कक्षा पाँचसम्मको पढाई दुई कोठामा

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ३२ गते शनिवार सिन्धुली

 

मेख तामाङ प्रावि वित्तिजोर कुविण्डेका कक्षा ५ का विद्यार्थी हुन् । तर स्कुलमा कक्षा ४ का भाईबहिनीसँग बसेर पढ्छन् । “स्कुल खुलेदेखी नै हामी यसै गरी बसीरहेका छौँ ।” उनले भने, “सुरु–सुरुमा त अर्काे कक्षाका मान्छेसँग बस्दा कस्तो अप्ठ्यारो लाग्थ्यौँ । केही नजानेको कुरा सोध्न पनि लाज लाग्थ्यो । अहिले त केही पनि लाग्दैन । सँगै खेल्छौँ ।”

 

“स्कुलमा एक जना म्याडम त हुनुहुन्छ । उहाँले सबै कक्षालाई पढाउन भ्याउनुहुन्न । त्यसैले हामीलाई एकै ठाँउमा राखेर पढाउनुहुन्छ ।” उनले भने ।

 

जिल्लाको गोलञ्जोर गाँउपालिका ४ स्थित यस विद्यालयमा कक्षा ४ र ५ का विद्यार्थीहरु बैशाखदेखि यसै गरी पढिरहेका छन् । विद्यालयमा शिक्षक नभएपछि यो विकल्प अपनाइएको विद्यालयको भनाई रहेको छ ।

 

मेघ जस्तै गंगा आले पनि यही स्कुलकी २ कक्षाका विद्यार्थी हुन् । तर स्कुलमा कक्षा ३ का दिदीदाईसँग बसेर पढ्छिन् । “हाम्रो कक्षामा ८ जना त छौँ ।” उनले भनिन्, “म्याडमले हामीलाई ३ कक्षामा गएर बस्नु भन्नुहुन्छ । त्यही भएर यहाँ आएर बसेको ।” हामीलाई कक्षा कार्य गर्न दिनुहुन्छ । दिदी दाई आ–आफ्नो गर्नुहुन्छ । हामी आँफ्नो किताबको गछौँ । केही आएन भने म्याडमलाई सोध्ने हो । उनले भनिन् ।

 

कक्षा ४ की मनिशाकुमारी ठकुरीलाई भने ५ कक्षाका दाईदिदीसँगै बसेर पढ्दा खुब्बै रमाइलो लाग्छ । “मेरो साथीहरु सबै स्कुल आँउदैनन् ।” उनले भनिन्, “हाम्रो कक्षाको सीता बुद्धहरु त सिन्धुली पढ्न गएका छन् ।”

 

शिशु कक्षादेखि ५ कक्षासम्म पढाई हुने यस विद्यालयमा शिक्षकको अभावका कारण २ वटा कक्षामात्रै सञ्चालन हुँदै आएको छ । “विद्यार्थी पनि एकदमै कम छन् । पढाउन शिक्षक पनि छैनन् । म मात्रैले कत्ता भ्याउनु । सबैलाई एकै ठाँउमा राखेर पढाइरहेकी छु ।” विद्यालयकी शिक्षिका जुनु श्रेष्ठले भनिन्, “४ र ५ लाई एउटा कोठामा १, २ र ३ कक्षालाई एउटा कोठामा राख्ने गरेका छौँ ।”

 

विंसं.२०२० सालमा स्थापना भएको यो विद्यालय वडाकै नमुना विद्यालयका रुपमा परिचित थियो । तर अहिले न विद्यार्थी छन् न शिक्षक नै । २०७२ सालको भूकम्पका कारण विद्यालय भत्किएपछि विद्यार्थीको संख्या घट्दै गएको शिक्षिका श्रेष्ठले बताइन् । भन्छिन्, “पहिले ढेड सयसम्म विद्यार्थीहरु हुन्थ्ये तर अहिले त मुस्किलले २५ जना आँउछन् । कहिले त सबै कक्षाका १० जना पनि आँदैनन् ।”

 

उनका अनुसार अहिले शिशु कक्षामा १०, कक्षा १ मा ६, २ मा ८, ३ मा ६, ४ मा ७ र ५ कक्षामा ५ जना विद्यार्थीहरु छन् । त्यसमा पनि नियमित विद्यालय नआउने समस्या धेरै छ । “अहिले गाँउपालिकाले दिवा खाजाको व्यवस्था गरेपछि भने विद्यार्थीहरु नियमित आउन थालेका छन् ।” शिक्षिका श्रेष्ठले भनिन्, “ खाजा खानकै लागि भएपनि एका दुई बाह्ेयक सबै विद्यार्थी नियमितरुपमा विद्यालय आउछन् ।” एक जना बराबर १५ रुपैयाँको खाजाको व्यवस्था गरिएको छ ।

 

कार्यालय सहयोगी शिक्षक

 

प्रावि वित्तिजोर कुविण्डेका कार्यालय सहयोगी दुई वटा जीम्मेवारीमा छन् । कार्यालय सहयोगी त छदैछ उनले बैशाख महिनादेखि शिक्षकको काम पनि गर्दै आएका छन् । विद्यालयको आन्तरिक स्रोतबाट ३ हजार रुपैयाँ तलब थपिएपछि उनले अहिले कक्षा १ देखि ३ कक्षासम्मका सबै विषय पढाईरहेका छन् । कक्षा ८ मात्रै पास गरेका यादवलाई विद्यालय व्यवस्थापन समितीले नै यो जीम्मेवारी थपिदिएको हो ।

“जुनु म्याडमले मात्र नभ्याएपछि मलाई पनि पढाईदिनु पर्यौँ भन्ने कुरा आयो । आँफूले जानेको काम गर्न मलाई केही समस्या छैन । यादवले भने, “देश विदेश घुमेको छु । साना कक्षाको अंग्रेजी र गणित जानेको छु । अरु त झन् सजिलै छ ।”

 

विद्यालयका प्रध्यानाध्यापक र अर्का एक जना शिक्षकले अस्थाई दरबन्दि आन्तरिक शिक्षा आयोगमा नाम निकाल्न नसकेपछि चैतदेखि नै दुबैले विद्यालय आउन छाडे । अहिले बाल विकासमा एक जना, राहत कोटामा १ जना र कार्यालय सहयोगी १ जनाले विद्यालय सञ्चालन गरिरहेका छन् ।

 

“बेला–बेलामा तालिम कार्यक्रमहरु भइरहन्छन् । म आँफै हिड्पर्छ । म नहुदाँ विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएपछि यादव जीलाई तलब थप गरेर पढाउन अनुमती दिइएको हो ।” शिक्षिका जुनुले भनिन्, “आजसम्म हामीले विद्यालय बन्द चाँही गरेका छैन । जसरी हुन्छ चलाइरहेका छौँ । दुई जना भइकन मलाई अलि सहज भएको छ ।”

 

शिक्षक नहुदाँ भएका विद्यार्थीहरुलाई पनि राम्रोसँग पढाउन नसकिएको भन्दै विद्यालयको पढाई प्रभावित भएको उनको भनाई रहेको छ । दरबन्दि अनुसार शिक्षक नहुदाँ शैक्षिक गणुस्तरमा असर परेको भन्दै शिक्षकको व्यवस्था गरिदिन आग्रह गरिएको उनले बताइन् ।

 

साथै विद्यालय व्यवस्थापन समितीले विद्यालयमा दुई जना शिक्षकको व्यवस्था गरिदिन गाँउपालिकालाई निवेदन दिने तयारी गरेको जनाइएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top