सञ्चालन हुन थालेकाले पुँजीवाद आइसक्यो, पुँजीपतिहरु नै शक्तिशाली देखिन थालेका छन, त्यसैले पुँजीवाद आइसक्यो, समाजमा बस्तु र सेवाको उत्पादनको तौरतरिका पुँजीवादमा आधारित छ त्यसैले पनि अहिलेको समाजलाई पुँजीवादी समाज भन्नु पर्नेहुन्छ, गणतन्त्र स्थापना भैसकेको स्थितिमा समाज स्वतः पुँजीवादमा रुपान्तरण भैसकेको स्थिति हो । हाम्रा सामु यस्ता तर्क र बितर्कहरु हुने गरेका छन् । यहाँ दलाल पुँजीवाद छ पुँजीवाद हैन, यस्तो समाजमा पुँजी निर्माण हुन सक्दैन, भएपनि अराजकता मात्र निम्त्याउछ । दलाल पुँजीवाद राष्ट्रियता कमजोर भएको सामन्तवादकै नयाँ रुप हो भन्नेहरु यहाँ कम छैनन् ।

 

दलाल पुँजीवाद अहिले हामीले भोगेको यथार्थ हो । यो साम्राज्यवाद र सामन्तवादको ठिमाहा सन्तानबाहेक केही हैन भन्न पनि सकिन्छ । दलाल पुँजीवादमा सामन्तवादका सबै बचेखुचेका अवशेषहरुलाई संरक्षण गर्न साम्राज्यवादले सहयोग गर्दछ र साम्राज्यवादी शोषण र उत्पिडनलाई सामन्तवादले समर्थन गरेको हुन्छ । उनीहरु दुबैको स्वार्थ पुरा गर्न राष्ट्रिय पुँजीको निर्माण हुन नदिने र शोषण र लुटको स्वर्ग जोगाई राख्ने हुन्छ ।

 

पुँजीवाद आइसक्यो त्यसैले जानवादी राज्यव्यवस्थाको लागि बलप्रयोग आवश्यक छैन भन्नेहरुले समाजवादी क्रान्तिको कार्यक्रम अगाडि सारेका छन् । समाजवाद मात्र हैन वैज्ञानिक समाजवादी हौं भन्ने र जनवाद समाजवादी क्रान्तिको चरणमै सकिने भएकोले जनक्रान्ति समाजवादसम्म युद्धकै चरण हुने कार्यक्रम बताउने पनि यहाँ छन् । जनबिद्रहमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नीति राख्ने माओवादी पनि यहाँ छन् । यी र यस्ता कुराहरुले सर्वहारा वर्ग आफैं दिग्भ्रमित हुने स्थिति पनि छ । जनथुद्धमार्फत नै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नीति लिएको नेकपा (माओवादी)लाई आत्मगत रुपमा स्वीकार्ने समुह नेपालमा चाहिँ बाँकि रहेनन, जुन बिडम्बनापूर्ण स्थिति हो । नेपालमा जनवादी क्रान्ति माओवादी आन्दोलनको पुनर्गठन गरि जनयुद्धमार्फत नै सम्पन्न हुने सच्चाईलाई स्वीकार्ने इमानदार क्रान्तिकारिको अभाव भएको छ ।

 

माओवादी कार्यकर्ता जनयुद्धको असफलताको कारण खोजीरहेका छन् । जित्दाजित्दै पनि परिणाम शुन्य हात लाग्यो भनेर हैरान छन् । एमाले र फोरममा बिलय किन हुनु परेको होला पुष्टि गर्न नसकेर हैरान भएका छन् । उनीहरु अहिले आफूलाई माओवादी भन्न छाडेर कम्युनिस्ट भन्न थालेका छन् । माओवादी र कम्युनिस्टमा कति फरक छ भन्ने प्रश्नको जवाफ खोज्दाखोज्दै थाकेर हैरान भएका छन् । कम्युनिस्ट भनिएका नयाँ मुल्लाहााहरु एउटा प्रश्नले बढी हैरान छन् त्यो के हो भने काँग्रेस भन्दा के कति कारणले फरक छौं भनेर । देशमा समस्या देखिन्छ, समस्याको पहाड छिचल्ने उपाय के छ ? वा मुल समस्या के हो र समाधान कसरि हुन्छ ?

