वैदेशिक रोजगारीको भयावह प्रभाव

सम्पादकीय २०७६ जेठ ३ गते शुक्रवार सिन्धुली

 

रामेछाप जिल्लामा आत्महत्याको प्रमुख कारण वैदेशिक रोजगारी पनि रहेको तथ्यांकले देखाएको छ । रामेछाप त एउटा उदाहरणमात्र हो, देशका अधिकांश जिल्लाहरुमा वैदेशिक रोजगारीले आत्महत्या जस्तै थुप्रै समस्याहरु पैदा गरेको छ । समाजमा श्रीमानले श्रीमतिको हत्या गरेको लगायत समाजिक सम्बन्ध, सद्भाव र शान्तिनै खल्बलाउने गतिविधि हुदैँ आएको छ । वैदेशिक रोजगारीका कारण मानसिक समस्यापनि देखिदै आएको छ । रोजगारीकालागि लाखौँको संख्यामा युवाहरु विदेशिएका छन् । देशले रेमिट्यान्स पाएपनि समाजमा भने वैदेशिक रोजगारको प्रभाव भयावह छ । समाजको सद्भाव र शान्तिनै खल्बलाउने गरि बारम्बार विभिन्न घट्नाहरु सार्वजनिक हुदैँ आएको छ जस्को धेरैजसो कारण वैदेशिक रोजगारी नै हुने गरेको छ । विदेशबाट रेमिटेन्स मात्रै नभएर शिशु पनि भित्रिदै आएका छन् । वैदेशिक रोजगारीकालागि विदेशिएका महिलाहरुले बच्चा बोकेर आउने गरेको समाचारहरु पनि सार्वजनिक भएका छन् । यसरी विदेशमा समस्या परेपछि उनीहरु बाध्य भएर यस्ता समस्याको शिकारमा पर्ने गरेका छन् । समाजमा त्यस्ता घट्नाहरु देखेपछि भेदभाव समेत हुनेगर्दछ । यसरी समाजमा समग्र रुपमा वैदेशिक रोजगारले नकारात्मक असर पुर्‍याइरहेको छ । वैदेशिक रोजगारीका कारण सम्बन्ध विछेद, हत्या, हिंसामा पनि वृद्धि आउँदै गएको छ ।

 

 

तसर्थ,रेमिट्यान्समा मात्र लोभिएर वैदेशिक रोजगारीबाट समाजमा सिर्जित विकृति र विसंगतिलाई कुनै वास्ता नगर्ने हो भने घर बालेर कोइला बेचे सरह हुनेछ । अतः स्वदेशमै रोजगारीको व्यवस्था गर्दै समाजमा पर्ने नकारात्मक असरको बारेमा सम्बन्धित सबै पक्षले गम्भिरताका साथ मनन गर्न आवश्यक छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top