प्रदेश ३ बैठकमा काँग्रेसको अवरोध

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख ३० गते सोमवार काठमाडौं

 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेश नम्बर ३ को संसद बैठक अबरुद्ध गरेको छ । काँग्रेस सांसदहरुले राजधानी नामाकरणको प्रक्रिया सुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै सोमबारको बैठक अवरोध गरेका हुन् ।

 

बैठकको सुरुमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन आव्हान सम्बन्धी प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको पत्र पढेर सुनाएका थिए । अधिवेशन सुरु भएको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य दिएपछि सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा काँग्रेस सांसदहरुले अवरोध गरेका हुन् ।

 

अधिवेशनलाई शुभकामना दिने क्रममा प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले हिउँदे अधिवेशनमा नै राजधानीको विषय टुंग्याउने बचन दिए पनि व्यवहारमा लागू नगरिएको भन्दै आक्रोश व्यक्त गरे ।

 

बैठक पश्चात पत्रकारको प्रश्नको जवाफ दिँदै प्रतिपक्षी दलका नेता बानियाँले अब प्रदेशको राजधानीको विषय प्रवेश नगराएसम्म संसद् अवरुद्ध गरिने बताए । सत्ता पक्षका उपनेता शालिकराम जम्कट्टेलले संसद् अवरुद्ध गरेर समस्याको हल नहुने र यसले द्वन्द्वमात्र निम्त्याउने बताए ।

 

काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख श्रेष्ठले बैठक स्थगित गरेका थिए । अर्को बैठक मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top