मानिस सचेत र अचेत कसरि छुट्याउने ?

विनोद दाहाल २०७६ वैशाख १४ गते शनिवार सिन्धुली

 

समाजमा हामी बिभिन्न थरिका मानिस भेट्छौं । ती मध्ये एकअर्कासँग व्यवहारले गर्दा बिभिन्न झमेला व्यहोरिरहेका हुन्छन् । त्यसमा मानिसको चेतनाले काम गरिरहेको हामी पाउँछौं । सामान्यतया मानिसले अनुभव गरिरहेका हुन्छन् कि तीमध्ये कुनै इमानदार त कोही बेइमान हुन्छन् । कोही जानेर बुझेर नै अशल व्यवहार गर्ने हुन्छन् त कोही त्यस्ता हुँदैनन् । मानिसका व्यवहारिक जीवनमा सचेत र अचेत मानिस छुट्याउने समस्यामा मानिसहरु पिरल्लीइरहेका देखिन्छन् । मानिस हमेशा व्यवहारका लागि इमानदार, अशल र सचेत मानिस छनौट गर्ने गर्दछन् । तर एउटा सवाल सँधै अगाडि आउँछ, मानिस सचेत र अचेत कसरि छुट्याउने ?

 

मानिस चेतनशील प्राणी हो अर्थात मानिस हमेशा चेतनशील हुने प्रयास गर्दछ । विकासक्रममा अहिलेका सभ्य मानिस आफ्नो चेतनाले आफूलाई नियन्त्रण गर्ने गर्दछ । यस प्रक्रियामा उसलाई ज्ञान, बुद्धि र विवेकले सहयोग पु¥याएको हुन्छ । एउटा सभ्य मानिसको लागि इमानदार, अशल र सचेत त हुन्छ, ज्ञान, बुद्धि र विवेकले भरिपूर्ण पनि हुन्छ । त्यसैले मानिस चिन्ने तरिका भनेको उस्को इमानदारिता नै हो ।

 

समाजमा मानिसहरु बिभिन्न चिन्तन र प्रबृत्तिका हुन्छन् र आफ्ना व्यवहारहरु गरिरहेका हुन्छन् । मानिसका व्यवहारिक अभिव्यक्ति नै मानिसको दृष्टिकोण हो । दृष्टिकोण मानिसको बिचारको केन्द्रिय भाग हो । केन्द्रिय भागमा रहेको बस्तुमा मानिस घुमिरहेको हुन्छ । शक्ति, सम्मान, यौन, प्रेम आदि केन्द्र भागमा राखेर मानिसको व्यवहार अभिव्यक्त हुँदा त्यसको पनि केन्द्र भागमा आर्थिक तत्व राख्न पुगेको मानिसले पत्तै पाउँदैनन् । यसले वर्गको निर्माण गरेको हुन्छ । हामी जुन समाजमा छौं यसमा वर्ग नै सत्य हो र वर्गीयता नै मानिसको आधार हो । मानिसको इमानदारिता पनि वर्गीयता भित्रबाट खोजिने गरिन्छ । यहाँ वर्गीयताको चेत खुलेको मानिस नै सचेत हुन्छ र यो कुरा बुझ्न नसक्ने मानिस अचेत हुन्छ । मानिसले आफ्नो वर्गलाई चिन्यो भने ऊ सचेत हुन्छ र चिन्न नसके अचेत हुन्छ ।

 

समाज गतिशील र परिवर्तनशील छ । यो समाजमा रहेका मानिसलाई पनि समाजको प्रभाव हुन्छ । समाजका तत्वहरुले मानिसलाई प्रभाव पार्दै गर्दा मानिसका वर्गमा पनि प्रभाव पार्ने गर्दछ । यति मात्र हैन कहिलेकाहिं वर्ग नै परिवर्तन गरिदिने गर्दछ । त्यसै अनुसार वर्गआधार पनि बदलिनु स्वभाविक भैहाल्छ । हुँदाहुँलै एउटा सचेत लागेको मानिस अचेत झैं लाग्न थाल्दछ । उका जीवन र व्यवहारमा पनि परिवर्तन भएको देख्न सकिन्छ । त्यसैले सचेत मानिस आफ्नो वर्ग चिन्ने स्थितिसँग मात्र सिमित छैन ।

