गोल्डेन गौरिका (हेरौँ १२ तस्बिर)

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख २१ गते शनिवार काठमाडौं

 

आठौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा आफूले भाग लिएको पौडीको सबै १२ इभेन्ट्समा गौरिका सिंहले स्वर्ण पदक जितिन् ।

 

 

बाँकी तस्बिर तल छ

 

उनले चारवटा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाइन्। पदकको दृष्टिकोणले उनी आठौँ राष्ट्रिय खेलकुदको सबैभन्दा सफल खेलाडी बनेकी छिन्।

 

नेपालगन्जको एउटा स्पर्धा जितेपछि उनले भनिन्, “मेरो बुवाको घर बझाङ हो। त्यसैले आफ्नै घरमा आएर खेलेझैँ महसुस भइरहेको छ।“

 

लण्डनमा बस्ने गौरिकाको नेपाली खेलकुद क्षेत्रमा विशेष परिचय छ। ब्राजिलको रियो ओलिम्पिक्सकी कान्छी खेलाडी बन्दा उनी विश्वव्यापी चर्चामा आएकी थिइन्।

 

नेपाली पौडीका लागि उनी अझ विशेष छिन्। दक्षिण एशियाली खेलकुदमा एकल रजत जितिसकेकी उनी नेपाललाई दक्षिण एशियाली खेलकुदमा व्यक्तिगत स्वर्ण दिलाउन सक्ने एक्ली उम्मेदवार हुन्।

 

त्यो अवसर यसै वर्ष काठमाण्डूमा हुने सागको १३ औँ संस्करणमा हुन सक्छ। यही उद्देश्यको पहिलो पाइला बढाउन उनी नेपालगन्ज आएकी हुन्।

 

“मेरो अबको लक्ष्य दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने हो। त्यसमा केन्द्रित भएर प्रशिक्षण गरिरहेकी छु, उनले भनिन्।

 

दुई वर्षअघि भारतको गुवाहाटीमा सम्पन्न १२ औँ दक्षिण एशियाली खेलकुदमा उनले नेपाललाई दुई सय मिटर इन्डिभिजुअल मिडलेमा रजत पदक जितेकी थिइन्।

 

र, केही सेकेण्डले उनी स्वर्ण जित्नबाट चुकेकी थिइन्। त्यो दूरी मेटाउने उनको अबको धोको हो।

 

 

परीक्षाको तयारी र खेलकूदको चिन्ता

 

आफ्नो लक्ष्यबारे उनलाई कुनै चिन्ता छैन। न त प्रतिद्वन्द्वीसँग कुनै डर नै।

बरु नेपालगन्जमा उनलाई एउटै चिन्ताले सताएको थियो निर्धा्रित समयमा नै प्रतियोगिता हुन्छ कि हुँदैन भनेर।

नेपालगन्जमा पौडी पोखरी निर्माणकै क्रममा रहेकोले निर्धा्रित समयमा खेल हुने टुङ्गो थिएन।

आयोजकले दावी गरिरहे पनि पोखरीमा पानी भरिएको थिएन र गौरिकाजस्तै अन्य कैयौँ खेलाडी र अभिभावक खेलतालिका तल(माथि पर्न सक्ने डरमा थिए।

 

आठौँ राष्ट्रिय खेलकुद आयोजकले केही दिन प्रतियोगिता सारेर भए पनि नयाँ पौडी पोखरीमा नै खेल सञ्चालन गर्ने भनिरहेका थिए।

छोरीलाई साथ दिन आएकी गौरिकाकी आमा गरिमा राणा सिंह भन्छिन्, “अर्को हप्ता छोरीको ओ लेभलको परीक्षा छ। समापन लगत्तै भोलिपल्ट हाम्रो लन्डनको टिकट बुक भइसकेको छ। त्यसैले खेल तालिका सर्छ कि भन्ने डर थियो। धन्न समयमै खेल भयो।“

