एक शिक्षकको भरमा चल्दै प्रावि वितिजोर

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ११ गते शनिवार सिन्धुली

 

गोलञ्जोर गाउँपालिका ४ स्थित प्राथमिक विद्यालय वितिजोर कुपिण्डे एक जना शिक्षकको भरमा चलेको छ । विद्यालयमा एक राहत शिक्षक जुनु श्रेष्ठ मात्रै रहेकी छिन् । विद्यालयका प्रधानाध्यापक सहित अर्का एक जना अस्थाई शिक्षक, शिक्षक सेवा आयोगले अस्थाई शिक्षकका लागि लिएको आन्तरिक परिक्षामा असफल भएपछि विद्यालयमा शिक्षकको अभाव भएको हो ।

 

अहिले प्रावि वितिजोर कुपिण्डेमा शिक्षकको नाममा एक जना राहत शिक्षक श्रेष्ठ मात्र रहेकी छिन् । भने बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ता तृष्णा कुवर छिन्, उनको डिउटी १ बजेसम्म मात्रै छ । उनी १ बजेपछि घर जान्छिन् ।

 

विद्यालयमा एक जना विद्यालय सहयोगी यादव ठकुरी छन् । “विद्यालय सहयोगीले पनि पढाउने गरेका छन् ।” शिक्षक श्रेष्ठ भन्छिन्, “विद्यालयमा शिक्षकको अभाव भएपछि विद्यालय व्यवस्थापन समितिले नै विद्यालय सहयोगी यादवलाई पढाउन दिने निर्णय गरेको हो ।” विद्यालय सहयोगी यादवले ८ कक्षा पढेका छन् । विद्यालयको पठन–पाठन नै ठप्प हुने भएपछि विद्यालय सहयोगीलाई विद्यालयको आन्तरिक श्रोतबाट ३ हजार समेत थपेर पढाउन लगाइएको शिक्षक श्रेष्ठले बताइन् ।

 

शिक्षक आफू मात्र रहेकाले १,२ र ३ कक्षाका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर पढाउने गरेको शिक्षक श्रेष्ठले बताइन् । त्यस्तै ४ र ५ कक्षाका विद्यार्थीहरुलाई पनि एउटै कक्षामा राखेर पढाउने गरेको उनी बताउछिन् । “कहिले काहि त ५/७ दिननै शिक्षकको लागि तालिम हुन्छ । कहिले कार्यक्रम पर्छ । जानु परिहाल्यो ।” शिक्षक श्रेष्ठले भनिन्, “त्यति बेला त विद्यालय सहयोगीले कै भरमा विद्यालय चल्ने हो ।’

 

“अरु बेला पनि मानिसको शरिर न हो, कहिले विरामी परिन्छ ।” उनले भनिन्, “कहिले कार्यालय सहयोगी विरामी पर्छन् त कहिले घरायसी काम परेर आउदैनन् । त्यस्तो बेला त सबैलाई एकै ठाउँमा राखेर पढाउनुपर्छ ।” यसरी सबैलाई एकै ठाउँमा राखेर पढाउँदा समस्या पर्ने शिक्षक श्रेष्ठ बताउछिन् । उनी भन्छिन्, ‘एकै ठाउँमा राखेर पढाउदा समस्या हुन्छनी, तर के गर्नु अरु शिक्षक छैनन् ।”

 

यता विद्यार्थीहरुको पनि उस्तै गुनासो छ । सबै कक्षाका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर पढाउदा आफूहरुलाई डिस्टप हुने उनीहरु बताउछन् । कक्षा ५ मा अध्यनरत प्रथम विद्यार्थी समेत रहेका मेख तामाङ भन्छन्, “सबैलाई एकै ठाउँमा राख्दा धेरै नै समस्या भएको छ । हामी कहिले गणितको हिसाब सिकिरहेका हुन्छौ । कहिले मेडमले नेपाली व्याकरण सिकाइ रहनुभएको हुन्छ । एक, दुई कक्षामा पढ्ने भाई बहिनीहरु भने चल्ने, झगडा गर्ने, एकले अर्कोलाई पिट्यो, जिस्कायो भनेर रुने, कराउने गर्छन् । जसले गर्दा हाम्रो पढाईमा डिस्टप हुन्छ ।” कक्षा ४ मा पढ्ने मनिशा कुमारी ठकुरी, ३ मा पढ्ने इन्दिरा आले मगर पनि सबै एकै ठाउँमा बसेर पढ्दा हल्ला बढि हुने बताउछन् ।

 

प्रावि वितिजोर कुपिण्डेमा आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरीहरु अध्यनरत छन् । शिक्षक श्रेष्ठ भन्छिन्, “आर्थिक अवस्था राम्रो भएकाहरुले भने सदरमुकाम सिन्धुलीमाढीमा राखेर छोराछोरीहरुलाई पढाएका छन् । सदरमुकाममा राखेर पढाउन नसक्नेहरुले मात्र यस विद्यालयमा पढाएका छन् ।” कुपिण्डेमा प्रावि वितिजोर मात्रै छ । आफ्ना छोराछोरीलाई अन्त पढ्न पढाउन पनि टाढा पर्छ । त्यहाबाट झण्डै डेड घण्टा टाढा पञ्चकन्या निमावि छ । प्रावि वितिजोर कुपिण्डेमा ४२ जना विद्यार्थीहरु रहेका छन् ।

 

गाँउपालिकाले सामुदायिक विद्यालयमा लागु गरेको दिवा खाजा कार्यक्रमपछि विद्यार्थीहरु नियमित विद्यालय आउने गरेका छन् । तर शिक्षकको अभाव हुँदा भने गुणस्तरिय पठनपाठन हुन नसकेको शिक्षक श्रेष्ठ बताउछिन् । शिक्षकको पद रिक्त भएपछि विद्यालय व्यवस्थापन समितिलाई आफूले पटक–पटक भनेको शिक्षक श्रेष्ठले बताइन् । विद्यालय व्यस्थापन समिति र अभिभावकहरुको बैठकले रिक्त शिक्षकबारे वडा कार्यालयमा जानकारी गराएर शिक्षकको व्यवस्था गर्ने आश्वसन दिएको उनले बताइन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top