नेकपाको संगठनमा ३४ सय ८८ लाई जिम्मेवारी

शुरोजङ्ग पाण्डे २०७६ जेठ ४ गते शनिवार काठमाडौं

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो । महासचिव विष्णु पौडेलले जनसंगठनका संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरे ।

 

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सम्पन्न सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो । सचिवालय बैठकले २३ जनसंगठनमध्ये पूर्वएमालेलाई १६ र पूर्वमाओवादीलाई ६ वटा जनसंगठनको नेतृत्व हुने गरी भागबन्डाको टुंगो लगाएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ ।

 

पुच्छर हटाएर जनसंगठनको नयाँ नाम, तोकियो केन्द्रीय कमिटी संख्या साबिक एमाले र माओवादीको जनसंगठन एकीकरणसँगै केन्द्रीय सचिवालयले नयाँ संगठनको नाम पनि अनुमोदन गरेको छ । जनसंगठनहरूको पूर्वनामको पुच्छर हटाएर अधिकांशको नयाँ बनाइएको छ । पूर्वएमाले समूहले नेतृत्व पाएको अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय छ । त्यस्तै, नेपाल भूमिहीन सुकुम्बासी संगठन ९९ सदस्यीय, अनेरास्ववियु २ सय ५१ सदस्यीय तोकिएको छ । ट्रेड युनियन महासंघ नेपाल, पेसागत महासंघ नेपाल, जनसांस्कृतिक महासंघ नेपाल २ सय ५१ सदस्यीय तोकिएको छ ।

 

त्यस्तै, नेपाल मुस्लिम संगठन १६१ सदस्यीय, भूतपूर्व सैनिक तथा प्रहरी संगठन २५१ सदस्यीय, नेपाल बुद्धिजीवी संगठन १६१ सदस्यीय तोकिएको छ । पहिल्यै एकीकरण सम्पन्न भएको नेपाल प्रगतिशील इन्जिनियरिङ एसोसिएसन ९९ सदस्यीय, नेपाल कानुन व्यवसायी संगठन ४५ सदस्यीय, मानवअधिकार तथा सामाजिक अभियान नेपाल ४५ सदस्यीय तोकिएको छ । नेपाल उद्योग व्यवसायी महासंघ १५१ सदस्यीय, नेपाल निर्माण व्यवसायी संगठन ९९ सय सदस्यीय, प्रवासी नेपाली एकता मञ्च १९९ सदस्यीय तथा पेसागत महासंघ नेपाल १११ सदस्यीय तोकिएको छ । खेलकुद महासंघ नेपालको संयोजक र सहसंयोजक तोकिए पनि केन्द्रीय कमिटीको संख्या तोकिएको छैन ।

 

उता, पूर्वमाओवादी समूहले पाएको युवा संघ नेपाल २५१ सदस्यीय, अनेमसंघ २५१ सदस्यीय, प्रेस संगठन नेपाल १५१ सदस्यीय, नेपाल दलित मुक्ति संगठन २५१ सदस्यीय, आदिवासी जनजाति महासंघ २५१ सदस्यीय तोकिएको छ । अपांगता संगठन नेपाल ६९ सदस्यीय तोकिएको छ ।

 

ओली–प्रचण्डबीच मञ्चमा सिद्धान्तको बहस

 

पार्टी एकताको काम लगभग अन्तिम चरणमा पुग्नै लाग्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले अबको सैद्धान्तिक, वैचारिक कार्यदिशाबारे एउटै सार्वजनिक मञ्चबाट बहस सुरु गरेका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओली र प्रचण्डले समयानुकूल सैद्धान्तिक वैचारिक कार्यदिशाको प्रयोग र विकसित गर्नुपर्ने आवश्यकता औँल्याए ।

 

‘मदन भण्डारीले अगाडि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन । त्यस विचारधाराबाटै पार्टी अघि बढ्ने हो, किनभने त्यसपछि कता जाने हो ?’ ओलीले प्रश्न गर्दै भने, ‘अहिलेको धारबाटै हामी अघि बढ्छौँ, हाम्रो विचारधारात्मक एकता र स्पष्टताले सबै कुरालाई खँदिलो बनाउँदै लानेछ ।’

 

प्रचण्डले भने साबिक एमालेको जबज र माओवादीले अघि सारेको एक्काइसौँ शताब्दीको जनवाद तथा जनयुद्धको अनुभवबाट शिक्षा लिँदै जनताको जनवादको सैद्धान्तिक, वैचारिक कार्यदिशाका जगमा समाजवादको मोडल विकास गर्ने गरी महाधिवेशनमा बहस गर्नुपर्ने आवश्यकता औँल्याए ।

 

‘हामीले अन्धो भएर एकता गरेका होइनौँ, जनताको जनवादको सैद्धान्तिक कार्यदिशालाई तत्कालका लागि समाजवादको रणनीतिक प्रयोग गरेका हौँ,’ प्रचण्डले भने, ‘यो धरातलमा टेकेर महाधिवेशनसम्म पुग्दा सही विचार स्थापित गर्ने संकल्प गर्ने गरी हस्ताक्षर गरेका छौँ, समाजवादको नयाँ मोडल दिने आँट गरेका छौँ ।’ नयाँपत्रिकामा खवर छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top