फलफुल प्रशोधन उद्योग अलपत्र अवस्थामा

   बाबुराम देवकोटा २०७६ जेठ ३ गते शुक्रवार सिन्धुली

 

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ मा निर्माणाधिन  फलफुल प्रशोधन उद्योग सरकारी अनुदान रोकिदा अलपत्र अवस्थामा पुगेको छ ।

 

नेपाल सरकारको थ्रिपिपि मोडेल अन्तर्गत सरकार, उद्योगी र किसानको समेत लगानी गरेर कुल छ करोड रुपैयाको लागतमा सिन्धुलीगढी जुनार तथा फलफुल प्रशोधन कम्पनीले सात बर्ष अघि उक्त उद्योगको निर्माण सुरु गरेको थियो । उद्योग बाणिज्य महासंघ मार्फत आउने सरकारी अनुदान रोकिदा उक्त उद्योग अधुरो रही अलपत्र अवस्थामा रहेको सञ्चालकहरुको गुनासो छ ।

 

 

उद्योग बाणिज्य महासंघको एक गाँउ, एक उत्पादन परियोजना अन्तर्गत उक्त फलफुल प्रशोधन उद्योग निर्माण सुरु गरिएको सञ्चालकहरुले बताएका छन् । “उद्योग बाणिज्य महासंघले हात झिकेपछि सरकारले दिने अरु करिब दुई करोड रुपैया रोकियो” उक्त उद्योग सञ्चालक समितिका सदस्य दिपक कोईरालाले भने, “उद्योग बाणिज्य महासंघमा सुरज बैद्यको नेतृत्व हुदा उक्त परियोजना आई उद्योग निर्माण सुरु भयो । महासंघमा नेतृत्व परिवर्तन भएपछि अर्कोले त्यसलाई वास्ता गरेन । हामीले त्यही बुझेका छौं ।”

 

“उक्त उद्योग निर्माणका क्रममा अहिलेसम्म सरकारको करिब दुई करोड अनुदान र किसानको लगानी समेत गरेर चार करोड रुपैयाभन्दा बढी खर्च भई सकेको छ,” उनले भने, “भौतिक संरचना निर्माण कार्य पुरा भई सकेको छ । अहिले भवन र ग्रेडिङ मेसिन मात्रै रहेको छ । जुस उत्पादन गर्ने मेसिनहरु पुरा भएको छैन ।”

 

सञ्चालक कोईरालाका अनुसार कृषक आफैले लगानी गरि उद्योग पूर्ण क्षमतामा  सञ्चालनमा ल्याउने अवस्था छैन । अब थोरै–थोरै भएपनि यो सिजनबाट उत्पादन सुरु गर्ने तयारी किसानहरुको छ । मुख्य गरी जुनार, भुईकटहर र आँपलाई प्रशोधन गरि गुणस्तरिय फलफुल बजारमा पु¥याउने उद्देश्यले उक्त उद्योग निर्माण सुरु भएको थियो । उक्त फलफुल प्रशोधन उद्योगमा उद्योग वाणिज्य महासङघका पूर्व अध्यक्ष सुरज बैद्य समेतको लगानी रहेको छ ।

 

सिन्धुली उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत रामकुमार राजभण्डारीका अनुसार उक्त उद्योगले निर्माण पुरा गरी परिक्षणका रुपमा जुनारको जुस पनि तीन बर्षअघि नै उत्पादन गरेको थियो । “तर अहिले किन सञ्चालनमा आउन सकेको छैन । हामीलाई पनि जानकारी छैन,” उनले भने ।

 

उक्त उद्योगका शेयरधनी सदस्य कृष्णप्रसाद गौतम भौतिक संरचना निर्माणको सबै काम सकिएर मेसिन ल्याउन नसकि उद्योग सञ्चालनमा नआउदा लगानी गर्ने कृषक निरास बनेका गुनासो गरे । “मेसीन ल्याउन एक करोड २५ लाख रुपैया चाहिन्छ, त्यो छैन,” उनले भने । फलफुललाई प्रशोधन गरेर प्याकिङ गरि अन्तर्राष्ट्रिय गुणस्तरको जुनार, भुँई कटहर र आँपलाई बजारमा पु¥याउने मुख्य उद्देश्य रहेको उक्त कम्पनीले जनाएको छ ।

 

शेयरधनी सदस्य गौतमका अनुसार पाच कठ्ठा क्षेत्रफलमा निर्माण भएको उद्योगको कुल लागत छ करोड रुपैयामध्यै दुई करोड रुपैया नेपाल सरकारको अनुदान र बाँकी रकम नेपाल उद्योग बाणिज्य महासंघ, जुनार केन्द्रिय सहकारी संघ लगायत जुनार कृषकहरुको शेयर रकम रहेको छ ।

 

नेपालमै जुनार उत्पादनमा प्रशिद्ध सिन्धुली जिल्लामा उक्त उद्योग स्थापना भएपछि आफुहरुले जुनार खेतीबाट राम्रो आम्दानी लिन सफल हुने जुनार उत्पादक कृषकहरुको भनाई छ । जिल्लामा एक हजार पा“चसय ३५ हेक्टर भन्दा बढि जमिनमा जुनार खेती भएको छ । जिल्लामा बर्सेनि कम्तिमा पनि १५ हजार मेट्रिकटन जुनार उत्पादन हुदै आएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top