शैक्षिक उपलब्धी बृद्धिका लागि शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २० गते सोमवार सिन्धुली

 

शैक्षिका तालिम केन्द्र धुलीखेलको आयोजनामा कमलामाई नगरपालिका अन्तर्गतका माध्यमिक तहका शिक्षकहरुको लागि सञ्चालित ५ दिने ICT सम्बन्धी कस्टमाइज्ड तालिम आज सम्पन्न भएको छ ।

 

यस आर्थिक बर्षमा धुलिखेल तालिम केन्द्रले मूलतः ३ नम्बर प्रदेशका १३ वटा जिल्लाहरुमा माध्यमिक तहका गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरुलाई ती विषयहरुको शैक्षिक उपलब्धी बृद्धि गर्ने उद्देश्यले कस्टमाइज्ड तालिम सञ्चालन गरेको धुलिखेल तालिम केन्द्रका प्रमुख चन्द्रप्रसाद लुइटेलले बताए । ३ नम्बर प्रदेशको एसइइ परीक्षाको नतिजा विश्लेषण गर्दा गणित विषयमा सवभन्दा कमजोर सिकाइ उपलब्धी रहेको तथ्यांक पेस गर्दै प्रमुख लुइटेलले भने, “विज्ञान र अंग्रेजी विषयको सिकाइ उपलब्धी पनि निराशाजनक छ, अव तालिम र अनुसन्धानसंग संगै गरेर तालिम पछिको कक्षा शिक्षणको प्रभावकारीता र सिकाइ उपलब्धीको अवस्था समेत विश्लेषण गरी थप योजना बनाइने छ” ।

 

 

कस्टमाइज्ड तालिम भनेकै शिक्षकलाई शिक्षण क्रियाकलापमा आइपर्ने समस्या समाधान गरी समस्यामा नै केन्द्रित भएर दिने तालिम हो, ICT को उचीत प्रयोगले शिक्षण कार्यलाई थप प्रभावकारी बनाउने उहाँको तर्क छ । आगामी दिनमा गणित, विज्ञान, अंग्रेजीका साथसाथै नेपाली र सामाजिक विषयको विषयगत तालिम पनि सञ्चालन गरी समग्र शैक्षिक उपलब्धी बृद्धि गर्ने योजना रहेको छ–उनले थपे ।

 

यसैवीच कमलामाईमा सञ्चालित ICTसम्बन्धी ५ दिने कस्टमाइज्ड तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाको मेयर खड्ख खत्रीले यस तालिमको प्रभावकारीता कक्षा शिक्षणमा प्रतिविम्बन हुने र सिकाइ उपलब्धीमा प्रगति हुदैजाने विश्वास व्यक्त गर्नुभयो । आउँदो साउन महिनामा विद्यालयको पठनपाठन प्रभावित नहुने गरी विदाको समयमा शिक्षकहरुलाई थप विषयगत तालिम दिने योजना रहेको पनि उनले उल्लेख गरे । म कमलामाई नगरपालिकाको सार्वजनिक शिक्षा सुधारमा जस्तो सुकै सहयोग गर्न पनि तयार छु भन्दै उनले थपे ,“ सवैको सहयोग र शिक्षकहरुको मिहेनतले मात्र मेरो योजना सफल हुन सक्छ ।”

 

कमलामाई नगरपालिकाका शिक्षा प्रमुख शंकर लुइटेलले तालिम समापन भएको छैन अव तालिम कक्षा कोठामा शुरु हुन्छ भन्दै तालिमको प्रभावकारीता सिकाइ उपलब्धीले निर्धारण गर्ने तर्क राख्नु भयो । यस तालिमले शिक्षण सिकाइलाई सहजीकरण गर्ने मात्र नभएर अव विद्यालयका धेरै प्रशासनिक काम पनि क्ष्ऋत् मार्फत गर्न सकिने सक्षमता प्राप्त भएको एक सहभागीले बताए ।

 

तालिमको प्रभावकारीता बारे सहभागीहरुको साझा मत थियो– यो तालिमको अवधी थोरै भयो यस्ता तालिम कम्तिमा पनि दश दिनको हुनुपर्छ । कमलामाई नगरपालिका अन्तर्गत कार्यरत माध्यमिक तह र आधारभूत तहका ४३ जना शिक्षकहरु सहभागी रहेको उक्त तालिम कार्यक्रमको सहजीकरण जगतबहादुर आलेमगरले गर्नु भएको हो । ICTको प्रयोगबाट कसरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयवस्तु समेटिएको यस तालिममा अनुसन्धानका नयाँ विधि र पद्धति पनि सिकाइएको सहजकर्ता आलेले बताए ।

 

अनुसन्धानमूलक लेख लेख्ने तरिका, अनुसन्धान प्रतिवेदन तयार गर्दा साइटेशन र सन्दर्भसामग्री लेख्दा  ICT लाई कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे शिक्षाविद् डा. हरिप्रसाद पोखरेले तालिमको अन्तिम सेशनमा सहभागीहरुलाई आफ्नो अनुभव बताएका थिए । तालिमको समन्वय कमलामाई नगरपालिकाले गरेको हो ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top