लुक्लामा विमान दुर्घटना

सिन्धुली साैगात संवाददाता २०७६ वैशाख १ गते आइतवार सोलुखुम्बु

 

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ ।

 

पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

 

विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

 

जोखिममा हवाई यात्रा

(उपेन्द्र केसी)

नेपाली आकाशमा हवाई दुर्घटनाको शृंखला बढ्दैछ । एकपछि अर्को हवाई दुर्घटना हुँदै जाँदा पनि त्यसको सत्यतथ्य पत्ता लगाउने र आउने दिनमा हवाई दुर्घटना नियन्त्रण गर्न सम्बन्धित निकायका प्रयास सफल हुनसकिरहेको पाइँदैन ।
सिम्रिक एयरको हेलिकोप्टर ‘टेकअफ’ गर्ने बेलामा केही दिन अघि आगो लागेर दुर्घटना भयो । गोरखाको उत्तरी क्षेत्रमा तिब्बतसँग सिमाना जोडिएको सामागाउँ– ७ को साम्दोमा दुर्घटना भएपछि हेलिकोप्टर पूरै जल्यो तर मानवीय क्षति भने भएन । त्यसको एक दिन अघि यति एयरको विमान दुर्घटना हुनबाट बल्लबल्ल बच्यो । विनाशकारी भूकम्प आएको केही दिनमै उद्धारमा दोलखा गएको अमेरिकी सेनाको मरिनको युएच १ वाई हुवे हेलिकप्टर दुर्घटना भयो । अमेरिकी हेलिकोप्टर दुर्घटना भएको खबर सेलाउन नपाउँदै सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन हेलिकोप्टर्स ९ एनएजेपी नामक हेलिकोप्टर दुर्घटना भयो । त्यस दुर्घटनामा परी क्याप्टेन सुवेक श्रेष्ठसहित चारजनाले ज्यान गुमाए ।
भौगोलिक बनावट र मौसमी गडबडीलाई प्रमुख कारण देखाइए पनि पुराना र प्राविधिकरूपमा अयोग्य जहाजलाई उडान भर्ने अनुमति दिइएका कारण नेपालमा हवाई दुर्घटना बढेको हो भन्न सकिन्छ । हरेकपल्ट हवाई दुर्घटना भएलगत्तै सरकारले आयोग गठन गर्दै आएको छ । हरेक समय गठन भएका आयोगले प्रतिवेदन पनि बुझाएकै छन् तर आयोगले दिएका सुझाव कार्यान्वयन भएको भने व्यवहारमा देखिएको छैन । आयोग गठन केवल दुर्घटनालाई साम्य पार्नलाई मात्र हुँदै आएको देखिन्छ । सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायले गम्भीरता नदेखाएकै कारण हवाई दुर्घटना बढ्दै गएको छ र नेपाली आकाश असुरक्षित बन्दै आएको हवाई क्षेत्रका जानकारहरूको भनाइ पाइन्छ ।
अहिलेसम्म भएका दुर्घटनाका कारण एटीसी सञ्चालनको गल्तीले भएको देखाइँदै आएको छ । धेरैजसो विमान दुर्घटनाको प्रतिवेदनमा विमानचालकमाथि दोष थुपारेको पाइएको छ । यसको अर्थ हुन्छ– पाइलटतिर औंला सोझ्याएर मुख्य कारण खोज्ने झन्झट नगर्ने तथा आफ्नो गल्ती लुकाउनु । त्यसले गर्दा दुर्घटना दोहोरिएको जानकारहरू बताउँछन् । जब कि पुराना जहाज र बढी वजन दुर्घटनाका मुख्य कारण हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार २० वर्षभन्दा पुराना जहाज चलाउन पाइँदैन । यहाँ भने एउटा कम्पनीले पुरानो भएपछि अर्काे कम्पनीलाई भाडामा दिने वा बिक्री गर्ने प्रचलन रहिआएको छ । यसरी ५० वर्ष पुराना जहाज पनि सञ्चालनमा ल्याइएको छ । त्यसैले गर्दा पनि नेपाली आकाश असुरक्षित बन्दै गएको हो भनियो भने गलत अर्थ लाग्नेछैन ।