 

आधारभुत रुपमा के भन्न सकिन्छ भने सम्पत्ति पुँजीमा परिणत हुन्छ र शक्तिमा रुपान्तरण पनि हुन्छ । मालिक त्यही कारणबाट भएर त्यही अधिकार गुमेपछि मानिस दास भए । सामन्तवादले त्यसै गरेको हो । बुर्जुवा पनि त्यसरि नै सभ्यता र संस्कृतिका मानिस उत्पादन गरिरहेको छ । सबै गुमेकाहरु सर्वहारा बन्न पुगेका हुन् । अहिले नेपाली समाजमा पनि जतिपनि समस्याहरु देखिएकाछन, अन्तर्यमा सम्पत्तिको स्वामित्वको कारण भएका छन् । महिलाले गरिरहेको संघर्षको निचोड त्यसैमा छ, दलित समुदायले त्यही समस्यालाई समाधन गर्न खोजेका छन् । आदिवासी तथा जनजाती समस्याको समाधान खोज्दा पनि केन्द्रमा त्यही नै आउँछ ।

 

सामान्यतया पुँजीवाद के हो भने पुँजीको विकाससँगै त्यसको आढमा वैधानिक बाटोबाट सबै समस्याको समाधान हो । के यो हुने सम्भावना छ ? यहाँको फेरिएको आधारहरु देख्दा त्यो समाधान कतैबाट देखिंदैन । सर्वहारा वर्गको उत्पादन गर्ने उत्पादन सम्बन्ध उस्तै छ, समाजमा संख्या बढीरहेको छ । कृषिमा व्यवसायीकरणको विकास हुन सकेको छैन र आद्योगिक उत्पादनका लागि खेतीपाती हुँदै गरेको कतै देखिंदैन । गुजारामुखी उत्पादन प्रणाली नै कायम छ, त्यसमा पनि नीराशाका अनुभुतिहरु व्यक्त हुने गरेका छन् । मालिकलाई सित्तैंमा काम गरिदिनुपर्ने र उसको अधिनमा बस्नुपर्ने कुरा अहिले सुदखोर वित्तीय निकायबाट भैरहेको छ । पुरोहित, पण्डित, पुजारी जोगि, धामीझाँक्री, झारफुक, धार्मिक मण्डली, तीर्थब्रत, दान, कर्मकाण्ड जस्ता पछि मासिने वा मासिनैंपर्ने कुप्रथाहरु समाजमा व्याप्त छ जसबाट श्रममिकको ठूलो धनराशी सामान्ती, जाली, फटाहा, शोषक, साहुमहाजन, ठग आदिका लागि कट्टिएर पुग्ने गरेको छ । यस्को तत्काल समाधानको कुनै वैधानिक समाधान देखिंदैन । यसले पुँजी निमार्णमा ठूलो अवरोध सृजना गरेको छ । दलाल पुँजीवाद यस बिरुद्ध छैन, अझ भन्दा बरु प्रोत्सान दिएर कुप्रथाको जगेर्ना गर्ने नीति अघिसारिरहेको छ । यस कार्यले राष्ट्रिय पुँजीको निर्मा हुन पनि दिंदैन र जनवादी संस्कार र संस्कृतिको विकास गर्न पनि दिंदैन । यसले राष्ट्रियतामा समस्या सृजना गरेर दलालीकरण बढाइरहेको छ । जुनसुकै राजनीतिक दल सरकार सञ्चालन गर्न पुगून्, मूल चरित्र उही वा उस्तै हुन्छ भन्ने प्रमाणित भैसकेको छ । के प्रष्ट छ भने अहिलेको राज्यसत्ता नै दलाल पुँजीवादी छ । स्पष्ट नै छ, राजनीतिक सत्ता प्रतिक्रियावादी नै छ र पुँजीवादको विकास गर्न अहिले पनि बलप्रयोगको बिकल्प नैं छैन ।

 

