अम्रिसोको बिरुवा बेचेरै मनग्य आम्दानी

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २९ गते बुधवार रतनचुरा(सिन्धुली)

 

गोलान्जोर गाँउपालिका–५ धुरेडाँडा निवासी कृषक हरिशरण बस्नेत यतिबेला अम्रिसोको विरुवा खन्ने र बेच्ने तरखरमा छन । उनको खेतबारीमा ६० हजार भन्दा बढी अम्रिसोको विरुवा छन् ।

 

अम्रिसोको विरुवा बिक्री गरेर गत वर्ष तीन लाख रुपैयाभन्दा बढी आम्दानी लिएका कृषक बस्नेतले यो बर्ष भने चार लाख रुपैयाभन्दा माथि नै आम्दानी लिने सोच बनाएका छन । अम्रिसो खेती गर्नेहरुलाई विरुवा सार्ने र हुर्काउने उपयुक्त मौसम भएकाले विरुवा विक्री पनि यतिबेलै गर्नु पर्ने बस्नेतलाई चटारो छ ।

 

“राम्रो कमाई हुने भएकाले धान र मकै रोप्न छाडेर ४० रोपनी जति जमिनमा व्यवसायिक रुपमा नै अम्रिसो खेती गर्दै आएको छु,” उनले भने, “गत बर्षभन्दा अघिल्लो बर्ष चार लाख ६५ हजार रुपैया जति आम्दानी लिएको थिए । बिरुवा, कुचो र घाँस बिक्री गरि अम्रिसो खेतीबाट आम्दानी लिन सकिन्छ ।”

 

सोही ठाँउका कृषक चन्द्रबहादुर बस्नेतले पनि झण्डै ७० रोपनी जमिनमा अम्रिसो खेती गर्दै आएका छन । उनि पनि यतिखेर अम्रिसोको बिरुवा बिक्री गर्न बजारको खोजिमा छन । उनको पनि एक लाख भन्दा बढी नै अम्रिसोको विरुवा छ । बर्षाको मौसम अम्रिसोको बिरुवा सार्ने र हुर्काउने उपयुक्त सिजन भएकाले जिल्ला बाहिरबाट अम्रिसोको बिरुवा माग भई बिक्री हुने उनले बताए ।

 

“यो बर्षपनि दुई लाख रुपैयाजति बिरुवाको माग भई सकेको छ, गाँउका सबै मिलेर बिक्री गर्दछौं,” उनले भने, “एउटा बिरुवाको दुई रुपैयाका दरले बिक्री हुदै आएको छ ।’

 

रतनचुरामा गठन भएको कवुलियती वन समुह सञ्जालका पूर्वअध्यक्ष कृषक प्रकास लुङ्गेलीका अनुसार महाभारत क्षेत्र अन्तर्गत पर्ने यस ठाँउमा सबै भन्दाबढी अम्रीसो पाइन्छ । यहाँका सौर्यडाँडा, आहालडाँडा, सहनशिल, गौरीशंकर, पानीघाट, आहरडाँडा लगायतका कवुलियती वन समुहमा गरी यस वर्ष झण्डै पचास लाख रुपैयाँ बराबरको अम्रिसोको विरुवा बिक्रीका लागि तयारी अवस्थामा रहेको छ । उनले राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले कबुलियती वन बाहेक धान मकैलाई मासेर खेतबारीमा समेत व्यवसायिक रुपमै अम्रिसो खेती गर्दै आएको बताए ।

 

उनका अनुसार यहाँका कबुलियती वनबाट २० लाख वटासम्म गुणस्तरिय बिरुवा बेच्न सकिन्छ । रतनचुरामा समुह र निजी गरी झण्डै एक हजार छ सय रोपनीमा अम्रिसो खेती गरिएको छ । यहाँ गठन भएका २५ वटा कबुलियत वन समूहमा ६२५ बढी कृषकहरु आबद्ध भएका छन् ।

 

कृषकहरुले रतनचुरामा उत्पादीत अम्रिसोको विरुवा र फुललाई जिल्ला भित्रै तथा विभिन्न सडक आयोजनाका साथै रामेछाप, काभ्रे, दोलखा लगायतका जिल्लामा समेत पु¥याएर विक्री गर्दै आएका छन् । घाँस भने समुहभित्रैका कृषकहरुलाई विक्री गर्ने गरीएको छ । यहाँको अम्रिसो खेतीका लागि डिभिजन वन कार्यालय तथा विभिन्न गैरसरकारी संस्थाको समेत सहयोग रहेको छ ।

 

अम्रिसो खेतीकै कमाईले यहाँका कृषकले छोराछोरी पढाउनेदेखि लिएर घर खर्च टार्नुका साथै गुजरा चलाउदै आएका स्थानीय बासिन्दाको भनाई छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top