नेपाल हवाई उडानका लागि जिम्मेवार सरकारी निकाय प्राधिकरण हो । मुलुकको हवाई उडानसँग सम्बन्धित सबै काम प्राधिकरणले हेर्ने गर्छ । प्राधिकरणले हवाई उडान जस्तो अत्यन्तै संवेदनशील क्षेत्रलाई हल्कारूपमा लिंदै आएको र त्यस अनुसारको संवेदनशीलता नदेखाएकै कारण मुलुकको हवाईक्षेत्र असुरक्षित बन्दै गएको जानकारहरू बताउँछन् । प्राधिकरणभित्र रहेको सुरक्षा विभागले कुनै पनि जहाज चेकजाँच गरेर उडान भर्नका लागि योग्य छ भनेर स्वीकृति दिएपछि मात्रै जहाजले उडान भर्न पाउँछ । विभागले चेकजाँचका क्रममा जहाज उडान भर्नका लागि योग्य नभएको रिपोर्ट दिएमा जहाजले उडान भर्न पाउँदैनन् ।
जहाजले उडान भर्नु अघि चेकजाँच गर्ने क्रममा लापरवाही र हेलचेक्र्याइँ भएकै कारण प्राविधिकरूपले उडान भर्न योग्य नभएका जहाजहरूले पनि उडान भर्दै आउने गरेका छन् । अयोग्य जहाजलाई पनि उडान भर्ने अनुमति दिने गरिएका कारण नेपालको हवाई यात्रा दिनानुदिन असुक्षित बन्दै आएको हो । करिब तीन वर्ष अघि सुरक्षा विभागले अग्नि एयरको जहाज दुर्घटना भएको एक सातापछि जहाजहरूको अचानक चेकजाँच गरेको थियो । त्यतिबेला स्वदेशी वायुसेवा कम्पनीका जहाज चेकजाँच गर्दा जहाजमा १० वटा खराबी देखापरेका थिए । जहाजमा खराबी रहेका अर्थात् उडान भर्न अयोग्य भएको देखिएको थियो । त्यतिबेला जहाजका पार्टपुर्जा, उडान सुरक्षा उपकरण र जहाजको अवस्थाका बारेमा चेकजाँच गरिएको थियो ।
छ दशक भन्दा लामो हवाई उडानको इतिहासमा नेपाली आकाशमा करिब ७० वटा हवाईजहाज दुर्घटना भएका छन् । जहाज दुर्घटना परेर मात्रै ज्यान गुमाउनेको सङ्ख्या ६०० नाघिसकेको छ । तथ्याङ्क अनुसार २०२६ सालयता २४ वटा जहाज दुर्घटनामा परेका छन् । सरकारले सन् १९९० को दशकमा उदार आकाशको नीति लिएपछि नेपाली आकाशमा निजीक्षेत्रका जहाजले उडान भर्न थालेका हुन् त्यससँगै नेपाल वायुसेवा निगमको एकाधिकारको अन्त्य भएको हो । यसबीचमा जहाज थपिँदै गए तर त्यस अनुसारको सुरक्षा, पार्किङ सुविधा, हवाईसेवा अनुगमन गर्ने निकायले प्रभावकारी ढङ्गले काम गर्न नसकेकै कारण हवाईक्षेत्र असुरक्षित बन्दै आएको हो । निजी कम्पनीका जहाज सञ्चालकले सुरक्षालाई भन्दा पनि कमाइलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका र त्यसलाई प्राधिकरणका कर्मचारीले नियमन गर्न नसकेका कारण हवाईसेवा असुरक्षित बन्दै आएको हो । प्राविधिकरूपले असुरक्षित जहाज कर्मचारीको सहयोगमा अहिले पनि नेपाली आकाशमा उडिरहेका पाइन्छन् । त्यतिमात्रै होइन क्षमताभन्दा बढी तौल बोकेर पनि जहाजहरूले उडान भर्दै आएका छन् । त्यो पनि असुरक्षाको अर्काे कारण हो ।
मुलुकको सबै क्षेत्रलाई स्थल यातायातले जोड्न नसकेको अवस्थामा एकमात्र यात्राको विकल्प हवाईसेवा हो । त्यतिमात्रै होइन, भूपरिवेष्टित देश भएकाले पनि छिटो र छरितो यात्राको एउटा मात्रै साधन वायुसेवा नै हो तर नेपालमा एकपछि अर्को गर्दै हवाई दुर्घटना हुन थालेपछि नागरिक यो यात्रा असुरक्षित रहेको अनुभूति हुन थालेको छ । त्यसैले यसलाई सुरक्षित र भरपर्दो यातायातको साधन बनाउन सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका सरोकारवाला निकाय गम्भीर हुनु जरुरी छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top