 

एउटा सचेत मानिस हुनको लागि युगवोधको क्षमतासमेतको खाँचो हुन्छ । समाज परिवर्तनशील छ । जीवबिहीन पृथ्वीमा जीव आयो, बहुकोषीय हुँदै विकसित जीव मानिसको रुपमासमेत देखिन आयो । जंगली मानव श्रम गर्ने, आवश्यकता पुरा गर्न उपायको खोजी गर्ने स्थितिमा पनि पुग्यो । सभ्य हुँदै र विकासका चरणहरु पार गर्दै अहिले पुँजीवाद अनावश्यक भएको र जनवाद, समाजवाद हुँदै साम्यवाद खोज्ने अवस्थामा पुगिसकेको छ । समाज विकसित हुँदै कता जाँदैछ भन्ने बुझ्ने चेतनाबिना मानिस सचेत हुन सक्दैन । सचेतनाको मुख्य आधार नै यहि हो ।

 

एउटा सचेत नागरिकसँग स्वभाविक रुपमा जनताले आशा र अपेक्षा गरेका हुन्छन् । यस्तो मानिससँग इमानदारिताको व्यवहार खोजेका हुन्छन् । वर्गीय समाजमा सबै बिषय झैं मानिसको इमानदारिताको पनि वर्गीय गुण हुने गर्दछ । सर्वहारा र बुर्जुवा वर्गमा बिभाजित विद्यमान समाजमा एउटा वर्गप्रति इमानदार मानिस अर्को वर्गको लागि बेइमान हुन पुग्दछ र अचेत कार्यकर्तालाई अवशरवादीले हतियारको रुपमा प्रयोग गर्दछन् । बिचार व्यवहारमा यो अभिव्यक्त भएको हुन्छ । अरु बेला सामान्य झैं लागे पनि वर्गसंघर्ष घनिभुत भएको बेलामा यो स्पष्ट बुझ्न सकिन्छ कि को मानिस इमानदार हो को बेइमान हो भनेर । समय घर्कीसकेपछि मात्र पत्तो पाउने समस्याले वर्तमान नै उदेकलाग्दो बनेको देखिन्छ । एउटा सचेत मानिसले यस्को बिकल्प खोज्नै पर्ने हुन्छ ।

 

जीवन र जगत परिवर्तनशील छ अर्थात प्रकृति गतिशील छ, स्वतन्त्र छैन परनिर्भर र आश्रित छ । अनि वोधगम्य पनि छ । यो मानिसको नियन्त्रणको घेराभित्र छ अर्थात मानिस त्यसबारेको जानकारि पाउने क्षमता राख्छ । मानिस आफ्नो आवश्यकताले सक्रिय छ र विज्ञानले गरेको विकासले मानिसलाई त्यो पुरा गर्न सहयोग पुर्‍याएको छ ।

 

विकासको चरण पार गर्दैगर्दा मानिस प्रकृतिक अवस्थाबाट यत्ति अगाडि बढिसकेको छ कि अव आफ्नो पुरानो अवस्थामा फर्किनै सक्दैन । निश्चित छ कि मानिसका व्यवहारहरु स्वतन्त्र छैनन् तर अव मानिस आफ्नो चेतनाबाट चल्ने भैसकेको छ । बस्तु र चेतनाको द्वन्दात्मक सम्बन्धको अर्को स्थितिमा मानिस देखिन्छ । मानिसका चेतना उसको स्वतन्त्र व्यवहारबाट अभिव्यक्त भएको हुन्छ । हामी अहिले व्यवहारिक जीवनमा देख्दछौं कि मानिसहरु दुईथरि चेतनामा केन्द्रित भएका हुन्छन् । छन— कोही बुर्जुवा चेतनाका छन् त कोही सर्वहारा चेतनाका छन् ।

 