त्यसैले गौरिकाजस्तै विदेशबाट आएका थुप्रै खेलाडी र अभिभावक नयाँ पोखरीमा खेल्न नपाएकोमा दुःखी छैनन्। बरु २५ मिटरको होटलको सानो पोखरीमा खेल्न पाएकोमा पनि खुशी नै छन्।

बरु एउटा संयोग के मिलेको छ भने १३ औँ साग काठमाण्डूमा २५ मिटरको पौडी पोखरीमा नै हुन लागेको छ।

काठमाण्डूमा मंसिरमा साग हुन लागेको हुँदा चिसो पानीमा त्यो सम्भव हुँदैन र अन्तर्रा्ष्ट्रिय नियम अनुसार २५ मिटरको पौडी पोखरीमा पनि अन्तर्रा्ष्ट्रिय प्रतियोगिता हुन्छ।

अहिले काठमाण्डूमा २५ मिटरको हिटिङ पुल निर्माण भइरहेको छ।

 

सर्ट कोर्ष

 

नेपालगन्जमा भएको पौडी प्रतियोगिता पनि शर्ट कोर्षमा भयो। ५० मिटर पोखरीमा खेल्ने लङ्ग कोर्ष र २५ मिटरको शर्ट कोर्षका सबै नियम फरक हुन्छन्, समय तालिका समेत।

त्यसैले भएका कीर्तिमानहरू शर्ट कोर्षकै तोडिएका हुन्। गौरिका त्यसमा पनि अब्बल भइन्।

लण्डनमा हप्ताको १६ घण्टा नियमित कडा प्रशिक्षण लिने गौरिकाको वास्तवमा आठौँ राष्ट्रिय पौडीमा कसैसँग प्रतिस्पर्धा थियो भने आफैसँग थियो।

अरू प्रतिद्वन्द्वीलाई निकै पछि पारियो नि भनी प्रश्नमा स्वाभाविक मुस्कान छर्दै उनले भनिन्, “ मेरो ध्यान आगामी साफमा स्वर्ण जित्ने हो। त्यसका लागि कडा मेहनत गर्ने हो। समय सुधार्ने हो। प्रतिद्वन्द्वी को हो भन्ने होइन्। मेरो प्रतिस्पर्धा मेरै पुरानो कीर्तिमानसँग हो।“

साफको उद्देश्यसँगै १६ वर्षीया गौरिकाका अगाडि थप दुई प्रतियोगिता छन्।

पहिलो आगामी जुलाईमा दक्षिण कोरियामा हुने विश्व च्याम्पियनशीप र त्यसपछि २०२० ओलिम्पिक्समा छनोट हुनु।

आमा गरिमालाई भने गौरिकाको चोटले हल्का चिन्तित बनाएको छ। अहिले गौरिकाको बाँया काँधमा चोट छ।

गरिमा भन्छिन्, “ सागमा स्वर्ण जित्नु र ओलिम्पिक्स पुग्नुसम्ममा लामो बाटो छ। हामी आफ्नो ठाँउबाट पूरा मेहनत गर्दैछौँ। हामीलाई सरकारको साथ अझै महत्त्वपूर्ण ऊर्जा हुनेछ।“

जति चिन्ता उनको अभिभावकलाई छ शायद गौरिकालाई नहुन पनि सक्छ।

उनको त एउटै दृष्टि छ। निरन्तर मेहनत गरिरहने र त्यसमा एक क्षण पनि अल्छी नहुने वा विलम्ब नगर्ने।

आठमा महिनापछि काठमाण्डूको चिसो मौसमले त्यसको नतिजा दिनेछ। उनी भन्छिन्, “ त्यसमा मबाट कुनै चुक हुनेछैन्।“

 