एकाथरि कम्युनिस्ट भनिएका पार्टीहरुले देखेको कुरा के छ भने यही स्थितिमा वा प्रतिक्रियावादी सत्तामा वैधानिक तरिकाबाट सरकार संहाल्न पुग्ने र सुधारात्मक तरिकाले समाजवादमा जाने हो । अहिलेका डबल नेकपा, रोहीत आदि यस लाइनमा देखिन्छन् । बदलिएको भनिएको समाजको वर्ग्विश्लेषण गर्दा सामन्त, दलाल र नोकरशाही राज्य भन्ने, त्यसमा पनि दलाल पुँजीवादले नेतृत्व गरेको भन्ने र यो व्यवस्थामा समाजवाद सम्भव छ भन्नु अवशरवादसिवाय केही हैन । के स्पष्ट छ भने संसारभर अवशरवादले त समाजवाद ल्याउने कुरै हुन्न बरु ल्याएको समाजवाद ध्वस्त पर्ने र नल्याएको ठाउँमा पनि असम्भव तुल्याइदिने मात्र हो । वर्गप्रति गद्दारी गर्ने अवशरवादीको काम जनतालाई भ्रम दिने हो र व्यक्तिगत स्वार्थका लागि वर्गवैरिको तावेदारि गर्ने हो । यो कम्युनिस्ट आन्दोलनबाट सिकिएको नकारात्मक पाठ हो ।

 

अर्काथरि कम्युनिस्ट भनिएकाहरु पनि छन् जो बल प्रयोबाट सत्ता प्राप्त गर्ने र समाजवादमा पुग्ने हो । बल प्रयोग नीति लिनेउनीहरुको गुण हुन्छ । वर्गप्रति इमानदार रहने हुँदाहुँदै पनि मालेमावादलाई आत्मसात गर्ने सवालमा कमजोरिको कारण केही त्यस्ता राजनीतिक दलहरुको पनि न्युनतम् कार्यक्रममा बिवाद छ— एउटा पक्ष छ नयाँ जनवादी नीति तथा कार्यक्रमबाट अघि बढ्ने र अर्कोले जनवाद युद्धको चरण हुने र समाजवादी लक्ष्यप्राप्ती नभएसम्म लडाईं जारि नै राख्ने भन्ने छ । आफ्ना कमिकमजोरिहरुको बारेमा अन्तरक्रिया गर्ने र हटाउने दिशामा नजाने हो भने अवशरवादीका लागि बाटो छोडिदिनु हुन्छ । अन्ततः यो संशोधनवादी रुपमा विकसित हुन पुग्छ भन्नेमा यी क्रान्तिकारि राजनीतिक दलले ध्यान दिनु जरुरि हुन्छ ।

 

समाजमा पुँजीको विकास हुननसक्नु नै अर्धसामन्ती अवस्था हो । नेपाली समाज त्यस्तै छ । अन्धविश्वासमा आधारित सामाजिक कृयाकलापबाट जो कोही उम्किन नसक्ने स्थिति व्याप्त छ । यतिसम्म कि घगडान कम्युनिस्ट हुँ भन्ने मानिस पनि आफूलाई अस्तित्वमा राखिराख्न नसकेको स्थिति देखिन्छ । पुष्पकमल र ओलीका आदित्य र होलीवाईन जस्ता पछिल्ला व्यवहार, नारायण काजीका जोखाना, माधव नेपालको गोडाको पानी अर्चाई, झलनाथका पाठपुजा आदिले के संकेत गर्दैछ भने सामन्तवादी पर्खाल वैधानिक बाटोबाट भत्काउन सकिनेछैन ।

 

पुँजीवादमा प्रवेश नगरेको समाज वा अर्धसामन्ती अवस्थाको समाजलाई यसरि पनि मापन गर्न सकिन्छ— एउटा परिवारले के कति कमाई गरेको हुन्छ र केकेमा खर्च छुट्याउन त्यो परिवार वाध्य हुन्छ भनेर मापन गर्न सकिन्छ । त्यो परिवारमा फजुल वा निस्कामकर्म के कति भएका हुन्छन् भनेर हेर्नु सहि हुन्छ । पुँजीवादमा प्रवेश नपाएको राज्यमा राज्यले नैं उक्त परिवारलाई वैज्ञानिक मार्ग पहिल्याउन सहयोग गरेको हुँदैन र उल्टो पुरातन परम्परामा जान वाध्य गरिरहेको हुन्छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top