लैंङ्गिक समानताको लागि रणनितिक योजना बनाउदै स्थानिय तह

सिन्धुली साैगात संवाददाता २०७६ जेठ २ गते बिहीवार सिन्धुली

 

सिन्धुलीका स्थानिय तहहरु लैङ्गिक समानताका लागि रणनितिक योजना बनाउन लागि परेका छन् । महिलाहरुको नेतृत्व विकास गर्दै समतामूलक समाज निर्माणका लागि रणनितीक योजना बनाउने काम भइरहेको छ । कमलामाई नगरपालिकाले नगरभित्र लैङ्गिक समानता कायम गर्नका लागि रणनीतिक योजना तयार गरेको छ ।

 

आफ्नो नगरभित्र देखिएका लैङ्गिक असमानतालाई मध्यनजर गर्दै लैङ्गिकमैत्री स्थानिय तह निर्माणका लागि रणनितिक योजना तयार गरेको उपप्रमुख मञ्जु देवकोटाले बताइन् । नगरभित्र लैङ्गिक असमानताको अवस्थाबारे महिला अधिकारकर्मी, वृद्धिजिवि, नागरिक समाजका प्रतिनिधिनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थासंग सर्वेक्षण गरिएको उनले बताइन् । लैङ्गिक असमानता, हिंसा, विभेद लगाएतका विषयमा महिलाको अवस्थाबारे आएको मत परिणामपछि विषय विशेषज्ञ तथा महिला अधिकारकर्मी डा.रेणु भण्डारी अधिकारीको सहयोगमा गठित कार्यदलले विभिन्न चरणमा सरोकारवालासँग गरेको छलफलका आधारमा रणनीति बनाइएको उनले बताइन् ।

 

महिला वा पुरुष कसैलाई पनि लिंंङ्गकै आधारमा कुनै पनि कुरामा विभेद गर्नु हुँदैन । सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने कुरा रणनीतिक योजनामा समेटिएको उपप्रमुख देवकोटाले बताइन् । “रणनितिक योजना अहिले अध्ययनको क्रममा रहेको छ ।” उनले भनिन्, “नगर प्रमुखज्यूले अनुमोदन गरेपछि त्यसलाई अभियानकै रुपमा सञ्चालन गर्नेछौ ।” यस रणनितीक योजनाले समतामूलक समाज निर्माणमा सघाउ पुग्ने अपेक्षा लिएको उनले बताइन् ।

 

गोलञ्जोर गाउँपालिकाले भने लैङ्गिक समानताका लागि रणनितीक योजना बनाउने तयारी गरेको छ । आउदो जेठको पहिलो साताबाट रणनितिक योजना बनाउने तयारी भइरहेको उपाध्यक्ष गंगा श्रेष्ठले बताइन् । “महिला वा पुरुष कसैलाई पनि लिङ्गकै आधारमा विभेद गरिनु हुदैन । क्षमताका आधारमा अवसर दिइनुपर्छ भन्ने कुरालाई रणनितिक योजनामा समेटिएको छ ।”– उनले भनिन् । महिलाले आफू महिला भएकै कारण परिवार, कार्यक्षेत्र, अध्ययन क्षेत्र, सार्वजनिक स्थानमा मानसिक तथा शारीरिक हिंसा भोगिरहेको कुरालाई मध्यनजर गर्दै त्यसलाई न्यूनिकरण लागि रणनितीक योजना बनाइने उनले बताइन् ।

 

तिनपाटन गाउँपालिकाले पनि लैङ्गिक समानताका लागि रणनितीक योजना बनाउने तयारी गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष पदममाया तामाङले बताइन् । महिलामाथि हुने हिंसा न्यूनिकरणका लागि महिलाहरुको नेतत्व विकासका साथै सिपमूलक तालिम अपरिहार्य रहेकाले यी नै कुरालाई रणनितिक योजनमा समेटिइने उनले बताइन् । सिपमूलक तालिम अन्तर्गत अहिले उपाध्यक्ष उद्यमशिलता कार्यक्रम समेत सञ्चालन भइरहेको उनले बताइन् । यस कार्यक्रमले विशेष गरि महिलालाई सिप सिकाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्य लिएको छ । अधिकांश आर्थिक रुपमा परनिर्भर महिलाहरु हिंसामा परिरहेको सर्वेक्षणले देखाएकाले पालिकाले सिपमूलक कार्यक्रमलाई प्रथमिकतामा राखेको उनले बताइन् । “जबसम्म महिलाहरु आत्मनिर्भर हुँदैनन, तवसम्म उनीहरु हिंसामा परिनै रहन्छन् ।” उनले भनिन्, “हिंसाबाट बच्नको निम्ति सिप विकास कार्यक्रमलाई प्रथमिकतामा राखेर रणनितिक योजना तयार गर्नेछौ ।”

 

फिक्कल गाउँपालिकाले पनि लैङ्गिक समानताका लागि रणनितीक योजना बनाउने तयारी गरिरहेको छ । महिलालाई लिंङ्गकै आधारमा विभेद गर्न हुदैन । त्यसका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम देखि स्वयम महिलाकै नेतृत्व विकास गर्ने खालका कार्यक्रम बनाउने तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् । लैङ्गिक हिंसाबारे कानुनी ज्ञान तथा सचेतना जगाउन कार्यक्रम सञ्चालन गरिने समेत उपाध्यक्ष सुनुवारले बताइन् । स्थानीय तहमा जनप्रतिनिधि आउनु अघि विकास निर्माणका काममा महिला सहभागीता शून्य जस्तै भएकाले आफूहरुले भने अहिले विकास निर्माणका काममा अनिवार्य रुपमा महिला सहभागी गराउने गरेको उनले बताइन् । विकास निर्माणका लागि बनाइने विभिन्न उपभोक्ता समितीहरुमा ४० प्रतिशत महिला सहभागी हुनै पर्ने निती समेत योजनामा समेट्ने तयारी भइरहेको उनले बताइन् ।

 

जिल्लाको दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका लगाएतका अन्य स्थानिय तहहरुले पनि लैङ्गिक समानताको लागि रणनितिक योजना बनाउदै छन् । लिङ्गको आधारमा महिलाहरुले भाग्नु परेको शारिरीक र मानसिक विभेदको अन्त्यका लागि स्थानिय तहहरु रणनितिक योजना बनाउन लागि परेको बताउछन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top