ब्राजिलको रियो दि जेनेरियोमा सन् २०१६ मा सम्पन्न विश्व खेलकुदको कुम्भ मेला ओलम्पिकमा नेपालले सम्झनलायक नतिजा ल्याउन नसकेपनि विश्वभर चर्चा पायो । त्यसको एउटै कारण थिइन्– पौडी खेलाडी गौरिका सिंह । नेपालले मात्र होइन, सारा बिश्वको ध्यान गौरिकामा केन्द्रित भएको थियो । ओलम्पिकमा सहभागी विश्वभरका ११ हजार २ सय ३८ खेलाडीमध्ये सबैभन्दा कम उमेरमा ओलम्पिकमा सहभागिता जनाउने खेलाडी थिइन् गौरिका सिंह । उनको उमेर त्यसबेला १३ वर्ष थियो ।

कान्छी ओलम्पियन भएपछि गौरिकाको चर्चा वबश्वभर भयो । त्यसपछि उनले कहिले पछाडि फर्किनु परेको छैन । सानै उमेरबाट पौडी खेल खेल्न थालेकी गौरिकाले रियो ओलम्पिकमा पौडीमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । पहिलो चरणमा गौरिकाले जित निकाले पनि दोस्रो चरण भने पार गर्न सकिनन् ।

त्यसअघि गौरिकाले भारतमा सम्पन्न भएको १२ औं दक्षिण एशियाली खेलकुद (साग) मा पनि आफ्नो यात्रा यादगार बनाएकी थिइन् । उक्त प्रतियोगितामा उनले एक रजत र तीन कास्य पदक जित्दै सागमा उत्कृष्ट सुरुवात गरिन् । त्यसपछि भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा गौरिका सहजै पदक जित्न सफल भइन् ।

गौरिकाले सन् २०१५ मा नेपालमा नै भएको ओपन नेशनल स्वीमिङ च्याम्पियनसिप अन्तर्गत उमेर समूहको खेलहरुमा तीन वटा स्वर्ण जितेकी थिइन् । त्यसअघि सन् २०१४ मा भएको ग्यालेक्सी कपमा सहभागिता जनाउँदै उनले स्वर्ण पदक जितेकी थिइन् ।

गौरिका नेपाललाई दक्षिण एसियाली खेलकुद (साग) मा पौडीको व्यक्तिगत स्पर्धामा पदक जिताउने एक्ली खेलाडी समेत हुन् । एशियन र विश्व च्याम्पियनसिपमा पनि उनले अनुभव राखेकी छन् । यतिबेला उनी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन बेलायतबाट नेपालगन्ज पुगेकी छन् ।

उनको एउटै लक्ष्य आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै स्वर्ण जित्नु हो । १६ वर्षको उमेरमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएकी गौरीकाले ५० मिटर ब्याकस्ट्रोक र ४ सय मिटर र ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी छन् । उनले ५० मिटरमा ३०.८५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नेपाल आएकी छु, निकै रमाइलो लागेको छ । राष्ट्रिय खेलमा धेरै स्वर्ण जित्दै यादगार बनाउने मेरो योजना छ,” त्रिभुवन आर्मी क्लबबाट खेलिरहेकी गौरिकाले थपिन्, “पहिलो दिन नै मलाई राम्रो सफलता हात परेको छ, अन्य प्रतिस्पर्धामा पनि उत्कृष्ट गर्ने प्रयास गर्नेछु । मलाई लामो दूरीको पौडी भन्दा छोटो दूरीको पौडीमा सहज हुन्छ ।”

यसअघि पूर्वाञ्चलमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदमा भने उनी सहभागी भएकी थिइनन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिता आयोजना गर्न खोजेको नेपालगन्ज पौडी पोखरी पूर्ण रुपमा तयार नभएपछि सिग्नेट होटलको पोखरीमा खेल भइरहेको छ ।

गौरिका कोरियामा आयोजना हुने विश्व पौडी प्रतियोगिताको तयारीमा पनि केन्द्रित छन् । प्रतियोगिता जुलाई १२ देखि सुरु हुँदैछ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top