चप बनाएर महिलाहरु परिवार धान्दै ,महिनाको ५० देखि ६० हजार रुपैया कमाई

सुजाता लामा २०७६ वैशाख ३१ गते मंगलवार सिन्धुली

 

दुधौली नगरपालिका वडा ३ झुगा चपका लागि प्रशिद्ध रहेको छ । यहाँका महिलाहरु चप बनाएर जिविकोपार्जन गर्दै आएका छन् । स्थानिय शोभा दनुवार धामी १० वर्षदेखि चप बनाउदै आएकी छिन् । ‘चप बजार’ भनेर समेत चिनिने झुगामा पुग्नेहरु उनले बनाएको चप नखाई हिड्दैनन् ।

 

झुगामा पहिलो पटक आलु चपको सुरुवात शोभाले नै गरेकी हुन् । शोभा दिनको १० देखि १२ किलो आलुको चप बिक्री हुने सुनाउछिन् । दिनको उनी १ हजार ५ सय देखि २ हजार रुपैयासम्म आम्दानी गर्ने बताउछिन् । “चपको व्यापार राम्रो छ । यहाँ आएका मानिसहरु चप नखाई हिड्दैनन् । यहाँ चप मिठो पाइन्छ रे खै खाउ त भन्दै विभिन्न ठाउँका मानिसहरु आइ पुग्छन् ।” उनी भन्छिन्, “दुधौली–सिन्धुलीमाढी–काठमाडौँको बाटो खुलेसंगै चपको व्यापार बढेको छ ।”

 

सुरुको दिनलाई सम्झदै शोभा भन्छिन्, “पहिलो खेतीपाती गथ्र्याै । खोलाले खेत बगाएपछी हाम्रो त गाँसै नै काटिएको थियो । झुँगा हुँदै धेरै ठाउँको गाडी ओहोर–दोहोर गर्ने बाटो बनेपछि मैले श्रीमानको सल्लाहमा चप बनाउन सुरु गरे । सबैले चप मिठो माने । चप मज्जाले बिक्री हुन थाल्यो ।” उनका श्रीमान अहिले एम्बुलेन्स चलाउछन् । श्रीमान र तपाइको कमाई कसको धेरै छ भन्ने प्रश्नमा उनी भन्छिन्, “श्रीमानको भन्दा त मेरै बढि छ । मेरो केहि नभए पनि महिनाको ५० देखि ६० हजार रुपैया कमाई हुन्छ । श्रीमानको १६ हजार रुपैया तलव छ ।”

 

चपबाट राम्रो आम्दानी भएपछि उनले २ छोरा र १ छोरीलाई कमलामाई नगरपालिका वडा नम्बर ८ भिमान स्थित बोर्डिङमा पढाइरहेको छिन् । श्रीमान एक्लैले कमाउदा घर परिवार चलाउन मुस्किल परेको बताउने शोभा अहिले त घर परिवार चलाउन पनि सहज भएको सुनाउछिन् ।

 

झुगाकै तेजु मगर पनि ९ वर्षदेखि चप बनाउदै आएकी छिन् । चपको माग धेरै भएकोले आफूले पनि चप बनाउन सुरु गरेको उनले बताइन् । “सुरुमा शोभा दिदिले मात्र चप बनाउनुहुन्थ्यो । चपको माग धेरै थियो । दिदिले मात्र बनाएकोले नपुग्ने देखेकीले मैले पनि चप बनाएर बेच्ने निधो गरे । शोभा दिदिले बनाएको हेरे र सोही अनुसार बनाए,” उनले भनिन् । चपको व्यापार राम्रो रहेको उनी सुनाउछिन् । उनको दैनिकी विहान ५ बजेबाट सुरु हुन्छ । ६ बजेबाट गाडी ओहोर–दोहोर गर्ने भएकाले विहान ५ बजेबाटै चप बनाउन सुरु गर्छिन् । उनी भन्छिन, “कतिपयले त चप बनाएर राखिदिनुहोला हामी आउदैछौ भनेर फोन गर्छन् । यही आएकाहरुले खान्छन् र घरमा पनि लान्छन् ।”

 

चपको आम्दानीबाट घर परिवार चलाउन र छोराछोरीको पढाई खर्च पुगेको उनको भनाई छ । चप बनाउनुभन्दा पहिले कमाई नहुँदा २÷४ पैसाको लागि पनि श्रीमानसंग माग्नु पथ्र्यो । अहिले त आफूलाई खान मन लागेको कुरा खान र लगाउन मन लागेको कुरा लगाउन पाएको उनी बताउछिन् । कमाउन थालेपछि घर परिवार र छिमेकिहरुले हेर्ने दृष्टिकोणमा समेत फरक आउने उनको अनुभव छ ।

 

झुगाकै चन्द्र कुमारी लुंंगेली पनि चप बनाएर जिविकोपार्जन गर्दै आएकी छिन् । झुगाको चप मिठो भन्दै खानेहरुको संख्या बढिरहेको उनको भनाई छ । सदाबहार चपको बिक्री राम्रो रहे पनि साउनमा भने अत्यधिक बिक्री हुने उनी बताउछिन् ।

 

साउनमा झुगा हुदै बाबाधाम जानेहरुहरु धेरै हुँदा चपको व्यापार बढ्ने उनले बताइन् । त्यतिबेला आफूले बनाएर मात्र भ्याई नभ्याई हुने भएकाले गाउँका अरु ५/६ जना महिलाहरुलाई समेत चप बनाउन राख्ने गरेको उनी सुनाउछिन् । त्यस्तै दशैमा पनि चपको माग बढि हुने चन्द्र कुमारी बताउछिन् ।

 

दशैमा घर आउने–जाने मानिसहरुको आवात जावत बढ्ने भएकाले चपको बिक्री बढि हुने उनको भनाई छ । “झुगाको चप मिठो हुन्छ भनेर गाडी रोकेरै अधिकांशले चप खाएरै जान्छन् । झुगाको चप मिठो हुन्छ ल्यादिनुन हैन भनेर कतिले त घरमै बसेर पनि आफन्त छिमेकीहरुलाई पैसा पठाइरहेका हुन्छन्,” उनले भनिन्, “सबैले कति मिठो यहाँको चप भनछन् । खुसी लाग्छ । आम्दानी पनी राम्रो छ ।”

 

चप बनाएरै उनले आफ्नो ३ वटा छोराछोरीलाई महोत्तरी जिल्लाको बर्दिबासमा रहेको नवक्षिती बोर्डिङमा पढाई रहेकी छिन् ।

 

झुगामा ९ वटा पसल रहेका छन् । जसमा ५ वटा पसलले चप बनाएर बिक्री गर्छन् । चप बनाउनेहरुमा सबै महिला नै रहेका छन् । ती सबै महिला चप व्यवसायबाट सन्तुष्ट रहेको सुनाउछन् । दुधौली–सिन्धुलीमाढी–काठमाडौँको बाटो खुलेसंगै झुगाका महिलाहरु चप बनाएर आर्थिक रुपमा सक्षम बनेका छन् भने उनीहरुकै मेहनतका कारण झुगा चपको लागि प्रशिद्ध बन्दै गएको छ ।
((

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top