बुर्जुवा चेतनाका मानिसहरु अधिभुतवादी र आदर्शवादी दर्शनलाई आधार बनाइरहेका छन् जबकि सर्वहारा वर्गीय चेतनाका मानिसहरु द्वन्दात्मक भौतिकवादी चेतनाका हुन्छन् । चेतनास्तरको संघर्षको मैदानमा हेर्दा अहिले पनि दर्शनको क्षेत्रमा ठूलो लडाईं चलिरहेको छ । खड्किएको बिषय के छ भने आवश्यकताको हिसाबले सर्वहारा वर्गीय नेतृत्वले आफूलाई सक्षम साबित गर्न सकेको छैन, बुर्जुवा वर्गको दर्शन अधिभुतवाद र आदर्शवादले ग्रसित अवस्थामा छन् । mभपा बिद्रोह र जनयुद्धको नेतृत्व गर्ने अगुवाहरुको पछिल्ला धार्मिक कार्यहरु र केही व्यवहारहरुले त्यहीलाई पुष्टि गरेको छ । ती बिद्रोह र जनयुद्धले सक्षम नेतृत्व पाउँथ्यो भने अहिले हामी फरक स्थितिबाट गुज्रिरहेका हुनेथ्यौं ।

 

के स्पष्ट भन्न सकिन्छ भने देशले क्रान्तिको खाँचो टार्न सकेको छैन । यहाँ बिद्रोह सँधै उठ्ने गरेको छ, टुङ्गिने गरेको छैन । बस्तुगत अवस्था र कार्यकर्ताको क्षमताले सदा आफूलाई योग्य पुष्टि गरेको छ । देशले बिद्रोह र क्रान्तिको माग गरेको छ तर नेतृत्वले त्यो क्षमताको विकास गर्न सकेको छैन अर्थात आफूलाई योग्य बनाएको छैन । अहिलेसम्म सर्वहारा वर्गले सम्मान गर्न योग्य नेतृत्व पाएन वा त्यो स्तरको चेतना विकास भएको नेतृत्व कम्युनिस्ट आन्दोलनले पाएन, बरु के पाएको छ भने अवशरवादी नेतृत्व । यसो भन्दा सन्सय हुनसक्छ कि यसले आफ्नो वर्गलाई शिक्षा भन्दा पनि गलत शिक्षा बढी दिएको छ ।

 

कम्युनिस्ट आन्दोलन अर्थात वर्गसंघर्षले श्रमजीवी तथा सर्वहारा वर्गलाई मानिसलाई सचेत बनाउछ, बस्तुगत परिस्थितिले नै यस्तो बनाएको हुन्छ । बुर्जुवा वर्गको लागि बिद्रोह वा वर्गसंघर्ष निक्कै घातक हुन्छ त्यसैले बिद्रोहको झिल्को कहिं देखिनासाथ बिश्वभरिका सबैखाले बुर्जुवा चेतना भएका मानिसहरु वा प्रतिक्रियावादी तत्वहरु त्यसलाई निभाउन झम्टिहाल्छन् । बुर्जुवाहरुको चेतना सचेतना हैन, विज्ञान बिरोधी र अज्ञानता हो । यसको कुनै सकारात्मक निश्कर्ष र सकारात्मक बिकल्प हुँदैन । यो सब समयको गतिलाई रोक्ने दुस्प्रयास हो र अवैज्ञानिक कुतर्क मात्र हो ।

 

हामी कम्युनिस्ट आन्दोलनमा कसरि व्यवस्थित तरिकाले र वैज्ञानिक ढङ्गले उठाउने भन्ने चिन्तनमनन् गर्ने स्थितिमा छौं । यसमा सचेत नेता तथा कार्यकर्ताको आवश्यता छ । बिचार गुमेपछि वा चेतनास्तर खस्किएपछि जत्रोसुकै भीड पनि कामकाजी हुँदो रहेनछ भन्ने हाम्रो व्यवहारिक ज्ञानले हामी भरिपूर्ण भएका छौं । यतिखेरको आवश्यकता भनेको आन्दोलन उठान गर्ने र निरन्तरता दिनेक्रममा कामकाजी मानिस सचेत र अचेत कसरि छुट्याउने भन्ने नै हो । कम्युनिस्ट आन्दोलनलाई वर्गप्रति इमानदार र सचेत मानिसकै खाँचो छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top