सिन्धुली अस्पतालको ओ.पि.डी. सेवा बन्द

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २८ गते मंगलवार सिन्धुली

 

 

सिन्धुली अस्पतालका चिकित्सक दिवस ढकाल माथि हातपात भएको भन्दै आज अस्पतालको ओ.पि.डी सेवा बन्द गराइएकोे छ । सोमवार राती बिरामी चेकजाँच गर्ने क्रममा अस्पतालका डा. ढकाल माथि हातपात भएको र डा. प्रकृती मिश्र माथि अपशब्द बोलिइएको भन्दै चिकित्सकले अस्पतालको ओ.पि.डी सेवा बन्द गराएका हुन् ।

 

बिरामीको उपचारमा खटिरहदा पनि आफूहरुको सुरक्षाको प्रत्याभुत नभएको भन्दै चिकित्सकले ओ. पि.डी. सेवा बन्द गरेको बताएकाछन् । ओ.पि.डी. सेवा बन्द भए पनि अस्पताल बाहिर बिरामीलाई लाईनमा राखी आकस्मीक सेवा भने दिइएको अस्पताल विकास समितिले जनाएको छ ।

 

राती ४ महिने एक गर्भवती महिलाको स्वास्थ्य परिक्षण गर्ने क्रममा डा. प्रकृती मिश्र माथि निज महिलाको आफन्तले अपशब्द बोलेको र उपचारमा सहयोगको लागि डा. ढकाललाई बोलाउदा उनि माथि हातपात भएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए ।

 

घटनामा संलग्नको पहिचान गरी आवस्यक कारवाहीको लागि प्रहरीलाई अनुरोध गरिएको बताए ।

 

यसै बिच नेपाल चिकित्सक संघले मंगलबार विज्ञप्ति जारी गर्दै डाक्टर तथा स्वास्थ्यकर्मीलाई हातपात गर्नेलाई बिना धरौटी जेल चलान गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।

 

“ सिन्धुली अस्पतालको आकस्मिक कक्षमा कार्यरत नेपाल चिकित्सक संघका आजीवन सदस्य डा दिवस ढकालज्यूमाथि मिति २०७६ जेठ २७ गते राति ११ः३० बजे अस्पताल परिसरमै गरिएको अभद्र व्यवहार, गालीगलव्ज तथा शारीरिक हमलाप्रति नेपाल चिकित्सक संघ घोर भर्त्सना र निन्दा गर्दछ,” संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

संघले घटनामा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याउनका लागि हालको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी बिना धरौटी जेल चलान को प्रावधान समावेश गरेर कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइसकेको व्यहोरा स्मरण गराउँदै स्थानीय सुरक्षा निकायले उक्त ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top