‘जुनार’को जिल्लामा व्यावसायिक किबी खेती

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २८ गते मंगलवार काठमाडौं

 

सिन्धुली– ‘जुनार’को जिल्ला भनेर चिनिएको सिन्धुली जिल्लाको महाभारत क्षेत्रका किसानको किबीको खेती आकर्षण बढ्दै गएको छ ।

 

किबि खेतीबाट मनग्ये आम्दानी हुने देखेपछि नयाँ खेतीको रुपमा जिल्लाका ग्रामीण भेगका कृषकहरुले खेतबारी बारीमा ब्याबसायिक किबि खेती शुरु गरेका छन् । किबीको राम्रो सम्भावना बोकेको सिन्धुली जिल्ला भए पनि किसानले व्यावसायिक रुपमा खेती नगर्दा सिन्धुलीमा किबी उत्पादन थिएन । तर पछिल्लो समय बजारीकरणका लागि कुनै समस्या नभएपछि किसान किबीखेतीतर्फ आकर्षित भएका हुन् ।

 

किबीलाई बहुउपयोगी फल मानिन्छ । यस फलको बजार मूल्य प्रतिकिलो ५सय देखी सात सय रूपैयाँ सम्म पर्ने गर्दछ । विभिन्न १२ प्रकारका फलको स्वाद एकै फलमा पाइने किबीको बिरुवा पुस महिनामा रोप्न सकिने कृषि प्राविधिकको भनाइ छ । रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने किबीको बिरुवाले लगातार ५० वर्षम्म राम्रो उत्पादन दिने बताइएको छ ।

 

सबिक महादेवडाँडा–४ दमारका कुमार बहादुर कार्कीले केहीबर्ष अगाडी देखि झन्डै तीन बिगाहा जमिनमा एक हजार ५०० भन्दा बढी किबीको बिरुवा रोपेर व्यावसायिक उत्पादन सुरु गरेका छन् । उनले किबीको बजार भाउसमेत आकर्षक भएको बताए । प्रतिकेजी पाँच सय रुपैयाँसम्म किबीको बजार भाउ रहेको किसान बताउँछन । उत्पादित किबीलाई हालसम्म बजारको कुनै समस्या छैन । “हामीले उत्पादन गरेको किबी गाउँमै बिक्री वितरण हुन्छ”, देवकोटाले भने, “हालसम्म बजार खोज्दै जानुपर्ने अवस्था छैन ।”

 

यसैगरि तीनपाटन गाउँपालिकास्थित बाहुनतिल्पुङका गुञ्जबहादुर देवकोटाले व्यावसायिक किबीखेती सुरु गरेका छन ्। यस क्षेत्रमा किबीको सम्भावना राम्रो भएकाले किबीखेती सुरु गर्न किसान हौसिएका हुन् । “हाम्रोतिर किबीको उत्पादन राम्रो हुन्छ”, देवकोटाले भने, “त्यसैले व्यावसायिक किबीखेतीको सुरुआत गरेको छु ।”

 

किबीको उपभोग गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले धेरैले किबी खाने गरेको किसान बताउँछन् । “स्वास्थ्यका लागि किबी फल धेरै राम्रो हो”, उनले भने, “मानिसहरू चाख्नकै लागि भए पनि किबी किन्छन, त्यसैले बजारको कुनै समस्या छैन ।” सोही क्षेत्रका जितबहादुर तामाङ पनि किबीको व्यावसायिक खेती सुरु गरेको बताउँछन् । “रोपेको तीन वर्षमा फल दिन सुरु गरेको छ”, जितबहादुरले भने, “एउटा बोटमा पाँच केजीसम्म फल्ने देखिएको छ ।” उनले आफ्नो बारीमा ५० भन्दा बढी किबीको बोट भएको बताए । किबी उत्पादन गर्ने किसान जिल्लामा धेरै नहुँदा किबीको महत्व बढेको छ ।

 

जिल्लाको साहुनतिल्पुङ, महादेवडाँडा, रतनचुरा, रत्नावती, तोश्रामखोला, जलकन्या, मझुवालगायतका महाभारत क्षेत्रका साविकका गाविसमा किबीको व्यावसायिक खेती गर्न सकिन्छ । तथापि किबीको व्यावसायिक खेती गर्ने किसान धेरै नभएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । “केही किसानले व्यावसायिक खेती सुरु गरेका छन, तथापि धेरै किसानले हालसम्म खेती गरेका छैनन”, कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालले भने, “यसलाई व्यावसायिक बनाउने हाम्रो लक्ष्य छ ।” उनले किबीको व्यावसायिक खेतीलाई बढाउनसके पर्यटकीय आकर्षणसमेत बढ्ने जनाए ।

 

तीनपाटनस्थित बाहुनतिल्पुङका वडाध्यक्ष रेखराज अधिकारी वडामा किबी खेती गर्न किसानलाई प्रोत्साहन गर्ने बताउँछन् । ‘हाम्रो वडाको प्रमुख नगदेबालीको रुपमा किबीलाई विकास गर्न सकिने देखेका छौं’, उनले भने, “किसानलाई किबी खेती गर्न प्रोत्साहन गर्छाैं ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(जुनार सुपर जोन)का प्रमुख देवराज अधिकारी जिल्लामा किबीखेतीको सम्भावना भए पनि व्यावसायिक रुपमा खेती गर्ने किसान निकै कम भएको बताउँछन् । “जिल्लामा किबीको खेती भइरहेको छ, व्यावसायिक खेती गर्ने किसान थोरै छन”, उनले भने, “गोलञ्जोर गाउँपालिकाको हिर्दिङ, सुनकोसी गाउँपालिकाको मझुवालगायतका क्षेत्रमा यसको सम्भावना राम्रो छ ।”

 

उसो त व्यावसायिक खेतीमै महादेवडाँडाका दुई किसान पनि जुटेको स्थानीय बताउँछन् । समुद्री सतहबाट १४ सयदेखि १८ सयसम्मको उचाइमा यो खेती उपयुक्त हुने अधिकारी बताउँछन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top