गढ्तीर क्षेत्रमा खडेरीले मकै बाली सुक्दै

सिन्धुली साैगात संवाददाता २०७६ जेठ ३ गते शुक्रवार सिन्धुली

 

सिन्धुलीको सुनकोसी गढतीर क्षेत्रमा कृषकले लगाएको मकै बाली खडेरीले गर्दा सुक्न थालेको छ ।

 

लामो समयदेखि पानी नपरेर खेतबारीमा सुख्खा लाग्न गई मकै बाली नै सुक्दै गएको हो । झण्डै एक महिनादेखि अत्याधिक गर्मी बढ्न गई पानी नपर्दा त्यसको असर मकै बालीमा देखिएको कृषकहरुले बताएका छन् ।

 

सुनकोशी गाँउपालिका, गोलान्जोर गाँउपालिक र फिक्कल गाँउपालिका अन्तर्गत पर्ने गढतीर क्षेत्रको ४५ किलोमिटर लामो भुभागको आसपासमा रहेको करिब पाँच हजार रोपनीमा लगाएको मकै बालीलाई खडेरीले क्षती पु¥याएको बताईएको छ ।

 

“लामो समयदेखि आकासबाट पानी नपरेपछि खेतबारीमा नै मकैका बिरुवा खङ्ग्रङ सुकेका छन्,”गोलान्जोर गाँउपालिका–३ ग्वाल्टारका कृषक गौरब कार्कीले भने,“कुनै पनि सिंचाई सुविधा नहुदा टुलुटुलु हेरर बस्नुको बिकल्प छैन ।” गोलान्जोर गाँउपालिकामा मात्रै झण्डै १६ सय रोपनी जग्गामा लगाएको मकै बाली खडेरीबाट प्रभावित भएको उहाँको अनुमान् छ ।

 

उनले भने, “सुनकोसी नदी आसपास रहेका खेतबारीमै मकै बाली खडेरीले सुकेको छ । खेतबारी मुनी सुनकोसी बगेको छ, तर पानी लाग्दैन । सुकेको मकैको बोट हेरेर बस्नु परेको छ ।”

 

२०७२ सालको भुकम्पपछि पानीको मुहान सुक्नुका साथै बँचेको मुहानमा पनि पानीको मात्रा घट्न गई सिंचाई गर्न नसकिएको कृषकहरुको गुनासो छ ।

 

गोलान्जोर गाँउपालिका–६ बाशेश्वर निवासी कृषक बुद्धी श्रेष्ठले महाभारत क्षेत्र बाहेक गड्तीर क्षेत्रको मकैबालीमा खडेरीले सखाप पारेको गुनासो गरे । “मेरो पनि झण्डै पाँच रोपनी बारीमा लगाएको मकै बाली खडेरीले गर्दा सुकेको छ,” उनले भने, “बर्ष दिन खाने मकै बाली सुक्दा अधिकांस कृषकलाई राम्रो निन्द्रा लागेको छैन ।”

 

सुनकोसी गाँउपालिकाका अध्यक्ष दिपा बोहोराले खडेरीले खेतबारीमा लगाएको मकै बालीमात्र नभई खानेपानीको मुहान पनि सुकेको बताइन । उनले भनिन, “उक्त गाँउपालिका अन्तर्गत अनुदान दिएको केही ठाँउमा कृषकहरुले लिफ्ट सिंचाईको व्यवस्था गरी खेतको मकैमा सिंचाई गरेपनि बारीको मकैमा बढी समस्या देखिएको छ ।” अमारे, खहरेगाँउ, दुम्जाको माथिल्लो भाग, चैनपुर लगायतका ठाँउमा खडेरीको प्रभाव बढी देखिएको उनले जानकारी दिए ।

 

गोलान्जोर गाँउपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की पनि गाँउपालिकासँग स्रोत नहुदा खडेरी पीडित कृषकलाई राहतको कार्यक्रम गर्न नसकिएको गुनासो गरे । “खडेरीको भयंकर समस्या देखिएको छ,” उनले भने, “ खेतको मकै पनि बाँच्ने अवस्था छैन । झन् बारीमा रोपेको मकैको त कुरै छाडौं ।”

 

विद्युत बिस्तार नभएकोले लिफ्ट सिंचाई सञ्चालन गर्न पनि समस्या भएको उनको गुनासो छ ।
सिंचाई सुविधा भएको ठाँउमा हरियाली मकै रहेपनि अन्य ठाँउमा सुक्दै गएको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकाल बताउछन । कृषकहरु खडेरीको समस्या लिएर अहिलेसम्म कार्यालयमा नआएका भएपनि खडेरीको समस्या देखिएको उनको भनाई छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top